छोड पूर्जी नहुदा अवैंध काठ बरामद

जोमसोम— छोड पूर्जीको कागजात नहुदा मुस्ताङमा प्रहरीले अवैंध सल्लाको काठ बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले घरपझोङ—४ जोमसोम स्थित पक्की पुल नजिकबाट सोमबार दिउँसो ९६ क्यूफिट अवैंध काठ बरामद गरेको हो ।

अवैंध काठ लिएर कागबेनीतर्फ जाँदै गरेको  बा.प्र.०३—०११ च ०८५५ नम्बरको पिकअप गाडीलाई काठसहित नियन्त्रणमा लिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । बरामद गरिएको अवैंध काठको मुल्य अन्दाजी ५५ हजारको रहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए ।

प्रहरीले अवैंध काठ र जीपसहित चालक  बाग्लुङ नगरपालिका वडा नं. ७ बस्ने ३१ वर्षीय भूमिराज बिश्वकर्मालाई आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोम कार्यालयलाई जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक पाण्डेयले उल्लेख गरे ।

 एक्याप कार्यालय प्रमुख प्रमोदराज रेग्मीले प्रहरीले बरामद गरेको अवैंध काठ कार्यालयलाई प्राप्त भएको जानकारी दिए । उनले बरामद गरिएको अवैंध काठ आवश्यक कारवाहीका लागि एक्यापको प्रधान कार्यालय पोखरामा पठाउने तयारी भईरहेको बताए । उनका अनुसार अनाधिकृत तवरले वा खरिद गरी जिल्ला भित्र र बाहिर आयात निर्यात गरिने काठको सम्वन्धित निकायको छोडपूर्जी आवश्यक पर्ने उल्लेख गरे ।

बरामद गरिएको काठको छोडपुर्जी नभएकाले कारवाही प्रक्रिया अघि बढाईएको कार्यालय प्रमुख रेग्मीको भनाई छ ।


प्रतिक्रिया