लिफ्टिङ सिंचाईबाट १८ घरधुरी लाभान्वित

जोमसोम ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र —४ तिरी गाउँमा लिफ्टिङ सिचाई प्रणाली सुरु गरिएको छ । सिंचाई अभावमा स्याउ,उवा,फापर उत्पादन गर्ने खेतबारी बाँझो रहन थालेपछि त्यहाँ लिफ्टिङ सिंचाई प्रणाली अपनाईएको हो ।

  खानेपानी जलश्रोत तथा सिंचाई सवडिभिजन कार्यालय मुस्ताङले २० लाख बजेट खर्च गरेपछि मुस्ताङको तिरी गाउँमा लिफ्टिङ सिंचाई योजनाबाट खेतबारी सिञ्चित गरिएको हो ।

स्थानीय तिरी गाउँ उपभोक्ता समितिको विशेष सक्रियतामा तिरी लिफ्टिङ सिचाई योजना सम्पन्न भएको खानेपानी जलश्रोत तथा सिचाई सवडिभिजन कार्यालय मुस्ताङका प्रमुख संञ्जय कोईरालाले जानकारी दिनुभयो । त्यहाँको गाउँमा जलवायु संकटले सिचाई श्रोत नहुँदा वस्ती विस्थापित हुने अवस्था आएपछि कार्यालयद्वारा कालिगण्डकी नदीको पानीलाई लिफ्टिङ गरी सिंचाईको पहुँच पु¥याउन सफल भएको कार्यालय प्रमुख कोईरालाले बताउँनुभयो ।

कृषि र पशुपालन हिसाबले निकै उर्वरी भूमी रहेको त्यहाँको तिरी गाउँमा सिचाई सुविधाको अभाव हुँदा त्यहाँका कृषकहरु निकै ठुलो समस्यामा पर्दैआईरहेका थिए । त्यहाको खेतीयोग्य जग्गालाई सिञ्चित गराउन कालिगण्डकी नदीको छेउमा सम्पवेल निर्माण गरी पाईपलाईन मार्फत लिफ्टिङ प्रणाली सुरु गरेको कार्यालय प्रमुख कोईरालाले बताउँनुभयो । उहाँका अनुसार त्यहाँ ६३ एमएमको ५७० मिटर लामो जिआई र पोलिथिन पाईपलाईनद्वारा तिरी गाउँ माथिको सिंचाई पोखरीमा भण्डारण हुँने गरी कालिगण्डकी नदीको पानीलाई लिफ्टिङ गरिएको हो । यसका लागि कालिगण्डकी नदीको पानीलाई लिफ्टिङ गर्न कालिगण्डकी नदी छेउ पम्म हाँउस निर्माण गरिएको छ । त्यहाँ प्रतिसेकेन्ड तीन लिटर पानी झर्ने गरी कालिण्डकीको पानी गाउँ माथि लिफ्टिङ गर्ने कार्य सम्पन्न भएको कार्यालय प्रमुख कोईरालाले जनाउँनुभयो ।

कालिगण्डकी नदीको पानी सिंचाईका लागि लिफ्टिङ भएपछि तिरी गाउँका स्थानीय कृषकहरुमा खुसीयाली छाएको छ । कालिगण्डकी नदीको पानी सिंचाईको सुविधा पु¥याउन लिफ्टिङ भएसंगै तिरी गाउँका १८ घरधुरीका कृषकहरु प्रत्यक्ष लाभान्वित भएको तिरी लिफ्टिङ सिंचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष स्थानीय सानो कान्छा गुरुङले जानकारी दिनुभयो ।

‘‘ जिल्लाकै समग्रतामा हेर्दा यो कृषि क्षेत्रको रुपमा महत्वपूर्ण हबको रुपमा थियो, पछिल्लो समय यहाँ जलवायु परिवर्तनका कारण सिंचाई मुहान सक्दै जान थालेको छ,’ उपभोक्ता समिति अध्यक्ष गुरुङले भन्नुभयो,‘ प्रदेश सरकारको आर्थिक सहयोगबाट गरिएको लिफ्टिङ सिंचाई प्रणालीले यहाँको पाँच सय रोपनी जग्गालाई सिंचाई पु¥याउन सकिने भएको छ ,यसले यहाँका स्थानीय कृषकलाई कृषि क्षेत्रमा जिविकोपार्जनका लागि ठुलो टेवा पुग्नेछ ।’’ स्थानीय गुरुङले जोमसोम र कागबेनी नजिकै भएर पनि यहाँको तिरी गाउँ विकासका हिसाबले निकै पछाडी परेको दुःखेसो सुनाउँनुभयो । यहाँ कालिगण्डकी नदीमा पुल र कृषि सडकको विकास गर्न सरकारले चाँसो दिनुपर्ने सुझाउँनुभयो ।

यसैगरी वारागुङ—४ का स्थानीय कृषक न्हर्बु गुरुङले यहाँका किसानको मुख्य आम्दानीको स्रोत भनेकै कृषि व्यवसाय भएको बताउँनुभयो । बर्सेनि हिउँदयाम हिउँको भर र बर्खायाममा आकासे पानीको भर पर्नु भएकाले यहाँको कृषकलाई निकै ठुलो सिंचाईको समस्या परेको उहाँले उल्लेख गर्नुभयो । प्रदेश सरकारको बजेटमा ढिलै भएपनि यहाँ लिफ्टिङ सिंचाईको पहुँच स्थापित गरिएकाले हामीलाई निकै खुसी तुल्याएको स्थानीय गुरुङको भनाई छ । 

यसअघि मुस्ताङको तिरी गाउँमा करिव तीन दर्जन बढी वस्ती थियो । सिचाईका लागि पानीको अभाव हुन थालेपछि एक दर्जन भन्दा बढी वस्ती अन्यत्र विस्थापित भईसकेका छन् । गाउँमा कालिगण्डकी पानीलाई लिफ्टिङ गरी सिंचाईको सुविधा दिलाईएकाले तिरी गाउँको वस्ती विस्थापित हुन समस्यालाई समाधानको बाटोतर्फ उन्मुख गरेको स्थानीयबासी बताउँछन् ।


प्रतिक्रिया