मुस्ताङका मतदान स्थल मुकामदेखि सय किलोमिटर टाढा

 आगामी फागुन २१ गते हुने घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ कायम भएका यहाँका कतिपय मतदान केन्द्र एक सय  किलोमिटर भन्दा बढी टाढा रहेको जनाईएको छ । नेपाल—चिन उत्तरी कोरलानाका स्थित माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कायम गरिएको मतदान केन्द्र तथा मतदान स्थलहरु एक सय किलोमिटर भन्दा बढी दुरीमा रहेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ ।

माथिल्लो मुस्ताङ स्थित चिनसंग सिमाना जोडिएको लोमान्थाङ गाउँपालिकामा ६ वटा मतदान केन्द्र छन् । जहाँ दुई हजार ११ जना मतदाता छन् । यहाँका सबै मतदान केन्द्र तथा मतदान स्थलमा पुग्न सदरमुकाम जोमसोमदेखि सवारी साधन मार्फत करिव ६/७ घण्टा समय लाग्ने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । यहाँ लोमान्थाङ—२ समजुङ मतदान स्थललाई ठाउँसारी गरी सोही वडाको छोसेर स्थित दिव्य माध्यमिक विद्यालय मतदान केन्द्रमा गाँभिएको जिल्ला निर्वाचन अधिकारी ज्ञवालीको भनाई छ । कोरला सडक मार्गसंग जोडिएका मतदान केन्द्र र शाखा सडकमा रहेका मतदान केन्द्र सवारी साधनको सुविधा पर्याप्त छैन ।

यसैगरी माथिल्लो मुस्ताङ स्थित लोघेकर दामोदरकुण्ड गाउँपालिका स्थित मतदान केन्द्र तथा मतदान स्थलको दुरी पनि एक सय किलोमिटर दुरीमा रहेको छ । कोरला सडक अन्तर्गत घिलिङ,घमी, चराङ लगायतका मतदान केन्द्र तथा मतदान स्थलहरु राष्ट्रिय राजमार्गसंग जोडिएकाले यातायात आउजाउमा सहज भएपनि अन्य मतदान केन्द्रहरु भौगोलिक विकट स्थानमा रहेकोले मतदान स्थलसम्म पुग्न जोमसोमदेखि घण्टौंघण्टा समय लाग्ने निर्वाचन अधिकारी ज्ञवालीले बताउँनुभयो । लोघेकर दामोदरकुण्डको वडा ४ र ५ मा रहेको मतदान स्थल पुग्ने राष्ट्रिय राजमार्गबाट पनि २÷३ घण्टाको समय लाग्ने निर्वाचन अधिकारी ज्ञवालीले उल्लेख गर्नुभयो ।

 मतगणना स्थल जोमसोमसम्म त्यहाँका मतदान स्थलका मतपेटिका ल्याई पु¥याउन राति १२ बजेसम्म समय लाग्ने बताईएको छ । माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ५ वडाहरुमा एक हजार ५४२ जना मतदाता रहेका छन् । यहाँ ३९ मतदान केन्द्र तथा मतदान स्थल मध्ये १० वटा मतदान केन्द्र तथा मतदान स्थल सोही गाउँपालिकामा रहेको छ । थोरै मतदाता रहेपनि भौगोलिक कठिनाईका कारण मतदाताहरुको सहजताका लागि मतदान स्थलको संख्या बढी भएको निर्वाचन कार्यालयको भनाई छ ।

यसैगरी यहाँ स्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका मतदान केन्द्र तथा मतदान स्थलहरुको दुरी जोमसोमबाट करिव ५० किलोमिटर टाढा रहेको छ । दुई हजार ८८५ मतदाता रहेको यहाँको पालिकामा ९ वटा मतदान केन्द्र तथा मतदान स्थल रहेका छन् । सदरमुकाम जोमसोबाट कोरला सडकमार्गमा पर्ने वारागुङ—३ समर मतदान केन्द्र र वारागुङ —५ साङ्ता मतदान केन्द्र सबै भन्दा लामो दुरीमा रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताउँनुभयो । यहाँको साङ्ता मतदान केन्द्र जाने सडकमा हिमपात भएकाले मतदान स्थल सार्न स्थानीय तहको वडा कार्यालयबाट सिफारिस आएको उहाँको भनाई छ ।

मुस्ताङ सदरमुकामसंग जोडिएको घरपझोङ गाउँपालिकामा ६ वटा मतदान केन्द्र तथा मतदान स्थलमा  दुई हजार ४९८ जना मतदाता कायम छन् । मुकामदेखि यहाँका सबे मतदान केन्द्र १५ किलोमिटर दुरी भित्र रहेको जनाईएको छ ।

 यसैगरी मुस्ताङको जोमसोमदेखि दक्षिण तल्लो मुस्ताङको थासाङ गाउँपालिकामा ८ वटा मतदान केन्द्र तथा मतदान स्थल रहेका छन् । थासाङमा  दुई हजार ९०८ जना मतदाता रहेका छन् । जोमसोमदेखि यहाँको मतदान केन्द्र तथा मतदान स्थलको दुरी करिव ४० किलोमिटर भित्र रहेको निर्वाचन अधिकारी ज्ञवाली बताउँनुभयो । थासाङ क्षेत्रको मतदानकार्य सकिएमा साँझ ७ बजेभित्र सबै मतदान केन्द्र तथा मतदान स्थलका मतपेटिका मुकाम स्थित मतगणना स्थलमा आइसक्ने अवस्था रहेको जनाइएको छ ।

 आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँका पाँच पालिकामा ३९ वटा मतदान केन्द्र तथा मतदान स्थल कायम गरिएको छ । यहाँ कुल एघार हजार ३२८ जना मतदाता कायम रहेको छ । 


प्रतिक्रिया