जोमसोम ।
यहाँको पाँच स्थानीय तह मध्ये चार स्थानीय तहका ४३ जनाले जिल्ला निर्वाचन कार्यालय मुस्ताङमा पुगेर मतदाता नामावली दर्ता गराएका छन् । आगामी २१ फागुनमा हुने घोषित प्रतिनिधि सभा निर्वाचनका लागि कार्तिक १० गतेदेखि ३० गतेसम्म नयाँ मतदाता नामावली दर्ता कार्य तोकिएको छ ।
मुस्ताङमा कार्तिक १० गतेदेखि कार्तिक १८ गतेसम्ममा नेपाली नागरिकता प्राप्त गरेका र मतदाता नामावलीमा नाम दर्ता नभएका ४३ जनाको मतदाता नामावली दर्ता कार्य भएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका सूचना अधिकारी लक्ष्मी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता नामावली दर्ता भएका मध्ये २५ जना पुरुष र १८ जना महिला रहेका छन् ।
मतदाता नामावली दर्ताका लागि आठ दिनको अवधिमा थासाङ गाउँपालिकाबाट ११ जना, घरपझोङ गाउँपालिकाबाट २७ जना ,वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट ४ जना र लोघेकर दामोदरकुण्ड गाउपालिकाबाट १ जनाले मतदाता नामावली दर्ताका लागि अनलाईन आवेदनसहित फोटो र बायोमेट्रिक विवरण पेश गरेका जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ । तर उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाबाट कसैले पनि मतदाता नामावली दर्ताका लागि बायोमेट्रिक विवरण पेश गर्न नआएको कार्यालयका सूचना अधिकारी लक्ष्मी अधिकारीले बताउँनुभयो । प्रतिकुल मौसमका कारण जोमसोम —कोरला सडकमार्ग बाढी पहिरोका कारण अवरुद्ध भएका कारण नयाँ मतदाताहरु नामावली दर्ता गर्न आउन नसकेको कार्यालयले जनाएको छ ।
यसैगरी जिल्ला बाहिरका ७ जनाले अनलाईन आवेदनसहित मतदाता नामावलीमा नाम दर्ता गर्न बायोमेट्रिक गर्न आएका छन् । जसमा ५ जना पुरुष र २ जना महिला रहेका जनाईएको छ । धादिङ र ईलामका एकएक जना गरी दुई जनाले ठाउँ सारी गरी मुस्ताङमै मतदान गर्न मतदाता नामावली दर्ता गराएका छन् । यसैगरी यहाँको मतदाता नामावलीमा नाम उल्लेख भएका चार जना मतदाताले आन्तरिक स्थान परिवर्तन गरेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय मुस्ताङमा नेपाली नागरिकता प्राप्त गरेका तथा मतदाता नामावलीमा नाम दर्ता नभएकाहरुलाई अनलाईन मतदाता नामावली तथा बायोमेट्रिक विवरणका लागि आउन जिल्लाका पाँचै वटा स्थानीय तहलाई सूचना प्रकाशित गरी सहजीकरण गर्न पत्राचार गरेको कार्यालयका सूचना अधिकारी लक्ष्मी अधिकारीले बताउँनुभयो । आयोगको निर्देशन बमोजिम नयाँ मतदाता नामावली विवरण तथा बायोमेट्रिक गर्ने अवधि केहीदिन मात्रै बाँकी रहेकाले बढी भन्दा बढी नागरिकहरुलाई मतदाता नामावली दर्ता गर्न आह्वान गरिएको हो ।
यसअघि मुस्ताङमा ७१ जना मतदाता थपिएको जनाईएको छ । २०७९ मंसिंर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनपछि उक्त मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ । २०७९ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा यहाँ दश हजार ९५७ जना मतदाता रहेका थिए ।त्यसपछिको कार्तिक महिना अघि एघार हजार २८ जना मतदाता पुगेका छन् ।
२०७९ को निर्वाचनमा घरपझोङमा दुई हजार ३१४ जना,थासाङमा दुई हजार ८१७ जना, लोघेकरमा एक हजार ५३३ जना, वारागुङ मुक्तिक्षेत्रमा दुई हजार २८५ जना र लोमान्थाङ गाउँपालिकामा दुई हजार ८ जना मतदाता रहेका थिए ।
२० कार्तिक २०८२, बिहिबार ०६:१४ मा प्रकाशित
970
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली