थासाङ रणनीतिक सडकको काम धमाधम


जोमसोम— चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि विनियोजित बजेट खर्च सकिंदा समेत मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिका अन्तर्गतका  आठ वटा गाउँहरु जोड्ने ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सडक’को काम रोकिएको छैन । सडकको ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले चालु आ.व.को बजेट नहुदा समेत थासाङ सडक निर्माणकार्यलाई निरन्तरता दिईरहेको  सडक डिभिजन कार्यालय बाग्लुङले उल्लेख गरेको छ ।

 आ.व. २०७९ पुस ७ गते ठेक्का सम्झौता भएको मुस्ताङको थासाङ गाउँपालिका अन्तर्गत आझेलमा परेका आठ गाउँ जोड्ने रणनीतिक महत्वको सडक स्तरोन्नतिको जिम्मा  महालक्ष्मी हिमाली जेभी कन्ट्रक्सन बालाजु काठमान्डौं लिएको थियो । सम्झौता अवधि तीन वर्ष तोकिएको थासाङ गाउँपालिकाको आठ गाउँ जोड्ने कालोपत्र सडक स्तरोन्नतिको लागि ३८ करोड ८८ लाख ६१ हजार लागतमा ठेक्का सम्झौता गरिएको थियो । थासाङको लेते —कुञ्जो हुँदै कोखेठाँटी—सौरु गाउँसम्मको दश किलोमिटर दुरीको रणनीतिक महत्वको सडक निर्माणका लागि सम्वन्धित निर्माण कम्पनीले सडक डिभिजन सडक कार्यालय बाग्लुङसंग त्यसबेला ठेक्का सम्झौता गरेको थियो ।

योसडकले मुस्ताङको तल्लो क्षेत्रमा पर्ने थासाङ गाउँपालिका अन्तर्गतका ५ वटा वडा मध्ये ४ वटा वडालाई सडक सञ्जालले जोडिने डिभिजन सडक कार्यालय बाग्लुङका ईन्जिनीयर सागर भण्डारीले जानकारी दिनुभयो । उक्त सडकको दश किलोमिटर निर्माणधिन सडकमा नाली निर्माण बाहेक ८ दशमलव ५ मिटर चौडा फराकिलो सडक निर्माणकार्य भईरहेको ईन्जिनीयर भण्डारीको भनाई छ । ईन्जिनीयर भण्डारीका अनुसार थासाङको एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सडकले त्यसक्षेत्रको लेतेदेखि छयो, कुञ्जो, टिटी, धम्पु, कोखेठाँटी,सिर्खुम र सौरु गाउँलाइ जोड्ने गरी सडक निर्माणको काम भईरहेको छ ।

  राष्ट्रिय गौरवको (बेनी—जोमसोम) मुख्य राजमार्ग सडकदेखि कालिगण्डकी नदी पारीका ओझेलमा परेका गाउँहरुलाई सडक सञ्जाललाई जोड्ने गरी रणनीतिक महत्वको थासाङ ग्रामिण सडक विस्तारको कार्य अघि बढेको थियो । डिभिजन सडक कार्यालय बाग्लुङका ईन्जिनीयर सागर भण्डारीले संघीय सरकार अन्तर्गत कार्यान्वयनमा आएको थासाङ रणनीतिक महत्वको सडकका लागि चालु आर्थिक वर्ष ५ करोड ४० लाख बजेट विनियोजन भएकोमा चालु वर्षको पुस महिना अगावै बजेट निर्माण कम्पनीलाई भुक्तानी भईसकेको ईन्जिनीयर भण्डारीले खुलाउँनुभयो । थासाङको उक्त सडकमा निर्माण कम्पनीले गतवर्ष पनि सडक निर्माणको कामलाई निरन्तरता गरेको र  त्यसवर्ष बजेट न्यून हुँदा निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेकाले चालु आ.व.को बजेटबाट भुक्तानी गरिएको डिभिजन सडक कार्यालय बाग्लुङका ईन्जिनीयर भण्डारीले स्पष्ट पार्नुभयो ।

 सडक डिभिजन कार्यालय बाग्लुङले मुस्ताङको थासाङ गाउँपालिका अन्तर्गतका ४ वटै वडाहरु जोड्ने एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकको लागि बजेट अभाव भईरहेको बताएको छ । त्यहाँ सम्वन्धित निर्माण कम्पनीले चालु वर्षको पुस महिनादेखि यता काम गरेको भुक्तानी पाउँन बाँकी रहेको कार्यालयका ईन्जिनीयर भण्डारीले उल्लेख गर्नुभयो ।

 थासाङको उक्त रणनीतिक महत्वको सडकमा  वाल निर्माण, नाली निर्माण, सडक सबग्रेड, सडक फिलिङ र सडक चौडा गर्नेदेखि केही स्थानमा आरसिसी सडक निर्माणकार्य भएको ईन्जिनीयर भण्डारीले जानकारी दिनुभयो । उक्त सडकको कोखेठाँटी देखि माथि टिटी क्षेत्रमा करिव पाँच सय मिटर दुरीमा घनाजंगल रहेकाले सडक निर्माणकार्यमा समस्या परेको बताउँनुभयो । एक्याप क्षेत्रमा जथाभावी रुख विरुवा फडानी गर्न नपाईने भएकाले उक्त स्थानमा रुख फडानी गर्न एक्याप ,स्थानीय तह, संरक्षण व्यवस्थापन समिति र सराकारवाला बसेर कानुनी जटिलता समाधान गरी सडक निर्माणकार्य अघि बढाउनुपर्ने आवश्यकता देखिएको ईन्जिनीयर भण्डारीले स्पष्ट पारे ।

 सडक डिभिजन कार्यालय बाग्लुङले हालसम्म पनि निर्माण कम्पनीले बिना बजेट पनि तदारुकता साथ काम गरेकाले अपेक्षित भौतिक प्रगती भईरहेको जनाएको छ । कार्यालयले थासाङको आठ गाउँको चार वडा जोड्ने रणनीतिक महत्वको सडकमा  ६० प्रतिशत भौतिक र ४५.५९ प्रतिशत वित्तिय प्रगती भएको उल्लेख गरेको छ । कार्यालयले थासाङ गाउँपालिकाको उक्त सडकमा बजेट सकिएकाले थप बजेटको माग गरिएको र बजेट सुनिश्चितता भएमा तोकिएको सम्झौता अवधि अगावै सडक निर्माणको काम सम्पन्न हुनेमा कुनै द्धिविधा नरहेको दावी गरेको छ ।

थासाङ गाउँपालिकाको कालिगण्डकी पारीका ओझेलका आठ गाउँ जोड्ने सडक स्तरोन्नति सम्पन्न भएमा त्यसक्षेत्रका स्थानीय नागरिकहरुलाई राष्ट्रिय राजमार्ग सडकमा आउजाउ गर्न र त्यहाँको कृषि उत्पादनको सहज बजारिकरण गर्न निकै ठुलो सहयोग पुग्ने सिर्खुमका स्थानीय नविन शेरचनले जानकारी दिनुभयो । ‘कालिगण्डकी नदीको लेते—धम्पुमा पक्की पुल बन्दैछ , त्यसबेलासम्म सडक कालोपत्र भयो भने निकै राम्रो हुन्थ्यो,’स्थानीय शेरचनले भन्नुभयो,‘ निर्माण कम्पनीले मन लगाएको काम गरिरहेको पाएका छौं, बजेट छैन भन्ने सुनेको छु, यो सडकलाई आवश्यक बजेट विनियोजन गरी निर्माणको काम सम्पन्न होस भन्नेनै हो ।’ स्थानीय शेरचनले थासाङको उक्त क्षेत्र कृषि उत्पादन अन्तर्गत आलुको प्रसिद्ध हब भएकाले सडक सञ्जालले त्यहाँको आर्थिक विकासमा समेत योगदान पु¥याउने जनाउँनुभयो । 


प्रतिक्रिया