मुस्ताङको उच्च स्थानमा ईभी विद्युतीय डीसी चार्जिङ स्टेशन स्थापना



जोमसोम—हिमाली जिल्ला मुस्ताङमा पहिलो पटक ईभी विद्युतीय डीसी चार्जिङ स्टेशन स्थापना गरिएको छ ।  मुस्ताङ भित्रिने विद्युतीय सवारी साधनलाई लक्ष्य गरी मुस्ताङको जोमसोममा विद्युतीय चार्जिङ स्टेशन स्थापना गरिएको हो ।

भीजी मोटर्स कम्पनीले नेपालमा एसआरएम र जोलङ ब्रान्डका विभिन्न प्रकारका विद्युतीय सवारी साधन बजारमा लञ्च गरेको छ । मुस्ताङको घरपझोङ गाउँपालिकामा विशाल ग्रुपबाट खरिद गरिएका २ वटा एसआरएम विद्युतीय सवारीसहित खरिदकर्तालाई हाईभोल्टेजको फास्ट विद्युतीय चार्जिङ उपकरण उपलब्ध गराएको छ । उक्त फास्ट विद्युतीय सवारीको बेट्री चार्ज गर्ने सेवा प्रवाह गर्न जोमसोमका २ जना खरिदकर्ताले तीब्र गतिको फास्ट चार्जिङ स्टेशन स्थापना गरेका हुन्् । जोमसोमका स्थानीय गणेश शेरचन र विकल शेरचनले एसआरएम ब्रान्डका २ विद्युतीय सवारी किनेर उपहार स्वरुप ३२ किलोवार्ड क्षमताको फास्ट डिसी चार्जिङ उकपरण कम्पनीले उपलब्ध गराएको थियो ।

 समून्द्री सतहको ३ हजार मिटरको उच्च स्थानमा स्थापना गरिएको विद्युतीय सवारी चार्जिङ स्टेशनको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले एक समारोहकाबीच उद्घाटन गरे । सो अवसर अध्यक्ष लालचनले मुस्ताङमा विद्युतीय सवारी साधनको फलो बढेको र चार्जिङ स्टेशन नहुँदा समस्या पर्ने गरेको बताए । उनले जोमसोममा स्थापना गरिएको विद्युतीय चार्जिङ स्टेशनले मुस्ताङ आउने विद्युतीय सवारीलाई सेवा प्राप्त गर्न निकै सहज हुने अपेक्षा गरे । अध्यक्ष लालचनले विद्युतीय सवारीले यात्रुलाई सस्तो भाडादरमा सेवा लिन, सवारीको ईन्धन र मर्मत खर्च नहुने र यसले वातावरण रक्षाका लागि समेत योगदान पुग्ने विश्वास व्यक्ति गरे ।

 भीजी मोटर्सका २ ब्रान्डका विद्युतीय सवारी साधनलाई २ प्रकारको चार्जरले चार्ज गर्न मिल्ने बताईएकोछ । उपलब्ध विद्युतीय सवारीलाई २० र ४० किलोवार्डको चार्जरले चार्ज गर्न मिल्छ भने ७ किलोवार्डको सोलार चार्जरले पनि चार्ज गर्न मिल्ने कम्पनी अन्तर्गतको विशाल ग्रुपका प्रतिनिधिले बताएका छन् । एक पटक फुल चार्ज गरेमा विद्युतीय सवारीले ३ सय किलोमिटरको गन्तब्य तय गर्न सकिने छ । यसमा ५० किलोवार्डको डाईनोमा र ४२ किलोवार्डको बेट्री हुन्छ । जोमसोममा एसआरएम कम्पनीको   विद्युतीय सवारी भित्र्याईएको हो ।

 नेपालमा दैनिक कुल २ हजार ८ सय मेगावार्ड विद्युत उत्पादन हुन्छ । यद्यपी खपत  १ हजार ८ सय मेगावार्ड मात्रै छ । यसैले दैनिक १ हजार मेगावार्ड विद्युत फ्रिज हुने विद्युतलाई व्यवस्थापन गर्न यसप्रकारका विद्युती सवारी उपयोगी हुने कम्पनीको दाबी छ । 

 ईन्धन नचाईने र मर्मत खर्च निकै कम लाग्ने भएकाले विद्युतीय सवारी खरिदकर्ताले मनग्ये लाभ लिनसक्नेछन् । यस्तै,यात्रुलाई पनि सस्तो भाडामा यात्रा गर्न पाउँछन् । विश्वका औधोगिक राष्ट्रले उत्पादन गर्ने कार्वन उत्सर्जनका कारण वातावरणीय क्षेत्रमा प्रतिकुल असर पुगेको र बढ्दो कार्वन उत्सर्जनले जलवायु परिवर्तनको क्षति व्यवहोर्नु परेको अवस्थामा यसप्रकारका विद्युती सवारी साधनको प्रयोगले जलवायु संकटलाई न्यूनिकरण गर्न योगदान दिने विश्वाश व्यक्त गरिएको छ ।

 सरकारले पनि यस्ता सवारी साधनहरुलाई प्रोत्साहन गर्न विद्युतीय सवारी खरिदकर्तालाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने गरेको छ ।



प्रतिक्रिया