संस्कृति र प्राविधिक सोचको समन्वय : तिहार पर्ब

ई.किरण घिमिरे 

तिहार नेपालमा मनाइने दोस्रो ठूलो र अत्यन्त रमाइलो पर्व हो।यसलाई दीपावली वा यमपञ्चक पनि भन्ने गरिन्छ।काग तिहार,कुकुर तिहार,लक्ष्मी पूजा,गोवर्धन पूजा र भाइटीका गरि पाँच दिन सम्म यो पर्ब मनाइन्छ।धार्मिक रुपले मात्र नभई सामाजिक र सांस्कृतिक दृष्टिले पनि यो पर्वलाई अत्यन्त महत्वपूर्ण मानिएको छ।
यस अवधिमा मानिसहरूले घर सरसफाइ गर्ने,बत्ती बाल्ने, रंगोलीले सजाउने चलन रहेको छ।धनकी देवी लक्ष्मीको पूजा गरी समृद्धिको कामना गर्ने र भाइटीकाको दिन दाजुभाइ तथा दिदिबहिनि बीचको स्नेह र एकताको अभिव्यक्ति समेत गर्ने चलन रहेको छ।तिहारको प्रकाशले अन्धकारमाथि जित हासिल गरेको सन्देश दिनुका साथै परिवार, मित्रत र सामाजिक एकतालाई मजबुत बनाउँछ।नेपाल विविध संस्कृति र परम्पराको संगमस्थल हो।यहाँका पर्वहरूले धार्मिक आस्था, जीवनशैली,विज्ञान र प्राविधिक सोचसँग पनि गहिरो सम्बन्ध राख्छन्।तिहार त्यही सांस्कृतिक, सामाजिक र प्राविधिक चेतनाको सन्तुलित उदाहरण हो।यसको प्रत्येक दिनले कुनै न कुनै रूपले मानवीय जीवनका आधारभूत पक्षहरू सूचना, सुरक्षा, स्रोत व्यवस्थापन, दिगोपन र सम्बन्ध सन्तुलनबारे सन्देश दिएको बुझ्न सकिन्छ जुन सिभिल इन्जिनियरिङ्गका मूल तत्वहरूसँग पनि मेल खान्छ।
समाजका लागि आवश्यक भौतिक संरचना जस्तै सडक, पुल, भवन, सिंचाइ प्रणाली, बाँध, पानी र सरसफाइ व्यवस्थापनको योजना,निर्माण र संरक्षण गर्ने कार्य सिभिल इन्जिनियरिङ्ग भित्र पर्दछ।देशको विकासका लागि यो क्षेत्र अत्यन्तै महत्वपूर्ण छ किनभने उद्योग, शिक्षा, स्वास्थ्य, यातायात र आवासजस्ता सबै पूर्वाधारहरू यसको आधारमा उभिएका छन्।यसले मानव जीवनलाई सुरक्षित, सहज र दिगो बनाउने काम गर्छ।सिभिल इन्जिनियरिङ्ग र सैन्य इन्जिनियरिङ्गबीचको मुख्य भिन्नता उद्देश्यमा निहित रहेको छ।सिभिल इन्जिनियरिङ्गले नागरिक समाजका लागि शान्तिपूर्ण र उपयोगी संरचना निर्माण गर्छ भने सैन्य इन्जिनियरिङ्गले सुरक्षात्मक र युद्धसम्बन्धी प्रयोजनका लागि संरचना बनाउँछ।
यसरी हेर्दा तिहार धार्मिक उत्सव हुनुको साथै  सिभिल इन्जिनियरिङ्गका मूल सिद्धान्त सुरक्षा, दिगोपन, सन्तुलन र संरचनात्मक एकता सहितको जीवनपद्धतिको सांस्कृतिक प्रतिबिम्ब पनि हो।तिहारका प्रत्येक दिनलाई सिभिल इन्जिनियरिङ्गका सिद्धान्तसँग तुलना मेत गर्न सकिन्छ।
तिहारको पहिलो दिन काग तिहार मनाइन्छ।कागलाई नेपाली समाजमा सन्देशवाहकको रूपमा मानिन्छ।पुराना कथाहरूमा कागले शुभ-अशुभ खबर सुनाउने चराको रूपमा भूमिका खेलेको बुझिन्छ।यसै आधारमा तिहारको पहिलो दिन कागलाई पूजा गर्ने चलन बसेको हो।सिभिल इन्जिनियरिङ्गमा पनि सूचना प्रवाह वा इनफर्मेशन फ्लो अत्यन्तै महत्त्वपूर्ण हुन्छ।कुनै पनि निर्माण कार्य सुरु गर्नुअघि नक्सा, डिजाइन, लागत अनुमान, कामको तालिका, सामग्री आपूर्ति सम्बन्धी विवरण समयमै सही व्यक्तिसम्म पुग्न जरुरी हुन्छ।यदि सूचना सही समयमा सही स्थानमा पुगेन भने निर्माण प्रक्रियामा अवरोध उत्पन्न हुन्छ।जस्तै पुल निर्माणमा ढलान सुरु गर्नु अघि काँक्रिटको गुणस्तरबारे जानकारी नपाइएमा वा गलत सूचना प्राविधिकलाई पुर्याइएमा सम्पूर्ण संरचना नै कमजोर बन्ने सम्भावना हुन्छ।यसरी कागले सन्देश पुर्याउने काम जस्तै इन्जिनियरिङ्गमा सूचना प्रणाली नै परियोजनाको मेरुदण्ड हुन्छ।
तिहारको दोस्रो दिन कुकुर तिहार हो।कुकुरलाई निष्ठा,सुरक्षा र चेतावनी दिने जनावरका रूपमा पूजा गरिन्छ।कुकुरले आफ्नो मालिकलाई जोगाउने मात्र होइन,खतरा आउँदै गर्दा चेतावनी दिने भूमिकासमेत खेल्छ।यस सन्दर्भलाई सिभिल इन्जिनियरिङ्गसँग तुलना गर्ने हो भने निर्माण क्षेत्रमा सुरक्षा नै पहिलो प्राथमिकता हो।कामदारलाई सुरक्षात्मक साधन जस्तै हेलमेट,सेफ्टी बेल्ट,सुरक्षात्मक जुत्ता,पन्जा नलगाई काम गर्नु भनेको कुकुरबिनाको घरजस्तै असुरक्षित हुन्छ।यसैगरी निर्माणस्थलमा राखिने चेतावनी संकेत बोर्ड, चिन्ह वा आधुनिक समयमा प्रयोग हुने सी.सी.टि.भी.(CCTV) प्रणालीहरू पनि कुकुरको भूमिकाजस्तै हुन्छन्।ती सबैले सम्भावित खतराबारे सचेत गराउँछन् र दुर्घटना घट्न नदिने प्रयास गर्छन्।यसरी कुकुर तिहारले निष्ठा र सुरक्षा प्रतीकको सन्देश दिएको हुन्छ र यसले सिभिल इन्जिनियरिङ्गमा सुरक्षा व्यवस्थापनको मूल आधारलाई झल्काउँछ।
तेस्रो दिन लक्ष्मी पूजा गरिन्छ।यस दिनलाई तिहारकै मुख्य दिनका रूपमा मान्ने परम्परा छ।यो दिन घरघरमा दीप बाल्ने,घर-आँगन सजाउने र सम्पत्तिको देवी लक्ष्मीको आराधना गर्ने चलन छ।लक्ष्मी पूजा धन,समृद्धि,उत्पादन र उज्यालोको पर्व पनि हो।यसलाई सिभिल इन्जिनियरिङ्गसँग तुलना गर्दा स्रोत व्यवस्थापनको महत्व प्रकट हुन्छ।कुनै पनि संरचना निर्माण गर्दा पूँजी,जनशक्ति,सामग्री र ऊर्जा मुख्य स्रोत हुन्।यी स्रोतलाई योजनाबद्ध ढङ्गले व्यवस्थापन नगरी परियोजना सफल बनाउन सकिँदैन।लक्ष्मी पूजामा उज्यालो बाल्ने परम्परा धार्मिक मात्र नभई प्राविधिक दृष्टिले पनि महत्वपूर्ण छ।उज्यालो भनेको ऊर्जा हो।आधुनिक सन्दर्भमा ऊर्जा व्यवस्थापन भन्नाले ऊर्जाको प्रयोग, नवीकरणीय स्रोतको उपयोग र  विद्युतको  उचित खपतलाई बुझ्न सकिन्छ।आजकल धेरै भवनहरूमा सौर्य प्यानल जडान गरेर आफ्नै विद्युत उत्पादन गरिन्छ।यसलाई लक्ष्मी पूजाको आधुनिक रूप मान्न सकिन्छ।यसरी लक्ष्मी पूजाले समृद्धि धन संकलनमा मात्र नभई स्रोतको उचित व्यवस्थापन र ऊर्जाको उचित  प्रयोगको बारेमा समेत सिकाउदछ।
चौथो दिन गोवर्धन पूजा मनाइन्छ।यस दिन गाई,गोठ र गोवर्धन पर्वतको पूजा गरिन्छ।नेपाली समाजमा गोबरलाई पवित्र मान्ने परम्परा छ।यसै दिन गोबरबाट सानो पर्वतको रुप बनाइ पुजा गर्ने चलन रहेको छ।यस परम्परालाई सिभिल इन्जिनियरिङ्गसँग तुलना गर्दा आधार वा फाउन्डेसनको महत्त्व प्रकट हुन्छ।कुनै पनि संरचना निर्माण गर्दा जग वा आधार सबैभन्दा महत्त्वपूर्ण हुन्छ।जग बलियो भए मात्र संरचना दीर्घकालीन हुन्छ।गोबरलाई परम्परागत रूपमा घर लिप्ने, सरसफाइ गर्ने, वातावरणलाई कीटाणुमुक्त बनाउने साधनका रूपमा समेत प्रयोग गरिन्थ्यो।यसलाई आधुनिक भाषामा भने ग्रीन इन्जिनियरिङ्ग भन्न सकिन्छ।गोबरलाई जैविक मल, बायोग्यास र वातावरणमैत्री निर्माण सामग्रीको रूपमा उपयोग गर्न सकिन्छ।यसरी गोवर्धन पूजाले हामीलाई आधार मजबुत बनाउन र वातावरणीय दृष्टिले दिगो निर्माण पद्धतिहरू अपनाउन प्रेरित गरेको भान हुन्छ ।
तिहारको पाँचौं र अन्तिम दिन भाइटीका हो।यस दिन दिदीबहिनीले दाजुभाइलाई दीर्घायु र सुरक्षित जीवनको कामना गर्दै टीका लगाउने चलन रहेको छ।यो दिन धार्मिक महत्वका साथै सामाजिक सन्देशले पनि समृद्ध रहेको बुझ्न सकिन्छ।भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम,विश्वास, समानता र सन्तुलनलाई अभिव्यक्त गर्छ।यसलाई सिभिल इन्जिनियरिङ्गसँग तुलना गर्दा यो संरचनाको एकता र सन्तुलनको अवधारणासँग मिल्दोजुल्दो देखिन्छ।भवन वा पुलको संरचनामा बीम,स्ल्याब, कोलम,पर्खाल,छाना सबै भागहरू आपसी सन्तुलन र बलमा आधारित हुन्छन्।कुनै भाग कमजोर भए सम्पूर्ण संरचना असुरक्षित हुन्छ।त्यस्तै दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध पनि कमजोर भए परिवार वा समाज असुरक्षित हुन्छ।भाइटीकाले यसरी सामाजिक संरचनालाई मजबुत बनाउन भूमिका खेल्छ भने इन्जिनियरिङ्गमा संरचनात्मक सन्तुलन मजबुत बनाउँछ।
यसरी हेरिँदा तिहारका पाँच दिनले सिकाउने सन्देशहरू र सिभिल इन्जिनियरिङ्गका आधारभूत सिद्धान्तहरूबीच प्रत्यक्ष सम्बन्ध देखिन्छ।काग तिहारले सूचना प्रवाहको महत्त्व सिकाउँछ।ठीक त्यस्तै इन्जिनियरिङ्गमा पनि सूचनाको प्रभावकारी आदान-प्रदान परियोजनाको मेरुदण्ड हुन्छ।कुकुर तिहारले निष्ठा र सुरक्षाको प्रतीक प्रस्तुत गर्छ, जसले निर्माण क्षेत्रमा सुरक्षालाई सर्वोच्च प्राथमिकताको रूपमा उजागर गर्छ।लक्ष्मी पूजाले सम्पत्ति र उज्यालोको माध्यमबाट स्रोत व्यवस्थापन र ऊर्जा दक्षताको सन्देश दिन्छ।गोवर्धन पूजाले आधार र दिगोपनको मूल्य दर्शाउँछ, जो संरचना निर्माणको मुख्य स्तम्भ हो।भाइटीकाले सम्बन्धको सन्तुलनद्वारा संरचनात्मक एकताको महत्त्व उजागर गर्छ।समग्रमा तिहार पर्व धार्मिक वा सांस्कृतिक उत्सव मात्र नभई सामाजिक जीवन, आर्थिक चेतना र प्राविधिक दृष्टिकोणलाई समेत सशक्त रूपमा प्रभावित गर्ने गहिरो शिक्षात्मक पर्वको रुपमा समेत बुझ्न सकिन्छ।

प्रतिक्रिया