मुस्ताङ प्रशासनले भन्यो, ‘‘विपद् पूर्व सतर्कता अपनाऔं’’

जोमसोम ।।

 मनसुन सुरु भईसकेकाले मुस्ताङमा संम्भावित विपद जोखिमका घटनाहरु हुनसक्ने भएकाले यसबाट सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय मुस्ताङले सरोकारवाला तथा स्थानीय नागरिकहरुलाई निर्देशन जारी गरेको छ । पछिल्लो समय बढी मात्रामा वर्षा र जलवायु परिवर्तनले यहाँका मौसमी तापमान वृद्धि गरेकाले यहाँ प्राकृतिक तथा वातावरणीय जोखिम बढेको मुस्ताङ प्रशासनको भनाई छ ।

मुस्ताङमा प्रमुख नदी तथा शाखा नदी खोलाहरुमा समेत बाढी , पहिरो र नदी कटानको जोखिम बढेको मुस्ताङ प्रशासनले बताएको छ । यहाँ वर्षा हुँने पूर्व अनुमान गरिएको अवस्थामा नदी किनारामा बसोबास गर्ने आम नागरिकले आवश्यक सचेतना अपनाउन हुन र यसप्रकारका खतराको संकेत देखिएमा तत्काल आ—आफ्नो सम्वन्धित स्थानीय तह नजिकको सुरक्षा निकाय ,जिल्ला प्रहरी कार्यालय र मुस्ताङ प्रशासनलाई सूचना  दिन मुस्ताङ प्रशासनले निर्देशन जारी गरेको हो ।  

मुस्ताङ प्रशासनले भईपरी आउने विपद्जन्य घटनाबाट जोगिन सुरक्षित स्थानमा आश्रय लिन समेत स्थानीय नागरिकहरुलाई सुझाएको छ। यसका अतिरिक्त बाढी ,पहिरो र नदी कटानको जोखिम देखिएमा सम्वन्धित निकायमा सूचना प्रवाह गर्न अनुरोध गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी मुस्ताङ जिल्लाका स्थानीय नागरिकहरलाई विपद जोखिमको सम्भावना रहेकाले यसप्रकारको सूचना प्रकाशित गरेको हो ।

   मनसुन सुरु भएसगै आईतबार मुस्ताङको थासाङ गाउँपालिका—२ ल्याङ्क्यु खोलामा बाढी आउँदा त्यहाँको लार्जुङ गाउँ बस्ती जोखिममा परेको थियो । त्यहाँ स्थनीय प्रशासनको सहयोगमा डोजर परिचालन गरी बाढीलाई नियन्त्रणमा लिईएको थियो ।  दुई वर्ष अघि मुस्ताङको कागबेनीमा भिषण बाढी आउँदा त्यहाँको भौतिक संरचना र करोडौंका धनमाल क्षति भएको थियो । कालिण्डकी नदीको बाहव उच्च हुँदा यहाँका एक दर्जन बढी तटीय वस्ती नदी कटानको जोखिममा छन् ।


विपद् प्रतिकार्यका लागि सम्पर्क नम्बर ः

१. जिल्ला प्रशासन कार्यालय ः ९८५७६३७७७७

२. विपद् फोकल पर्सन ः  ९८५७६५०१३३ (सहायक प्रजिअ)

३. जिल्ला प्रहरी कार्यालय ः ९८५७६३५५५५ (डिएसपी)

४. विपद् फोकल पर्सन ः  ९८५७६५०३९९ (ईन्सपेक्टर)



प्रतिक्रिया