जोमसोम—स्वास्थ्य कार्यालय मुस्ताङले जिल्लाका ७ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई स—सम्मान बिदाई गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय एवं जिल्ला खोप समन्वय समिति मुस्ताङद्वारा शुक्रबार जोमसोममा आयोजित ‘ जिल्ला पूर्णखोप सुनिश्चिता दिगोपना ’घोषणा सभामा जिसस मुस्ताङकी प्रमुख माया गुरुङसहित जिल्लाका ७ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य कार्यालय मुस्ताङले स—सम्मान बिदाई गरिएको हो ।
मुस्ताङमा लामो समयदेखि स्वास्थ्य सेवामा खटिदैआईरहेका स्वास्थ्य स्वयंसेविकाहरुलाई उमेर हदका कारण स्वास्थ्य कार्यालय मुस्ताङले नगद २० हजार उनीहरुको खातामा जम्मा गर्ने गरी स—सम्मान बिदाई गरेको हो । स्वास्थ्य कार्यालय मुस्ताङले समन्वय प्रमुख माया गुरुङसहित बत्तिमाया थकाली,नानीमाया थकाली, कुशुमलता शेरचन, तीलकुमार शेरचन,तेन्जिन गुरुङ, कर्साङ आङ्मो गुरुङ र पेमा ढोमा गुरुङलाई नगद पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो ।
भौगौलिक रुपले अत्यन्तै विकट मुस्ताङका दुरदराजका गाउँहरुमा स्वास्थ्य स्वयंसेविकाको भूमिकामा उत्कृष्ट कार्यसम्पादन गरेवापत उनीहरुलाई स—सम्मान कार्यालयले बिदाई गरेको स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । यसैगरी सोही जिल्ला पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा कार्यक्रममा मुस्ताङका ५ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरुलाई पनि विशेष सम्मान गरिएको हो । १६ महिनादेखि ५९ महिना उमेरसमुहका बालबालिकाहरुलाई सबै खोपको मात्रा पूरा गर्ने अभियानमा स्थानीय तहका स्वास्थ्य शाखाहरुले उत्कृष्ठ कार्यसम्पादन गरेवापत उनीहरुले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको स्वास्थ्य प्रमुख भण्डारीको भनाई छ ।
स्वास्थ्य स्वंयसेविकादेखि जिल्ला समन्वय समितिको प्रमुखको रुपमा रहेकी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ झारकोटकी समन्वय प्रमुख गुरुङले दुई वर्षपछि स्वास्थ्य कार्यालय मुस्ताङले सम्मान गरेको हो । २०५१ सालदेखि निरन्तर स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्यसम्पादन गर्दैआईरहेकी समन्वय प्रमुख गुरुङ समन्वय प्रमुख पदमा निर्वाचित भएपछि स्वास्थ्य सेविकाको कामबाट बिदा लिएकी थिईन ।
स्वास्थ्य स्वयंसेविकाको कामबाट बिदा लिएर जनप्रतिनिधिको रुपमा बहाल हुँदाको अवस्थामा बिदाई सम्मान पाउँदा समन्वय प्रमुख निकै भावुक बनिन् । उनले सेवा सुविधा र पारिश्रमिकका बावजुद दुरदराजकमा कार्यरत स्वास्थ्यकर्मीले उल्लेखनीय भूमिका निभाएको दावी गरिन् । ‘ म अहिले समन्वय प्रमुख पदमा छु, विगतमा स्वास्थ्य स्वयंसेविका भएर काम गरेको दुःख र दिन ताजै छन्,‘स्वास्थ्य स्वंयसेविकाको काम एक नशा हो, यो काम गरेपछि सेवा सुविधा र पारिश्रमिकको लोभलालसानै हुँदैन ।’उनले जनताको प्रत्यक्ष घरदैलोमा स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिने दुरदराजका स्वास्थ्य स्वयंसेविकालाई राज्यले उपेक्षा गरेको उनको भनाई छ ।
पछिल्लो समय सरकारले स्वास्थ्य स्वयंसेविकाहरुका लागि वार्षिक १० हजार पोशाक भत्ता र वार्षिक १२ हजार यातायात खर्च प्रदान गर्ने गरेको छ । यसैगरी स्वास्थ्य स्वयसेविकाका लागि गण्डकी प्रदेश सरकारले ६ हजार प्रोत्साहन भत्ता वितरण गर्ने गरेको छ ।
स्वास्थ्य कार्यालय मुस्ताङ एवं जिल्ला खोप समन्वय समितिले जिल्लाका लक्षित समुहका बालबालिकाहरुलाई पूर्णखोप अभियानमा जोड्ने गरी जिल्ला पालिका र वडास्तरीय रुपमा पूर्ण खोप सुनिश्चिता तथा दिगोपना कार्यक्रम संञ्चालन गरेको थियो । पहिलोपटक २०७२ सालमा मुस्ताङलाई पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा गरिएपछि यो अभियानले सार्थकता पाएको हो । यद्यपी कोरोना कहरका बेला प्राविधिक समस्याका कारण यसप्रकारको अभियान र घोषणा कार्यक्रम केही वर्ष रोकिएको थियो । वडास्तर र पालिका स्तरमा पूर्णखोप सुनिश्चिता दिगोपना घोषणापछि जिल्ला स्तरमा जिल्ला खोप समन्वय समितिले सबै बालबालिका पूर्णखोपको मात्रा पाएको सन्देशसहित घोषणा सभा गरिएको स्वास्थ्य कार्यालय एवं खोपसमन्वय समितिले उल्लेख गरेको छ ।
पूर्णखोप सुनिश्चिता दिगोपनाका लागि मुस्ताङमा १६ महिनादेखि ५९ महिना उमेर समुहका ४६४ जना बालबालिकाले पूर्णखोप प्राप्त गरेका छन् । स्वास्थ्य कार्यालय एवं खोपसमन्वय समिति मुस्ताङले बालबालिकाको स्वास्थ्यमा लाग्ने १३ प्रकारका रोग विरुद्ध लड्नसक्ने रोग प्रतिरोधात्मक खोप लगाएको हो । स्वास्थ्य कार्यालयले यसप्रकारको खोप कार्यक्रम बसेनि संञ्चालन गरेको छ ।
पूर्ण खोप सुनिश्चिता दिगोपना घोषणा सभामा गण्डकी प्रदेशका र्सासद विकलले शेरचनले बालबालिकाहरुमा बालमृत्युदरलाई न्यूनिकरण खोप अभियान सार्थक भएको बताए । प्रदेश सांसद शेरचनले मुस्ताङ अस्पतालको भवन निर्माणमा ठेकेदारका कारण ढिलाई भएको र अब त्यो रोकिएको कामले चाँडैनै सम्पन्न हुने जनाए । मुस्ताङ अस्पतालको भौतिक पूर्वाधार तथा जनशक्ति व्यवस्थापनमा प्रदेश स्तरमा आफुले निरन्तर पहल गरिरहेको जनाए । घोषणा सभामा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन,प्रजिअ जनकराज पन्त,जिसस अधिकारी ईन्द्रदेव पाण्डे लगायतले जिल्ला स्तरीय खोप सम्वन्धमा धारणा राखेका थिए ।