मुक्तिक्षेत्रदेखि मुस्ताङको तल्लो क्षेत्रमा भारी हिमपात

 यहाँ स्थित वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ क्षेत्र लगायत मुस्ताङको तल्लो क्षेत्रमा  भारी हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा आज दिउँसो एक १२ बजेदेखि निरन्तर रुपमा भारी हिमपात भएको हो । मुस्ताङको जोमसोम लगायत तल्लो क्षेत्रको उच्चलेंकमा हिमपात भएकोमा दिउँसो ४ बजेदेखि बस्ती क्षेत्रमा हिमपात हुन थालेको हो ।

  मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले मुक्तिनाथक्षेत्रमा जारी सिजनकै सबै भन्दा बाक्लो भारी हिमपात भएको बताउँनुभयो । ‘मुक्तिनाथ क्षेत्रमा यसअघि छ पटक सम्म हिउँ परेको भएपनि आज परेको हिमपात वजनदार रहेको छ ,पछिल्लो तीन घण्टादेखि हिउँ परिहेको छ, व्यवस्थापक भुसालले भन्नुभयो, गर्मीयाम सुरु भएकाले जमिनको तापक्रम बढेकाले हिउँको भोलुम अनुसार हिउँ जम्न सकिरहेको छैन ,निरन्तर हिउँ पर्न नरोकिएमा पुरै हिउँले मुक्तिनाथ क्षेत्र ढाकिने अवस्था छ ।’

मुक्तिनाथ क्षेत्रमा सातौं पटक हिमपात भएपछि मुक्तिनाथमा पुगेका दर्शनार्थीहरुले निकै ठुलो सास्ती पाएका छन् । यद्यपी भारी हिमपातकाबीचमा पनि दर्शनार्थीहरु छाता र रेनकोट ओढेर मुक्तिनाथको दर्शन गर्न लाईनबद्ध रहेको व्यवस्थापक भुसालको भनाई छ । मुक्तिनाथ मन्दिरमा दर्शनार्थी ओत लाग्ने दर्शनार्थी पूर्वाधार नहुँदा टाढा टाढा बाट आएका भक्तजनहरु मुक्तिनाथको दर्शन गर्दा हिमपातको सामना गर्नु परेको व्यवस्था भुसालले बताउँनुभयो । 

यसैगरी मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीहरुलाई मुक्तिनाथ रानीपौवा बसपार्कदेखि मन्दिरसम्मको यात्रा गर्न हिमपातले अवरोध पु¥याएको होटल ग्राण्ड साम्वलाका प्रोपाईटर सुरज गुरुङले जानकारी दिनुभयो । हिमपातका कारण अपांगता,अशक्त र ज्येष्ठ नागरिकहरुलाई घोडा चढेर र डोलीमा चढाएर दर्शन गर्न असहज भएको प्रोपाईटर गुरुङले उल्लेख गर्नुभयो ।

 यसअघि मुक्तिनाथ क्षेत्रमा शनिबार छैटौ पटक भारी हिमपात भएको थियो । मुक्तिनाथ क्षेत्रमा सातौं पटक र यसअघिको पटक पटकको भारी हिमपातले वारागुङ मुक्तिक्षेत्र—१ अन्तर्गतका खिङ्गा,झारकोट, मुक्तिनाथ,पुराङ रानीपौवा र छेङ्गुर लगायतका आधा दर्जन गाउँ र उच्चलेंकहरु हिउँले पुरै सेताम्मे भईसकेका छन् ।

 यसैगरी माथिल्लो मुस्ताङमा गत शनिबार राति हिमपात भएपनि सोमबार दिउँसोसम्म हिमपात भएको छैन । मुस्ताङको जोमसोमदेखि तल्लो क्षेत्रको बस्ती र उच्चलेंकमा हिमपात भएको छ । मुस्ताङका उच्चलेंकमा हिमपात हुँदा जोमसोम लगायतका बस्तीक्षेत्रमा सोमबार दिउँसो ४ बजेदेखि हिउँ पर्न थालेको जोमसोमका स्थानीय मनिता थकालीले जानकारी दिनुभयो । मुक्तिनाथ क्षेत्रमा जारी सिजनकै बाक्लो हिमपात हुँदा तल्लो मुस्ताङमा लगातारको वर्षापछि हिमपात हुन थालेको स्थानीय थकालीको भनाई छ। 

 जलवायु परिवर्तनका कारण हिमाली जिल्ला मुस्ताङमा हिमपात हुने क्षेत्र परिवर्तन हुन थालेको जानकारहरु बताउँछन् । पाँच वर्ष अघि मुस्ताङको जोमसोममै दुईफिट बढी हिउँ पर्ने गरेकोमा पछिल्लो समय जोमसोमको बस्ती क्षेत्रमा हिउँ पर्न छोडेर निरन्तर वर्षा हुन थालेको जोमसोमका स्थानीय भिषण थकालीले उल्लेख गर्नुुभयो । उहाँले मुस्ताङको तल्लो क्षेत्रमा जारी सिजनको पहिलो हिमपात हुन थालेको बताउँनुभयो ।

गर्मीयाम सुरु भएको डेढ महिना नाघिसक्दा मुक्तिनाथक्षेत्रमा बेमौसमी हिमपात हुँदा जलवायु परिवर्तनको असरको रुपमा हेरिन थालिएको हो । मुस्ताङमा बर्सेनि असमान प्रकारको हिमपात र वर्षा हुन थालेको हो । यसले यहाँको जैविक विविधता,संस्कृति,पर्यटक ,कृषि र पशुपालन व्यवसायलाई असर पु¥याउन सक्ने जोखिम बढेको छ ।


प्रतिक्रिया