माथिल्लो मुस्ताङको कठिन भूगोलमा निर्वाचन सुरक्षा तयारी

जोमसोम

बिहिबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङको निर्वाचन सुरक्षा व्यवस्था चुस्त पारिएको छ । यहाँका ३९ वटै मतदान केन्द्रमा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त सुरक्षा टोली सम्वन्धित कार्यस्थलमा खटिसकेका छन् ।

 मुस्ताङको वारागुङ मुक्तिक्षेत्रदेखि तल्लो क्षेत्रका तीन पालिकाका मतदान केन्द्रमा खटिने सुरक्षाकर्मी र निर्वाचनमा खटिने कर्मचारीहरुलाई केही सहज भएपनि माथिल्लो मुस्ताङको कठिन भूगोलमा निर्वाचन सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी र निर्वाचनमा खटिएका कर्मचारीलाई भने त्यहाँको अत्यधिक चिसो मौसम र कठिन भूगोलसंग जुध्नु पर्ने अवस्था रहेको छ । माथिल्लो मुस्ताङमा अहिले पनि तापक्रम माईनस ५ डिग्रीमा छ । यद्यपी निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मी र निर्वाचन गराउन पुगेका कर्मचारीहरुलाई निर्वाचन गराउने राज्यले सुम्पिएको कार्यभार पुरा गर्नुपर्ने बाध्यता रहिआएको छ ।

 मुस्ताङको सबै भन्दा असहज र विकट स्थानको कठिन भूगोलमा रहेका मतदान केन्द्र पुगेका सुरक्षाकर्मी र कर्मचारीलाई आवश्यक पूर्वाधार नहुँदा समेत समस्या परेको बताईएको छ । माथिल्लो मुस्ताङका यारा ,घारा, ढी,सुर्खाङ,त्याङ्ग्या,किमलिङ,साङ्ता,छोसेर,ठिङ्गर, लोमान्थाङ,चराङ,घमी,ढाक्मर, मराङ, लगायतका एक दर्जन बढी मतदान केन्द्रहरुमा खटिएका सुरक्षाकर्मीहरु प्रतिकूल मौसमका बावजुद चिसो सहदै निर्वाचन सुरक्षामा तैनाथ रहेको पाईएको छ । जोमसोम सदरमुकामदेखि उत्तर नेपाल—चिन सिमाक्षेत्रका मतदान केन्द्रमा खटिएका निर्वाचन सुरक्षाकर्मीहरु निर्वाचन सुरक्षाका लागि तयारी अवस्थामा रहेको बताएका छन् ।

 बिहिबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा नेपाल प्रहरीबाट २६६ जना निर्वाचन प्रहरीसहित ५०१ जना सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । निर्वाचन सुरक्षाका लागि मुस्ताङका सबै मतदान केन्द्रमा निर्वाचन सुरक्षा गस्ती, आवश्यक चेकजाँच र अवान्छित गतिविधि हुन नदिन सुरक्षाकमी सचेत रहेको बताउँनुभयो ।

यसैगरी माथिल्लो मुस्ताङमा खटिने सुरक्षाकर्मी र निर्वाचन कर्मचारीहरुको स्वास्थ्य रक्षाका लागि लोमान्थाङमा प्रहरीबाटै एक जना मोवाईल विशेषज्ञ चिकित्सक समेतको व्यवस्था गरिएको प्रहरी निरीक्षक बस्यालको भनाई छ । प्रतिकूल मौसमका कारण खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुलाई लेंक लाग्न सक्ने सम्भावना रहेकाले आवश्यक औषधिसहित मेडिकल टोली कार्यस्थलमा पठाईएको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपालले निर्वाचन सुरक्षाका लागि ४६ जना निर्वाचन प्रहरीसहित २०० बढी सशस्त्र सुरक्षा फौजलाई फिल्ड परिचालन गरिसकेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरीले एक महिना अघि बाटै निर्वाचन सुरक्षाका लागि माथिल्लो मुस्ताङको चराङमा निर्वाचन सुरक्षा बेस स्थापना गरिसकेको छ । यसैगरी नेपाली सेनाले माथिल्लो मुस्ताङको थुर्लङ फाँट र तल्लो मुस्ताङको जोमसोममा निर्वाचन सुरक्षा बेस स्थापना गरी निर्वाचन गस्तीलाई तीब्र पारेको छ ।

  माथिल्लो मुस्ताङका २१ मतदान केन्द्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको स्वास्थ्यलाई मध्यनजर गर्दै लेंक लाग्ने समस्याबाट जोगाउँन अक्सिज क्यानसहित पाँच प्रकारका मेडिकल औषधि सहितको व्यवस्था गरी माथि पठाएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । यहाँका सबै मतदान केन्द्रमा संञ्चारको पहुँच जोडिएकाले निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीको अवस्था बारे निरन्तर सम्पर्कमा रहिरहेको निर्वाचन अधिकारी ज्ञवाली बताउँनुभयो । उहाँको अनुसार लोमान्थाङका ६ मतदान केन्द्र ,लोघेकर दामोदरकुण्डका १० मतदान केन्द्र र वारागुङ मुक्तिक्षेत्रका ५ मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुको स्वास्थ्यलाई प्राथमिकतामा राखेर आवश्यक औषधि र अक्सिजन क्यान पठाईएको हो ।

 मुस्ताङका ३९ मतदान केन्द्र मध्ये आधा भन्दा बढी मतदान केन्द्र समुन्द्री सतहको तीन हजार ५०० मिटरको उचाईमा रहेकाले त्यहाँको मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई प्रतिकूल मौसमको सामना गर्नुपर्ने बाध्यता रहेको  एक सुरक्षाकर्मीले जानकारी दिनुभयो ।


प्रतिक्रिया