ई. उत्तम कुमार गुरुङ (सल्लाहाकार)
रास्वपा ,मुस्ताङ
सर्वप्रथम त फाल्गुन २० सम्म पनि निर्वाचन हुने वा नहुने भनि शन्काको घेरामै रहेको निर्वाचनलाई बढो शान्तिपुर्वक सम्पन्न गर्न सफल भएको छ। त्यसका लागि सरकार र प्रम शुशिला कार्किलाइ मुरि मुरि धन्यवाद तथा हार्दिक बधाइ । भविष्यमा आधुनिक नेपालको इतिहासमा उहाको नाम पहिलो महिला प्रधान न्यायधिस, पहिलो महिला प्रधानमन्त्री भनेर स्वर्ण अक्षरमा लेखिनेछ ।
भदौ २३,२४ को आन्दोलन पछिको त्यो त्रासदिपुर्ण माहोल पश्चात पनि ठ्याक्कै ६ महिना नै भनी तोकिएर चुनाव सफलतापुर्वक सम्पन्न गराउन सक्नु यो सानो र सझिलो कुरा हैन र थिएन । त्यसैले उहाँको यो कार्यले सम्पुर्ण नेपालीको राष्ट्रीय आमा हुनुभयो र गुण लगाउनुभयो । यसका साथै अनेक बिमतिका बावजुत पुराना दलहरुले पनि निर्वाचनमा भाग लिदै लोकतान्त्रीक पद्द्ती नै देश र जनताको मुल मन्त्र हो भनेर स्विकार गरेको अवस्थालाई पनि एक्दमै सकरात्मक रुपमा लिनुपर्छ ।
अब हाम्रो जिल्ला मुस्ताङको कुरा गरौ । सम्सदिय निर्वाचनमा मेरो यो पहिलो भोट थियो । यस्तो भन्दै गर्दा मलाइ एक्दमै आत्मग्लानी तथा गल्ती गरेको महसुश भैराखेको छ । यस्को लागि म क्षमायाचना गर्न चाहन्छु ।
मैले यसपालीको निर्वाचन, यहाको मतदाताहरुको मनस्थिती, अवस्था अनि नेताहरुको राजनिती अझ भनौ कुटिलनिती नजिकै बाट नियाल्ने मौका पाए । यसबाट मैले बिगतका नतिजा के कसरी यस्तो भयो भन्ने कुराको आकलन गर्न गार्हो भएन किनकी यो मेरो सम्सदिय अभ्यासको पहिलो भोट थियो । आफ्नो मताधिकार प्रयोग नगर्नु मेरो गल्ती थियो तर जनताले आफ्नो मत जाहेर नगर्नुमा वा गर्ने जागर नलाग्नुमा मतदाताको मात्र हैन नेता र पार्टिहरु पनि कहि कतै दोशि हुन्छन । जब नेता र पार्टिबाट जनताको बिश्वास उठ्छ तब मतदाताहरुलाइ आफ्नो मत बलियोसङ्ग राख्ने जागर हुदैन । मलाइ पनि सायद त्यस्तै भएको हुनुपर्छ तरपनि म आफुलाइ दोशी ठान्छु । राजनितिक चेत भएका, देश, जिल्ला र गाउँ प्रती अगाध माया भएकाहरुले आफ्नो मतको सदुपयोग गर्नुपर्ने रहेछ । व्यक्तिगत कारण वा के कारणले मैले आफ्नो मत हालिन त्यो आफ्नै ठाउमा होला तर लोकतान्त्रमा बिश्वास गर्ने हामी सबैले आफ्नो अधिकारको सदुपयोग गर्नु पर्ने रहेछ ।
अब गाउ र जिल्लाको राजनैतिक मनोबिज्ञान तिर जाउ । मैले बुझे अनुसार यहाका कतिपय जनता खुलेर आफ्नो बिचार राख्न नपाउने वा नसक्ने अवस्थामा रहेछन । अनि परम्परागत रुपमा नै पहिले देखि जुन पार्टिमा लागेको छ त्यसैमा मत हालिराख्नुपर्छ नत्र समाजले खिसिट्याउरि गर्छन, नराम्रो सोच्छन भन्ने सोच पनि हावी रहेको मैले देखे । अर्को तिर नेताले गाउँ गाउको कार्यकर्तालाइ एककिसिमको दवावमा राख्ने अनि कार्यकर्ताले आफ्नो गाउँ, टोलमा आफुले भनेको ठाउमा मत दिनुपर्छ भनेर दवाव दिने पनि रहेछन । यहाँ दवाव भनेको साम, दाम, दन्ड, भेद सबै भनेर बुझ्नुहोला । अहिलेसम्म निर्वाचनको सालाखाला अवस्था यहि रहेछ । हाम्रो जिल्ला यस्को एउटा नमुना न हो । देशै भरी बिशेष गरि हिमाली भेग जहाँ जनसङ्ख्या कम छन, जहाँ म्यानुपुलेट गर्न सझिलो हुन्छ, तिर झनै बढी हुनेरहेछन भन्ने मेरो आकलन । अनि यसरी जितेको नेतालाई के जनताले जिताएको भनेर भन्न मिल्छ र ? जनताको मन मुटुमा बसेको नेता भनेर भन्न मिल्छ र ? के उसले गएर जिल्ला र देशको हकहितमा मनैबाट काम गर्ला त ? यो सोच्ने काम मैले हजुर मुस्ताङबासिहरुलाइ नै दिए । यस्तो भन्दैमा सबै त्यस्तै छन भन्न खोजेको हैन । राजनितिक चेत भएका, आफ्नो बिचारमा स्ट्यान्ड राख्ने, आफ्नो सोचमा गर्व गर्नेहरु पनि छन । त्यस्तै नेता र पार्टिले राम्रो नतिजा निकाल्न सकेन भने जनता आफै परिवर्तन हुनुपर्छ भन्नेहरुको पनि ठूलो जमात देखे । म एउटै कुरा भन्न चाहन्छु, लोकतन्त्रमा जनताको अदालत नै अन्तिम अदालत हो जहाँ जनताले को माथी जाने ? को नजाने ? भनेर फैसला गर्छ, त्यो हामी जनताले चुनावमा आफ्नो मत दिएर व्यक्त गर्ने हो । यो हाम्रो आफ्नै अधिकार हो यसलाइ कसैले पनि, कसैको लागि पनि र केहिको लागि पनि दुरुपयोग गर्नु हुन्न ।
सबैको आफ्नो बिचार हुन्छ, सिद्धान्त हुन्छ, पार्टी हुन्छ कुनै पनि पार्टी आफैमा खराब हुदैन, व्यक्तिले खराब बनाउने हो । हाम्रो देशको लोकतान्त्रीक पद्द्ती आफैमा खराब हैन अझ म त भन्छु यो उत्कृष्ट छ तर यसमा शासन गर्ने व्यक्तिहरुको (अहिलेसम्म पालै पालो प्रधानमन्त्री हुने र मन्त्री हुनेहरु) वा पहिलो पुस्ताका नेताहरुको औचित्य सक्कियो सायद । उहाहरुले लोकतन्त्र र गणतन्त्र ल्याउनु भयो त्यस्को लागि हार्दिक धन्यवाद । तर अब त्यो युग सकिएर हामी आर्थिक रुपान्तरणको युगमा पस्दैछौ र पस्नैपर्छ । जसलाइ प्रतिशपर्धात्मक रुपमा लानको लागि नया उर्जा, नया सोच र भिजन चाहिन्छ । र नया सोच र नया उर्जा वाला नेता ल्याउनलाइ हाम्रो सोच परिवर्तन हुनुपर्छ । मुखले परिवर्तन हुनुपर्छ भन्ने अनि भोट चाइ फेरि उसैलाइ हाल्ने परम्पराले न जिल्लाले न त देशले परिवर्तन पाउछ । हामी मुस्ताङ्गी मतदाताहरुमा पनि यो कुरा एकदम हावी भएको पाए । पार्टिको सिद्धान्त बुझेर भन्दा पनि व्यक्तिको पछि लागेको पाए जुन लोकतन्त्रको लागि सबै भन्दा हानिकारक हुन्छ । जुन हामिले अब तोड्नैपर्छ ।
अब मुस्ताङको राम्रो पक्षको कुरा गरौ । स्वर्ग जस्तो देश त्यसमा स्वर्गद्वारी जस्तो मुस्ताङ, हामीलाई मुस्ताङ्गि भएकोमा आफैमा गर्व हुन्छ । मलाइ अझै पनि याद छ मेरो हजुरबुबा सधै भन्ने गर्नुहुन्थ्यो मुस्ताङ्गमा मोटरको बाटो तेरो पालोमा त के तेरो छोराको छोराको पालोमा पनि आउदैन तर अहिले सडक, बिजुली, मोबाइल नेटवर्क देखि इन्टर्नेट सबै आएको छ । यतिको बिकास हुन करिब १० देखि १५ बर्ष लाग्यो होला जुन आफैमा बिकासमा ठुलो फड्को हो । भौतिक बिकास राम्रो भएको छ । मुस्ताङ्गिहरुको जिवनशैलीमा धेरै परिवर्तन आएका छन । संसारमै महङ्गोमध्यमा एक शिन्तामणि रेजोर्ट देखि आरामदायी, सुबिधासम्पन्न होटलहरु मुस्ताङमा छन । मुस्ताङको करिब करिब ५०% बाटो कालोपत्रे भैसकेको र बाकी पनि हुदैछ । जुन तुलनात्मक रुपमा नेपालको अरु जिल्लाको भन्दा राम्रो बिकास हो भन्छु । त्यसैले हामी मुस्ताङ्गी त्यस्तो विधि हतोत्साही र निराश हुनुपर्ने अवस्था छैन ।
भौतिक बिकासमा चिन्ता लिनुपर्ने देख्दिन, होटल र पर्यटन ब्यवासायिहरुको लागि पनि राम्रो नै देखिन्छ । मुस्ताङमा अब गर्नु पर्ने बिकास भनेको शिक्षा, स्वास्थ्य, सामाजिक, सास्कृतिक, राजनैतिक र आर्थिक क्षेत्रमा हो । भौतिक बिकास राम्रो भएको अवस्थामा यी यावतका क्षेत्रहरुमा बिकास गर्न धेरै सजिलो हुन्छ । यसका लागि हामिले उचित नीतिनियम र कानुन बनाउन पहल गर्नुपर्छ । अर्थतन्त्र चलायमान भएर मात्र हुदैन त्यो अर्थतन्त्र समाबेसी हुनुपर्छ । धनी धनी हुने अनि गरिब गरिब नै रहने अवस्थालाइ रोक्नु पर्छ । धनी बरु अलि कम धनी होस तर गरिबलाई धनी बन्ने नीति नियम बन्नुपर्छ । र त्यो सम्भव छ । बिकास भनेको भौतिक बिकास मात्र धेरै भएर अरु क्षेत्रको बिकास भएन भने समग्र जिल्लाको बिकासको इकोसिस्टम बिगृन्छ । सबै क्षेत्रहरु जस्तै आर्थिक, भौतिक, शिक्षा, स्वास्थ्य र राजनैतिक बिकास समान रुपमा सङ्गसङ्गै हुनुपर्छ । राजनैतिक बिकास पनि क्रमैसङ्ग भएको देखिन्छ । युवाहरुमा राजनैतिक चेत, आफ्नो अधिकार, भविष्यको चिन्ता, जिल्लाको समग्र बिकासको लागि आफ्नो दायित्व राम्रो बुझेको देखिन्छ । युवाहरुको यहि सोच र चेतले निकट भविष्यमा स्वच्छ राजनिती र स्वच्छ प्रतिश्पर्दाको आकलन गर्न सकिन्छ । युवाहरुको जोश, जिल्ला बनाउने र बनेको देख्न चाहने हुटहुटी, भबिष्यप्रतिको सचेतनाबाट म ठोकुवा गर्न सक्छु यिनै युवाहरुले मुस्ताङ्गको फोहोर सफा गर्नेछ, व्यक्ति बिशेषहरुको हालिमुहाली समाप्त पारी सबैलाइ सामाजिकरण गर्नेछ अनि मुस्ताङ्गलाई साच्चिक्कै स्वर्ग बनाउनेछ ।
फाल्गुन २१ को निर्वाचनको अन्तिम नतिजा पनि आइसकेको अबस्थामा मलाइ बिश्वास छ, अब हाम्रो मुस्ताङ मात्र हैन, देश बन्छ । सकरात्मक सोचौ । २३,२४ जेन्जी आन्दोलनको मुख्य २ ओटा म्यान्डेट थियो । स्थिर सरकार र भ्रष्टचारको उल्मुलन । २०८२ फाल्गुन २१ मा भएको यो एतिहासिक निर्वाचनको नतिजाले स्थिर सरकार बन्नेमा कुनै शन्का रहेन अब भ्रष्टचारको पनि राम्रै रोकथाम होला भन्ने बिश्वास गरौ । देशैभरिबाट जनताले नया र परिवर्तन पक्षधरहरुलाइ अभुतपुर्व साथ दिएका छन र यो साथमा हाम्रो मुस्ताङ्ग र मुस्ताङ्गी पनि अछुतो रहेन । मुस्ताङ्गबाट पनि परिवर्तन पक्षधरहरुलाइ राम्रो साथ दिएको कुरा समानुपतिकमा रास्वपा र माटोलाइ आएको मतबाट थाह पाउन सकिन्छ । हामिले यो निर्वाचनबाट जनताको मत नै सबै भन्दा बलियो र निर्णायक हुन्छ भनेर देखाएका छौ । त्यसैले सकरात्मक सोचौ, राम्रो सोचौ देश बन्छ, हामी बन्छौ ।
अन्त्यमा स्वर्ग जस्तो हाम्रो जिल्लालाई हामी सबै मिलेर बनाउने हो । व्यक्तिगत बिचार होला, सिद्धान्त होला, मन पर्ने होला, नपर्ने होला तर जिल्ला बन्नु भनेको समग्र मुस्ताङवासी बन्नु हो । निर्वाचन अगाडि हामी काङ्रेस, एमाले, नेकपा, रास्वपा वा अरु कुनै थिए होलान तर निर्वाचन सकियो अब हामी सबै मुस्ताङ्गी हौ, नेपाली हौ । हातमा हात मिलाएर, काधमा काध मिलाएर होस्टेमा हैसे गर्दै अघि बढौ । सामरिक र भुराजनितिका साथै पर्यटकिय हिसाबले पनि महत्वपुर्ण र सम्बेदनशिल हाम्रो मुस्ताङको बिकास देशभरिमै उच्च प्राथमिकतामा पर्नुपर्छ र पर्नेछ । हामी सबै मिलेर यहि आवाज उठाऔ अनि आफ्नो आफ्नो तर्फबाट सकेको सहयोग गरौ, अनि सहयोगी बनौ । मुस्ताङजस्तो सुन्दर र शान्त ठाउमा जन्मेकोमा हामिले गर्व गर्नुपर्छ । देश बिदेशमा भएका हामी सम्पुर्ण मुस्ताङ्गिले हाम्रो गर्विलो मुस्ताङ बनाउनेछौ । म अझै भन्छु देश बनोस नबनोस मुस्ताङ अवश्य बन्नेछ । जय मुस्ताङ, जय नेपाल ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता