जोमसोम—चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको मुस्ताङको उत्तरी कोरलानाकाबाट ६ महिनाको अवधिमा १ लाख ९८ हजार राजश्व संकलन भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि पुस मशान्तसम्ममा कोरलानाकाबाट उक्त भन्सार राजश्व सकलन भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।
कोरना कहरका कारण लगातार बन्द भएको कोरलानाका आर्थिक वर्ष २०८०÷०८१ को २७ कार्तिकदेखि औपचारिक रुपमा बाह्रै महिना खुल्ला गरिएको थियो । त्यसअघि नेपाल—चीन कोरलानाका अन्तरदेशीय ब्यापार मेलाको रुपमा संञ्चालन हुने गथ्र्यो । नेपाल—चीन कुटनीतिक रुपमै सहमती भए लगत्तै उपल्लो मुस्ताङका नागरिकहरुलाई लक्षित गरी चीन पक्षले कोरलानाका बाह्रै महिना खुल्ला गरेको थियो । तर, कोरलानाका औपचारिक तवरबाट खुल्ला भएपनि मुस्ताङ भन्सार कार्यालय अन्तर्गत उपल्लो मुस्ताङमा रहेको नेचुङ भन्सार कार्यालयले अपेक्षाकृत राजश्व संकलन गर्न भने सकिरहेको छैन । भन्सार कार्यालयको पर्याप्त जनशक्ति एवं भन्सार पूर्वाधार तथा कोरलानाकामा अध्यागमन कार्यालयमा कर्मचारीको खटनपटन नहुँदा मुस्ताङ भन्सार कार्यालयले चीनबाट आयातित सामानको पर्याप्त राजश्व संकलन गर्न कठिनाई परेको हो ।
मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा ४९ हजार ८४९, भदौमा ४० हजार ७५५, असोजमा १ हजार ७४६, कार्तिकमा ३४ हजार ९३४ र पुस महिनामा ७१ हजार ६२९ रुपैया भन्सार राजश्व संकलन गरेको मुस्ताङ भन्सार कार्यालयका निमित्त प्रमुख होमबहादुर बिष्टले जानकारी दिए । निमित्त प्रमुख बिष्टलले मंसिर महिनाबाट कोरलानाकाबाट सामान आयात नभएकाले भन्सार राजश्व संकलन शून्य रहेको उल्लेख गरे ।
मुस्ताङ भन्सार कार्यालयले कोरलानाकाबाट आयात गरिएको विभिन्न प्रकारका सामानबाट ८ लाख ७४ हजार ८६६ रुपैया भन्सार राजश्व संकलन गरेको थियो । गत आर्थिक वर्षको भन्सार राजश्व तुलना गर्दा चालु आर्थिक वर्षको ६ महिना अवधिमा २२ दशमलव ७९ प्रतिशत मात्रै राजश्व सकलन भएको हो । मुस्ताङ भन्सार कार्यालयका निमित्त प्रमुख बिष्टले भन्सारका लागि चाहिने खाद्य क्वारेन्टाईन, पशु क्वारेन्टाईन र पेय पदार्थ क्वारेन्टाईन लगायत विभिन्न सामाग्रीका लागि आवश्यक क्वारेन्टाईन पूर्वाधार नहुँदा राजश्व सकलन गर्नमा कानुनी जटिलता उत्पन्न भएको बताए । उनले गर्मीयाम सुरु भएपछि कोरलानाकाबाट सामान आयात हुने भएकाले त्यसबेला थप राजश्व उठ्ने दावी गरे ।
मुस्ताङ भन्सार कार्यालयले कोरलानाकाबाट विभिन्न शिर्षकमा भन्सार राजश्व सकलन गर्ने गरेको छ । जसअन्तर्गत एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने कर, अन्त शुल्क आयात, भन्सार महशुल आयात, आयातमा लाग्ने अन्य शुल्क महशुल, भन्सार सम्वन्धि अन्य आय, सरकारी सम्पतीको बिक्रीबाट प्राप्त रकम, अन्य प्रशासनिक सेवा शुल्क, बेरुजु र मु.अ. कर आयात लगायतमा राजश्व संकलन हुन्छ ।
कोरलानाका उपल्लो मुस्ताङका नागरिकले चीनको सीमाना कोरलाको तिब्बती भूमी लिजी बजारमा पुगेर सामान आयात गर्ने गरेको पाईएको छ । तर नाका खुलेपनि नेपाल पक्षबाट कुनै पनि सामान निर्यात गर्दाको राजश्व भने हालसम्म सकलन हुन नसकेको निमित्त प्रमुख बिष्टले बताए ।
कोरलानाका खुल्ला भएको डेढ वर्ष बितिसक्दा हालसम्म करिव ३ हजारको हाराहारीमा उपल्लो मुस्ताङका नागरिकले कोरला बोर्डर पास लिएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङले स्थानीय तहको सिफारिसमा तल्लो मुस्ताङका आशिंक नागरिकलाई कोरला प्रस्थान अनुमती पत्र पास वितरण गरिसकेको छ ।
नाकाबाट खाद्यान्न,लत्ता कपडा, ईलक्ट्रोनिक सामान, तिब्बती वास्तुकला सामाग्री, कृषि उपकरण र किराना सामानहरु आयात गर्ने गरेको पाईएको छ । कोरलानाकाबाट अप्रत्यक्ष रुपमा भेडा—च्यांग्रा समेत आयात गर्ने गरेको भएपनि भेडाच्यांग्रा आयातबाट लाग्ने राजश्व सकलन भएको पाईएको छैन ।