मुस्ताङमा आचारसहिंता पालन गर्दै तोरन्ल पर्व मनाउने

आईतबारदेखि मुस्ताङमा सुरु हुने थकालीहरुको सांस्कृतिक तोरन्ल पर्व  निर्वाचन आचारसंिहता उल्लंघन नहुने गरी मर्यादित ढंगले मनाउन सहमति भएको छ ।जिल्ला सुरक्षा समितिको पहलमा स्थानीय सरोकारवालाहरुसंग भएको बैठकमा तोरन्ल पर्वलाई निर्वाचन कार्यक्रममा असर नपुग्ने गरी मनाउन सहमति गरिएको हो । 

मुस्ताङमा थकाली समुदायहरुले तीनदिनसम्म सदिंयौ कालदेखि चल्दै आईरहेको तोरन्ल पर्व हर्षउल्लाषका साथ मनाउने प्रचलन रहेको छ । मुस्ताङका पाँच स्थानीय तह मध्ये थकाली समुदायहरुको बसोबास रहेको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकामा बर्सेनि तोरन्ल पर्व मनाउने प्रचलन रहेको छ ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्मुखमा थकालीहरुको महान पर्व तोरन्ल चाडपर्व परेकाले यसलाई व्यवस्थित रुपमा मनाउन आग्रह गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो । धर्म ,संस्कृति,परम्परा र मौलिकता यसक्षेत्रको जातीय पहिचान भएको भएपनि सम्मुख आईरहेको निर्वाचन कार्यक्रमलाई असर पुग्ने हाकी भनेर आवश्यक सजगता अपनाईएको प्रजिअ शर्माको भनाई छ । धर्म,संस्कृति र मौलिक चाडपर्व नमनाउनु भन्ने कुरा पनि भएन,तर चाडपर्वका नाममा निर्वाचन आचारसहिंता उल्लंघन नहोस भन्ने हाम्रो मान्यता हो,प्रजिअ शर्माले भन्नुभयो,‘ हामीले उहाँको सांस्कृतिक पर्वलाई सम्मान गर्दछौं, तर, पर्व मनाउने क्रममा निर्वाचन बिथोल्ने कुनै अराजक गतिविधि नहोस भन्ने हाम्रो मान्यता हो ।’

 थकालीहरुको तोरन्ल पर्वलाई मर्यादित रुपमा भव्य र सम्भ रुपमा अनौपचारिक ढंगले मनाउन थासाङ र घरपझोङ गाउँपालिका क्षेत्रका सरोकारवाला निकायहरुसंग भद्र सहमति भएको प्रजिअ शर्माले उल्लेख गर्नुभयो ।

 प्रमुख जिल्ला अधिकारी शर्मासहित जिल्ला सुरक्षा समितिको टोलीले थासाङ र घरपझोङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय गाउँसमाजसंग बैठक बसेर तोरन्ल पर्वलाई व्यवस्थित रुपमा मनाउन सहमति भएको हो । यसअघि निर्वाचनका कार्यक्रमलाई स्वतन्त्र,स्वच्छ, निश्पक्ष ,भयरहित  शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसहिंता पालना गर्ने लगायतका बिषयमा जिल्ला स्थित राजनीतिक दल र दलका प्रतिनिधिबिच पनि सहमति भएको थियो । उक्त बैठकमा पनि निर्वाचनको मिति अगावै तोरन्ल पर्व परेकाले त्यसलाई व्यवस्थित गर्ने लगायतका बिषयमा छलफल भईसकेको प्रजिअ शर्माको भनाई छ ।

 बशन्तऋतुको आगमनसंगै मनाईने थकाली समुदायहरुको महानपर्व तोरन्ल तीन दिनसम्म मनाईने गरिन्छ । यस पर्वलाई मुख्य रुपमा पितृ पुजा प्रतिकको रुपमा लिने गरिएको छ । आफ्ना दिवंगत पितृहरुको सम्झना गर्दै पितृहरुको आत्माशान्ति र उद्दारका लागि थकाली संस्कृति र परम्परा अनुसार धार्मिक क्रियाकलाप गरिन्छ ।

फागु पूर्णिमा तिथिको अघिल्लोदिन र पछिल्लो दिन गरी तीन दिनसम्म मनाईने तोरन्ल पर्वमा थकाली समुदायहरुले मध्यरातमा उठेर पितृको सम्झना गर्दै चोखो पानी र खानेकुरा चढाएर पुजाअर्चना गर्ने प्रचलन छ ।

 थकाली तोरन्ल पर्वमा देश विदेशमा रहेका थकालीहरु पर्व मनाउन थातथलो फर्कन्छन् । तोरन्ल पर्वमा छोरी ज्वाई, भान्जा भान्जी लगायत आफन्तहरुलाई बोलाएर स्वागत सत्कारका साथ पर्व मनाउने प्रचलन छ । 

तोरन्ल पर्वमा पुरुषहरुले धनुषवाण (तारा) खेल र महिलाहरुले नाकाभोटे (कौडा) खेल खेलेर आपसमा रमाईलो गर्ने प्रचलन छ ।


प्रतिक्रिया