मुस्ताङको घमीमा सम्पन्न र विपन्नको सामुहिक स्याउ खेती

जोमसोम ।

यहाँ स्थित माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—२ घमी गाउँमा स्थानीय ४९ घरधुरीले सामुहिक स्याउ खेती गरेका छन् । यहाँका गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको पहलमा घमी गाउँमा विगत छ वर्षदेखि सामुहिक स्याउ खेती गरिएको हो ।

कृषिमा स्थानीय नागरिकहरुको सामुहिक पहुँच स्थापित गर्ने उद्देश्यले वि.स. २०७६ सालदेखि यहाँको घमी गाउँमा ४९ घरधुरीले घमी सामुदायिक स्याउ फर्म स्थापना गरी सामुहिक स्याउ सुरु गरेका हुन् ।

यसअघि माथिल्लो मुस्ताङमा आशिंक मात्रामा स्याउ खेती गरिने गरिन्थ्यो । पछिल्लो समय जलवायु परिवर्तनका कारण यहाँको जमिनको तापमान वृद्धि भईरहेकाले स्याउ खेतीले विस्तारै माथिल्लो क्षेत्रको उचाईमा वस्ती सार्दै जान थालेको छ । जलवायु परिवर्तनले स्याउ खेतीले उकालो चढ्दै जान थालेको र घमी गाउँमा भविष्यमा स्याउ खेतीको प्रचुर संम्भावना देखिएकाले त्यहाँ स्थित घमी गाउँका घरधुरीले सामुहिक स्याउ खेतीलाई प्राथमिकता दिएका हुन् ।

यहाँ स्थित घमी गाउँमा स्थानीय घरधुरीहरुले आफ्नो लालपुर्जावाला जग्गालाई सामुदायिक स्याउ खेती गर्ने गरी करिव ८०० रोपनी भन्दा बढी जग्गामा सामुहिक स्याउ खेती गरिएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । अध्यक्ष बिष्टका अनुसार गाउँमा जग्गा भएका र जग्गा नभएका भूमीहीन किसानलाई कृषिमा समान पहुँच स्थापित गर्ने गरी घमी सामुदायिक स्याउ फार्म स्थापना गरिएको बताउँनुभयो । फार्ममा १२००० भन्दा बढी स्थानीय लोकल जातका स्याउ बिरुवा र ६०० भन्दा बढी उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउका बिरुवा रोपण गरिएको उहाँले बताउँनुभयो ।

राष्ट्रिय गौरवको जोमसोम—कोरला सडकमार्ग नजिकै रहेको घमी सामुदायिक स्याउ फार्म ६ वर्षअघि दुई तिहाँई जग्गा खेती हुन नसकी बाँझो छाडिएको थियो । पर्याप्त मात्रामा खेतीयोग्य जग्गा रहेको घमी गाउँमा स्थानीय युवाहरु बैदशिक रोजगारका लागि विदेश जान थालेपछि त्यहाँका खेती योग्य जग्गाजमिन बाँझो रहन पुगेको थियो । कृषि व्यवसायका माध्यमबाट गाउँको आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्यसहित यहाँको घमी गाउँमा बृहत रुपमा सामुदायिक घमी स्याउ फार्म संञ्चालन गरिएको गाउँपालिका अध्यक्ष बिष्टको भनाई छ ।

यहाँको घमी गाउँमा स्थापना गरिएको सामुदायिक स्याउ फार्ममा गतवर्षदेखि स्याउ बोटले उत्पादन दिन थालेका छन् । जलवायु परिवर्तनको प्रभावलाई मध्यनजर गरी स्याउको दीर्घकालिन भविष्य देखेर यहाँको स्याउ फार्मको अधिकाँश जग्गामा रैथाने स्थानीय जातका स्याउ विरुवा रोपण गरिएको गाउँपालिका अध्यक्ष बिष्टले खुलाउनुभयो । गतवर्ष यहाँ स्थित सामुदायिक स्याउ फार्मको एक ब्लकमा ६०० यि बढी हाईब्रिड स्याउका विरुवा रोपण गरिएको छ । यस वर्ष यहाँको फार्ममा फलेका स्याउ बिक्रीबाट दुई लाख रुपैया आम्दानी भएको अध्यक्ष बिष्टको भनाई छ । ‘यहाँ स्याउका बिरुवा बर्सेनि बिकशित हुँदै गईरहेको छ ,भविष्यमा यहाँको फार्ममा पाँच सय मेट्रिक टन बढी स्याउ फलाउने लक्ष्य छ,’ अध्यक्ष बिष्टले भन्नुभयो,‘ फार्ममा पूर्ण रुपमा स्याउले उत्पादन दिन थालेमा स्थानीय नागरिकहरुको आम्दानीको स्रोत वृद्धि हुनेछ,हामीले जग्गा हुने र नहुँने विपन्न बर्गलाई सामुहिक स्याउ खेती प्रणालीमा समेट्ने प्रयास गरेको हौं ।’

यहाँ स्थित मुस्ताङको घमी गाउँमा व्यक्तिको लालपुर्जा भएको जग्गालाई समेटेर जिल्लामै पहिलो सामुहिक सामुदायिक स्याउ फार्म स्थापना गरिएको हो । यहाँको स्याउ फार्ममा कसैको धेरै जग्गा, कसैकोे थोरै जग्गा छ भने कतिपयको जग्गा समेत छैन । तर, यहाँ जग्गा भएका र नभएका घमी गाउँका घरधुरीलाई समावेश गरी सामुहिक स्याउ खेती प्रणालीको अपधारणा अपनाईएको हो ।

सामुदायिक स्याउ खेती गर्दा लालपुर्जावाला घरधुरीहरुले आफैले स्याउ फार्मको व्यवस्थापन तथा रेखदेख गर्नुपर्दछ । तर,फार्मको भौतिक पूर्वाधार लगायतको कामकाँजमा फार्ममा आवद्ध भएका तर जग्गा नभएकाले पनि श्रमदान गर्नुपर्ने प्रावधान राखिएको छ ।

यहाँ स्याउ फार्ममा उत्पादन भएको स्याउ बिक्री गरेवापतको आम्दानी स्थानीय जग्गावाला घरधुरीले ७० प्रतिशत आफुले पाउँने र आम्दानीको ३० प्रतिशत सामुहिक रुपमा सामुदायिक स्याउ फार्मको कोष(बास्केट)फ्रन्टमा राख्नुपर्ने हुन्छ । यसरी बास्केट फ्रन्टमा संकलन भएको आम्दानी बचत फार्ममा आवद्ध सबै घरधुरीले समान रुपमा भाग लगाएर वितरण गरिने नियम राखिएको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले बताउँनुभयो ।

यसअघि पहिलो घरायसी प्रयोजनका लागि मात्रै स्याउ खेती गरिने गरिएकोमा पछिल्लो समय घमी गाउँमा व्यवसायिक स्याउ खेती गरिएको जनाईएको छ ।

जिल्लाकै नमूनाका रुपमा स्थापित भएको घमी सामुदायिक स्याउ फार्मलाई स्थानीय सरकार ,प्रदेश सरकार र जिल्ला स्थित पशु विकास कार्यालयले अनुदान सहयोग पु¥याएका छन् । घमी सामुदायिक स्याउ फार्मका लागि पर्खाल निर्माण गर्न,सिचाईको पहुँच पु¥याउन । स्याउ खेतीको व्यवस्थापन गर्न सरकारी निकायबाट अनुदान सहयोग प्राप्त भएको अध्यक्ष बिष्टको भनाई छ ।

 एक दशक अघि घमी गाउँका स्थानीयले हालको स्याउ फार्म रहेको जग्गामा आशिंक रुपमा उवा,जौं र फापर खेती गर्ने गरिएको र त्यहाँको अधिकाँश जग्गा खेती हुन नसकी बाँझो छाडिएको थियो । तर,पछिल्लो समय यहाँको घमी गाउँ स्थित स्याउ फार्ममा लटरम्म स्याउ फल्न थालेपछि स्थानीय नागरिकहरु दंग परेका छन् । घमी गाउँमा यहाँको शितोष्ण वागवानी विकास केन्द्रले स्याटलाईट कृषि फार्म स्थापना गर्ने तयारी गरिएकाले यहाँका नागरिकहरुलाई स्याउ खेतीको विकास र प्रर्वद्धनमा थप योगदान पु¥याउने विश्वाश गरिएको छ ।


प्रतिक्रिया