एक्याप मुस्ताङको पहलमा २ ट्रक फोहोर रिसाईकल कम्पनीमा पठाईयो

जोमसोम—  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना अन्तर्गत मुस्ताङ जिल्ला स्थित धार्मिक तथा पर्यटकीय स्थललाई स्वच्छ,सफा र वातावरणमैत्री तुल्याउन एक्याप मुस्ताङले पहल थालेको छ । धार्मिक तथा पर्यटकीय स्थलको नकुहिने फोहोरलाई व्यवस्थित गर्न एक्यापले जिल्ला बाहिर पठाएको हो ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको वातावरणीय सुन्दरतालाई जिवन्त तुल्याउन एक्याप जोमसोमले शुक्रबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ कागबेनी र शनिबार घरपझोङ—३ पुथाङ एअरपोर्टको  फोहोर उठाएको हो । जिल्लामा जम्मा भएका नकुहिने फोहोरलाई बोरामा राखेर धमाधम ट्रक ढुवानी गरी पुनः प्रयोग (रिसाईकल)का लागि प्रशोधन कम्पनीमा पठाईएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । संकलित नकुहिने फोहोरलाई एक्यापकै खर्चमा  पुन प्रयोग (रिसाईकल) प्रयोजनार्थ पोखरा स्थित ग्रीन रोड वेस्ट मेनेजमेन्ट कम्पनीमा पठाईएको कार्यालय प्रमुख गुप्तले बताउँनुभयो ।

 मुस्ताङको पविध धार्मिक स्थलमा अन्तराष्ट्रिय महिला दिवसका अवसरमा एक्यापले आयोजना गरेर सरसफाई कार्यक्रम र  बेशाख ४ गते मुस्ताङका ५ वटै स्थानीय तहका जनप्रतिनिधि एवं कर्मचारीहरुले गरेको सरसफाई अभियानमा संकललित फोहोर एक्याप जोमसोमले पोखरा स्थित रिसाईकल कम्पनीमा पठाएको हो ।

 एक्याप प्रमुख गुप्तका अनुसार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी श्राद्धस्थल र कागबेनी गाउँमा संकलन भएको  सिसाजन्य फोहोर ९ बोरा ( १०४ केजी), प्लास्टिकजन्य फोहोर १३९ बोरा (८०८ केजी) र क्यान तथा टिनजन्य फोहोर ८ बोरा (४३.५ केजी) गरी  १५६ बोरा अर्थात ९ सय ५६ केजी नकुहिने फोहोर ट्रक मार्फत ढुवानी गरी एक्याप जोमसोमले पोखरा पठाएको कार्यालय प्रमुख गुप्तले बताउँनुभयो ।

एक्यापले मुस्ताङका ५ वटै पालिकामा संकलन भएको  नकुहिने फोहोरलाई पुन प्रयोग (रिसाईकल) कम्पनीमा पठाउने गरी अभियाननै सञ्चालन गरेको छ । एक्यापले मुस्ताङको कागबेनीबाट तेस्रो पटक ट्रक मार्फत ढुवानी गरी संकलित नकुहिने फोहोरलाई पोखरा पठाएको हो ।

यसैगरी एक्याप जोमसोमले आज शनिबार  नकुहिने फोहोर पोखरा पठाएको छ । कायालयले मुस्ताङको घरपझोङ—३ पुथाङ एअरपोर्टबाट  सिसाजन्य,प्लास्टिकजन्य र क्यान तथा टिनजन्य  २ हजार ८१८ केजी फोहोर पोखरा पठाएको कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो ।

यसअघि एक्यापकै सक्रियतामा  मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत ठिनी,जोमसोम,स्याङ र कागबेनीबाट नकुहिने फोहोरलाई पोखरामा पठाईसकेको छ । जलवायुु संकटले थपिएको समस्या र चुनौतीलाई न्यूनिकरण गर्दै मुस्ताङलाई प्रदुषणमुक्त जिल्लाका रुपमा स्थापित गरी पर्यटन प्रर्वद्धनमा योगदान पु¥याउन एक्यापले यसप्रकारको फोहोरमैला व्यवस्थापनकार्यमा जुटेको जनाईएको छ । 

धार्मिक तथा पर्यटकीय गन्तव्यहरु स्छच्छ ,सफा र वातावरणमैत्री भएमात्रै पर्यटकीय सुन्दरता कायम हुने र यसले मुस्ताङ जिल्लाको पर्यटन प्रर्वद्धनमा कोशेढुंगा सावित हुने भएकाले यसप्रकारको फोहोरमैला व्यवस्थापन आजको आवश्यकता भएको एक्याप जोमसोमका कार्यालय प्रमुख गुप्तको भनाई छ ।

 त्यसो त मुस्ताङका ५ वटै पालिकाहरुले पनि जिल्लामा हुने फोहोरलाई व्यवस्थापन गर्न पहिलो प्राथमिकतामा राखेर अभियानकै सञ्चालन गरेका छन् । मुस्ताङका जनप्रतिनिधिहरुले गत बैशाख २ गतेदेखि ६ गतेसम्म मुस्ताङको ५ वटै पालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थलहरुको बृहत सरसफाई तथा जनचेतनामूलक अभियान गरेका थिए । प्रदुषण घटाउन ,मुस्ताङको धार्मिक तथा पर्यटकीय सम्पदालाई स्वच्छ ,सफा र वातवरणमैत्री तुल्याउ भन्ने उद्घोषसहित मुस्ताङका ५ वटै पालिकाको संयुक्त आयोजनामा फोहोरमैला व्यवस्थापन तथा जनचेतनामूलक अभियान सञ्चालन भएको थियो । 

मुस्ताङका जनप्रतिनिधि एवं कर्मचारीले अभियानका क्रममा १० ट्याक्टर फोहोर संकलन गरेका थिए । उक्त संकलित नकुहिने फोहोरलाई एक्यापको समन्वयमा पोखरा स्थित सिसाईकल कम्पनीमा पठाउने तयारी भईरहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो ।

पछिल्लो समय मुस्ताङमा राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक सहज भएसंगै मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बर्सेनि वृद्धि भईरहेको छ । मुस्ताङमा पर्यटकको आगमन वृद्धि भएसंगै पर्यटकहरुबाट हुने फोहोरमैला व्वस्थापन समेत निकै चुनौती बनेको छ ।

 धार्मिक तथा पर्यटकीय गन्तब्यहरुमा पर्यटकहरुले जथाभावी फोहोर मिल्काउने परिपाटीले प्रदुषणको जोखिम बढेको हो । पयटकबाट हुने यसप्रकारको फोहोरलाई व्यवस्थापन गर्न आवश्यक भएको भन्दै एक्यापसंगै मुस्ताङका ५ वटै पालिका सक्रिय भएर लागिपरेका छन् ।

प्रतिक्रिया