जोमसोम— मुस्ताङको थासाङ गाउँपालिका—२ अन्तर्गत पर्ने कालिगण्डकी वारिपारीका गाउँहरु जोड्ने निर्माणधिन संस्पेन्स पुल निर्माण फेरी अलपत्र परेको छ । कोवाङ—सौरु जोड्ने सस्पेन्सन पुलको फाउन्डेसन तथा सिभिलको ७५ प्रतिशत भौतिक प्रगती हुँदा पुल निर्माणको काम विगत ५ महिनादेखि अलपत्र परेको हो ।
मुस्ताङको कालिगण्डकी नदीमा निर्माणधिन (कोवाङ—सौरु) जोड्ने ५७० मिटर लम्बाई र २ मिटर चौडा सस्पेन्स पुल निर्माण २०७७ साल ३० बैशाखमा सस्पेन्स ब्रीज डिभिजन कार्यालय काठमान्डौले ईलाईट रुविना कन्ट्रक्सन जेभीसंग ५ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । सुरुवाती चरणमा जोईनको मुख्य कम्पनी ईलाईट कन्ट्रक्सनले (कोवाङ—सौरु) जोड्ने पुल बनाउने जिम्मा लिएको भएपनि रुविनाले पुलको आशिंक काम गरेर निर्माणको काम त्यसै अलपत्र पारेर छाडेको थियो ।
ठेक्का सम्झौता अनुसार ३० महिनाको समयावधि तोकिएको (कोवाङ—सौरु) जोड्ने सस्पेन्सन पुल निर्माण २०७९ साल कार्तिकसम्म सकिनु पर्ने थियो । तर,निर्माण कम्पनीले कोरोना कहर,हिमपात र प्रतिकुल मौसमको कारण देखाउँदै म्याद थप गदै आएको थियो ।
सुरुवाती जोईन कम्पनी रुविनाले निकै लामोसमयसम्म (कोवाङ—सौरु) जोड्ने सस्पेन्सन पुलको काम अलपत्र पारेर छोडेपछि गत वर्षको फागुनदेखि जोईन पार्टनर ईलाईट कन्ट्रक्सनले जिम्मा लिएको थियो । कालिगण्डकी नदीमा सस्पेन्स पुल बनाउन ईलाईट कम्पनीले प्रतिनिधिको रुपमा निकेश श्रेष्ठलाई कार्यस्थलमा खटाएको थियो ।
पुल निर्माणका लागि निकेश श्रेष्ठ कार्यस्थलमा फर्किए लगत्ते गत मंसिर महिनासम्म (कोवाङ¬—सौरु) जोड्ने पुलको कालिगण्डकी वारिपारी फाउन्डेसन निर्माणका साथै कालिगण्डकी नदीमा दुईवटा ६ मिटर गहिरो फाउन्डेसन निर्माणको संरचना निर्माण सकिएको छ ।अहिले ईलाईट कन्ट्रक्सनले खटाएका प्रतिनिधि निकेश श्रेष्ठले पुलको सिभिलको सबै काम सम्पन्न गरिसकेका छन् । तर, प्रतिनिधि श्रेष्ठलाई पुलको लाट्ठो तान्ने र पुल फिनिसिङको काम बाँकी रहँदै गर्दा ईलाईटले जिम्मेवारीमा अलग गराएको छ ।
प्रतिनिधि श्रैष्ठले (कोवाङ—सौरु) सस्पेन्सन पुलको भौतिक प्रगती ७५ प्रतिशत सम्पन्न भईसकेको बताउँनुभयो । ‘पुलको सबै सिभिलको काम सक्कियो, अब पुल फिटिङको काम मात्रै बाकी छ ’ प्रतिनिधि श्रेष्ठले भने,‘ मैले सरासर गर्न पाएको भए अहिलेसम्म सक्किसकिन्थ्यो, तर, म अहिले पुलको कामबाट अलग भईसकेको छु ।’ ईलाईट कम्पनीले पुलको फिनिसिङको कामका लागि अर्को प्रतिनिधि खटाउने तयारी गरेको उनले बताउँनुभयो ।
मुस्ताङको थासाङ गाउँपालिका—२ का वडाध्यक्ष गौतम शेरचनले कालिगण्डकी नदीमा निर्माणधिन (कोवाङ—सौरु) जोड्ने सस्पेन्सन पुल निर्माणको काम ६ महिनादेखि फेरी रोकिएको जानकारी दिनुभयो । ३ वर्ष अगावै सकिनु पर्ने पुलको काम निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा पुल निर्माण सम्पन्न हुन विलम्व भएको वडाध्यक्ष शेरचनको भनाई छ ।
कालिगण्डकी नदीमा निर्माणधिन पुलका लागि निर्माण कम्पनी ईलाईटले पुलको लाट्ठो र स्टिलपार्ट समेत निर्माणस्थल नजिकै व्यवस्थापन गरेको भएपनि पुल फिटिङको काम अघि बढ्न नसकेको थासाङ—२ सौरुका स्थानीय सोजन हिराचनले जानकारी दिनुभयो ।
मुस्ताङको राष्ट्रिय राजमार्ग सडकदेखि कालिगण्डकी पारीको गाउँ सौरु,सिर्खुम र कोखेठाँटी लगायतका गाउँहरु पुल बनेपछि प्रत्यक्ष लाभान्वित हुनेछन् । बर्सेनि बर्खायाममा कालिगण्डकी नदीमा जोखिम मोलेर खोला तरेर आवतजावत गर्नुपर्ने सास्ती सौरु ,सिर्खुम र कोखेठाँटीका स्थानीयलाई छ । कालिगण्डकी नदीमा पुल नहुँदा कालिगण्डकी पारीका गाउँमा उत्पादन हुने कृषि उपजको बजारिकरणमा समेत समस्या पर्ने गरेको छ ।
बर्खायाममा कोखेठाँटी झोलुङे पुल तरेर डेढ घण्टाको यात्रा गर्दै गाउँपालिका कार्यालय,विद्यालय ,स्वास्थ्य सेवा र सदरमुकाम जोमसोम आवतजावत गर्नु पर्ने बाध्यता त्यस क्षेत्रका स्थानीयको बाध्यता रहेको सौरु गाउँका स्थानीय सोजन हिराचनले उल्लेख गर्नुभयो । कालिगण्डकी नदीमा निर्माणधिन पुल सकिएमा डेढ घण्टाको यात्रा १५ मिनेटमै तय गर्न सकिने स्थानीय हिराचनले बताउँनुभयो ।