पालिका स्तरीय तारा खेलको उपाधि टुुकुचेलाई

 मुस्ताङको थासाङ गाउँपालिका —२ स्थित लार्जुङमा आईतबार सम्पन्न दोश्रो पालिका स्तरीय तारा (धनुषवाण) प्रतियोगिताको उपाधि टुकुचे गाउँले जितेको छ । शनिबारदेखि सुरु भएको प्रतियोगितामा निर्धारित ११ डोर खेल्दा थासाङ—१ टुकुचेले १०५ अंक जोड्दै प्रतियोगिताको उपाधि जितेको हो ।

  प्रतियोगितामा थासाङ—३ लेतेले १०४ अंक जोड्दै उपविजेतामै चित्त बुझाएको छ । ११ डोरमा ७ जना खेलाडी रहने गरी १५४ पूर्णाङ रहने गरी तारा खेलको प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगितामा थासाङको लेते एक अंकले पछि पर्दै उपाधि हात पार्नबाट चुकेको हो ।

 यस्तै, थासाङ गाउँपालिकाको धम्पु गाउँ १०२ अंकसहित तेस्रो र थासाङ—२ खन्ती ९९ अंकसहित चौथो भएको थासाङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकास परियारले जानकारी दिनुभयो ।

 दोश्रो पालिका स्तरीय तारा (धनुषवाण) प्रतियोगिताको उपाधि विजेता थासाङको टुकुचे गाउँले नगद एक लाख नगदसहित शील्ड,मेडल,ट्रफी र प्रमाणपत्र हात पारेको छ । यसैगरी प्रतियोगितामा दोश्रो हुने लेतेले नगद ७० हजार,तेस्रो हुने धम्पुले ३५ हजार र चौथो हुने खन्तीले नगद २० हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत परियारले बताउँनुभयो । 

 प्रतियोगितामा सर्वोउत्कृष्ट खेलाडी थासाङ—२ खन्तीका बुद्धि बुढाथोकी घोषित हुनुभयो । बुढाथोकीले व्यक्तिगत  पूर्णाङकमा २० अंक जोड्दै सर्वोउत्कृष्ट खेलाडी बन्दै नगद पुरस्कार तथा प्रमाणपत्र  हात पार्नुभएको हो ।  

थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचन,उपाध्यक्ष सोमल हिराचन,वडाध्यक्ष गौतम शेरचन , प्रमुख प्रशासकीय अधिकृत विकास परियार लगायतले तारा प्रतियोगिताका विजेता खेलाडी टिमलाई नगद पुरस्कारसहित शील्ड,मेडल,ट्रफी र प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

  हिमाली जिल्ला मुस्ताङको धार्मिक तथा सांस्कृतिक  खेलको रुपमा परिचित तारा खेलको संरक्षण ,सम्वद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले थासाङ गाउँपालिकाले गतवर्षदेखि थकालीहरुको महानपर्व तोरन्लको अवसरमा प्रतियोगिता आयोजना गर्दैआईरहेको छ । यसवर्ष प्रतियोगिता हुने समयमा प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण प्रतियोगिता रोकिएको थियो । उक्त प्रतियोगिता आईतबार थासाङको लार्जुङमा सम्पन्न भएको हो ।

 थासाङ गाउँपालिकाको पाँच वटै वडाका पन्ध्र वटा गाउँले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिता बर्सेनि थासाङ गाउँपालिका विभिन्न गाउँहरुमा आलोपालो संञ्चालन गर्ने गरिएको छ । यसअघि प्रथम पालिका स्तरीय तारा (धनुषवाण) प्रतियोगिता थासाङको घाँसामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया