म्याद सकिएको ८ महिना बितिसक्दा मुस्ताङ अस्पताल भवनको भौतिक प्रगती ५५ प्रतिशत


जोमसोम— निर्माणधिन मुस्ताङ अस्पताल भवन निर्माण सुस्त बनेको छ ।गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको लगानीमा २०७७ साल चैत्र २२ गते शिलन्यास गरिएको मुस्ताङ अस्पताल भवनको भौतिक प्रगती ५५ प्रतिशत र वित्तिय प्रगती ४० प्रतिशत रहेको छ ।

गण्डकी प्रदेश सरकारले त्यसबेला मुस्ताङ र मनाङसहित पोखरामा सरुवा रोग अस्पताल भवन बनाउँन बहुवषीय योजना अघि बढाएको थियो । भन्डै आधा शताब्दी पुरानो मानिएको मुस्ताङ अस्पताल भवनको नयां पक्की भौतिक संरचना निर्माण गरी २५ शैयाको अस्पतालको रुपमा सेवा विस्तार गर्ने उद्देश्यले सुरु गरिएको निर्माणधिन भवनको तत्कालिन सामाजिक विकास तथा स्वास्थ्य मन्त्री नरदेवी पुनले शिलन्यास गरेकी थिईन ् । मन्त्रालयद्धारा ईमोटल कन्टक्सनसंग ठेक्का सम्झौता गरी मुस्ताङ अस्पताल भवन निर्माणको काम अघि बढाईएको थियो । भवनको लागत १२ करोड रहेको छ । भवन अपांगमैत्री साढे दुई तले हुने बताईएको थियो ।

सम्झौता अवधि २ वर्ष रहेको निर्माणधिन मुस्ताङ अस्पताल भवन सम्झौता मुताबिक आर्थिक वर्ष २०७९ चैत्र २१ गते सकिनुपर्ने थियो ।तर, निर्माण कम्पनी ईमोटल कन्टक्सनको ढिलासुस्तीका कारण सम्झौता अवघि सकिएको ९ महिना बितिसक्दा जम्मा ५५ प्रतिशत भौतिक प्रगती भएको अस्पतालका निमित्त कार्यालय प्रमुख भोजराज रेग्मीले जानकारी दिए । निर्माण कम्पनीले अस्पताल भवनको कामबाट गत आर्थिक वर्षको माघसम्म ५ करोड भुक्तानी लगिसकेको उनले बताए ।

मुस्ताङ अस्पताल भवनको सम्झौता अवघि सकिएपछि निर्माण कम्पनीलाई थप ३ महिना म्याद थप भएको भएपनि उक्त समयमा समेत भवन निर्माण सम्पन्न हुन नसकेको कार्यालय प्रमुख रेग्मीले उल्लेख गरे । भवन निर्माण अलपत्र परेपछि गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र निर्माण कम्पनीबीच चालु आर्थिक वर्ष २०८०÷०८१ को असार मशान्तसम्म भवन निर्माण गरिसक्ने मौखिम सहमती भएको कार्यालय प्रमुख रेग्मीले प्रष्ट्याए ।

निर्माणधिन मुस्ताङ अस्पताल भवनका लागि गत आर्थिक वर्ष २०७९÷०८० मा ६ करोड बजेट विनियोजन भएको थियो ।तर,निर्माण कम्पनीको ढिलासुस्तीका कारण मुस्ताङ अस्पताल भवनको भौतिक प्रगती अपेक्षाकृत नहुँदा ३ करोड बजेट फ्रिज भएको थियो । चालु वर्ष भवनका लागि ४ करोड बजेट प्रदेश सरकारबाट विनियोजन भएको निमित्त कार्यालय प्रमुख रेग्मीको भनाई छ । चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा निर्माण कम्पनीले आशिंक निर्माणको काम अघि बढाईएको भएपनि भवन निर्माणलाई गति दिन नसकेको उनले जनाए । ‘ अस्पताल भवन निर्माण ज्यादै सुस्त छ ,चालु वर्षसक्ने निर्माण कम्पनीको प्रतिवद्धता छ,निमित्त प्रमुख रेग्मीले थपे,‘ अब ८० प्रतिशत भौतिक प्रगती नभएसम्म निर्माण कम्पनीलाई भुक्तानी दिईने छैन ,यो वर्ष मौखिम सहमती अनसार भवन निर्माण सक्नुपर्ने हुन्छ ।’

पछिल्लो समय सडक तथा हवाई मार्ग सहज हुँदै गएपछि मुस्ताङमा पर्यटकीय आवागमन बढ्दै गईरहेको छ । मुस्ताङ भित्रिने पर्यटक तथा स्थानीय नागरिकको स्वास्थ्य सेवालाई सहज र सेवामैत्री बनाउन भवन निर्माणसंगै अस्पतालको स्तरोन्नति प्रदेश सरकारले सुरु गरेको थियो । अस्पताल भवनमा कार्यालय प्रमुख कक्ष, प्रशासन कक्ष,बैठक हल,ओपीडी कक्ष,ईमरजेन्सी कक्ष,प्रसुती कक्ष, ल्याव कक्ष, एक्सरे कक्ष,फार्मेसी कक्ष्,ईमरजेन्सी वार्डसहित विभिन्न समस्याका बिरामीलाई सेवा दिने सुविधा सम्पन्न अस्पताल भवनको पूर्वाधार निर्माण हुनेछ । भवनको माथिल्लो तलासम्म बिरामी लैजान ह्वील चियर गुडाउनसक्ने पूर्वाधार तयार हुने बताईएको छ । पुरानो जीर्ण हालको भवनबाट सेवाग्राहीलाई परेको समस्या र निराकरण गर्न अस्पताल पूर्वाधारले योगदान दिने विश्वास गरिएको छ ।

मुस्ताङ अस्पतालको भवन जस्ताले छाईएको अस्थायी संरचना हो । अस्पतालका ३ वटा अस्याथी जस्ताले छाईएका भवन छन् । जीर्ण भवनबाट सेवा प्रवाह हुँदै गर्दा मुस्ताङ अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीलाई निकै सास्ती हुने गरेको छ । अस्पताल शैया थपसंगै भवनसंरचनालाई बलियो र मजबुत पार्ने र अस्पतालमा सेवा लिन आउने बिरामीलाई सहज ढंगले सेवा प्रवाह गर्न सकिने गरी मुस्ताङ अस्पतालको नयांं भवन बनाउन गण्डकी प्रदेश सरकारले अग्रसता देखाएको थियो । भवनको प्राविधिक पक्ष घरपझोङ गाउँपालिकाले हेर्ने र भवनको वित्तिय भुक्तानी सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मार्फत अस्पतालले दिने गरिएको अस्पतालका कार्यालय प्रमुख रेग्मीले बताए ।


फोटो क्यास्पसन : निर्माणधिन मुस्ताङ अस्पताल भवन सुस्त । तस्विर :सुन्दरकुमार थकाली ।


प्रतिक्रिया