८ महिनामै उठ्यो १५ लाख ३५ हजार ट्राफिक राजश्व संकलन



जोमसोम—सडक संञ्जालले जोडिएको हिमाली जिल्ला मुस्ताङमा बर्सेनि ट्राफिक राजश्व संकलन वृद्धि हुँदै जान थालेको छ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सवारी साधनको चाप बढ्दै जान थालेसंगै यहाँ ट्राफिक राजश्वमा समेत अपेक्षाकृत वृद्धि हुन पुगेको हो ।

जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जिल्ला भित्रिने  सवारी साधनले ट्राफिक नियम विपरित चलाउनेलाई कारवाही गर्ने गर्दैआईरहेको छ । मदिरा सेवन गरी सवारी चलाउने,क्षमता भन्दा बढी यात्रु ओसार पोसार गर्ने,सवारी साधनको आवश्यक कागजपत्र साथ लिएर यात्रा नगर्ने र सवारी साधनको मोडिफाई गर्ने लगायतका ट्राफिक नियम विपरितको कार्यलाई नियमन गर्न ट्रािफक प्रहरीले सुरुवाती चरणमा चेतावनी त्यसपछि जरिवाना तिराउने गर्दैआईरहेको छ ।

चालु आर्थिक वर्ष २०८०÷०८१ को ८ महिनामा जिल्ला भित्रिएका २ हजार ३२ वटा  सवारी साधन तथा मालबाहक साधनलाई  कारवाही गर्दा १५ लाख ३५ हजार ५ सय राजश्व संकलन भएको मुस्ताङका प्रहरी प्रमुख भोजराज पाण्डेयले जानकारी दिए ।प्रहरी प्रमुख पाण्डेयका अनुसार  सबै भन्दा बढी राजश्व संकलन कार्तिक महिना उठेको छ । सो महिनामा ट्राफिक नियम विपरित सवारी साधन चलाउने  ४५७ वटा सवारी साधनलाई कारवाही गर्दा ३ लाख ३१  हजार ५ सय राजश्व संकलन भएको हो । 

कार्तिक महिनामा दशैं—तिहार जस्ता महत्वपूर्ण चाडपर्व पर्ने र त्यस समय मुस्ताङ घुम्ने अनुकुल समय भएकाले त्यससमयमा सवारी साधनको चाप थेग्न समेत मुश्किल पर्छ । चालु वर्षको ८ महिनामा सबै भन्दा ट्राफिक राजश्व भदौ महिनामा संकलन भएको छ । भदौमा जम्मा ५० वटा सवारी साधन कारवाहीमा पर्दा ४७ हजार ५ सय मात्र राजश्व संकलन भएको प्रहरी प्रमुख पाण्डेयले उल्लेख गरे । 


यसैगरी चालु वर्षको साउनमा ६७ वटा सवारीलाई कारवाही गर्दा ६९ हजार ५ सय,असोजमा २६० सवारीलाई कारवाही गर्दा २ लाख ६ हजार ५ सय, मंसिरमा ३ सय ३३ सवारीलाई कारवाही गर्दा २ लाख ४८ हजार ५ सय,पुसमा ४ सय ४ वटा सवारीलाई कारवाही गर्दा ३ लाख २ हजार ५ सय,माघ महिनामा १सय ३८ सवारी कारवाहीमा पर्दा १ लाख ३ हजार र फागुन महिनामा ३ सय २३ सवारी साधन कारवाहीमा पर्दा २ लाख २६ हजार ५ सय ट्राफिक राजश्व संकलन भएको हो ।

 



प्रतिक्रिया