रसुवागढी नाका बन्द हुँदा मालवस्तु कन्टेनर कोरलानाकातर्फ ‘डाईभर्ट’

 नेपाल—चीनबीचको (रसुवागढी—केरुङ) नाका तिब्बतबाट आएको विनासकारी बाढीका कारण पूर्ण रुपमा क्षति भएसंगै मुस्ताङको उत्तरी कोरलानाका एकमात्रै वैकल्पिक नाका रुपमा प्रस्तुत भएको छ । बाढीका कारण रसुवागढी भन्सार संरचना पूर्ण रुपमा क्षति भएपछि सरकारले (नेपाल—चीन) उत्तरी कोरलानाकालाई विकल्पको रुपमा प्रयोग गर्न अनुरोध गरिसकेको छ ।

  गदौ १० भदौको बिहान रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीले रसुवागढी भन्सार लगायत सडक संरचना र ठुलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको थियो । यसैगरी बाढी पहिरोका कारण गत असारको अन्तिम सातादेखि सिन्धुपाल्चोकको तातोपानी नाका पनि पूर्ण रुपमा बन्द छ । रसुवागढी र तातोपानी नाका पूर्ण रुपमा बन्द हुँदा (नेपाल—चीन) निकासी तथा पैठारीको मार्ग मुस्ताङको कोरलानाका एक मात्र तत्कालको विकल्प बनेको हो ।

रसुवाको भोटेकोशीमा आएको बाढी वितण्डाका कारण (रसुवागढी—केरुङ )नाका पूर्ण रुपमा बन्द हुँदा मुस्ताङको कोरलानाका चम्किने निश्चित भएको छ । सरकारले रसुवागढी नाकाको विकल्पमा कोरलानाका प्रयोग गर्न सुझाईएपछि रसुवागढी—केरुङ तर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनरहरु धमाधम मुस्ताङको कोरलानाकातर्फ डाईभर्ट हुन थालेका छन् । मुस्ताङको जोमसोम स्थित सशस्त्र प्रहरीको चेकपोष्टबाट आईतबार साँझ बजे एकैदिन ६६ वटा मालवाहक कन्टेनरहरु को विवरण संकलन गरिएको छ । सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढी नाका पूर्ण रुपमा बन्द भएपछि कोरलानाकातर्फ मालवस्तु पैठारी गर्ने कन्टेनरको संख्या अप्रत्याशित रुपमा वृद्धि भईरहेको जनाएको छ । चेकपोष्टका अनुसार कन्टेनर चालकहरुले दिएको जानकारी अनुसार आईतबार राति १० बजेसम्म करिव सय भन्दा बढी कन्टेनरहरु जोमसोमबाट कोरलातर्फ उक्लिने आँकलन गरिएको बताएको छ । कोरलानाकातर्फ जाँदै गर्नुभएका कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढी नाकाबाट पैठारी गरिने मालवस्तुहरु कोरलानाकातर्फ डाईभर्ट भएकाले डाईभर्ट गरिएका मालवस्तु ढुवानी गर्न कोरलातर्फ जाँदै गरेको बताउँनुभयो ।‘रसुवागढी र तातोपानी नाका पूर्ण रुपमा बन्द भएकाले रसुवागढीबाट आयात गरिने मालवस्तुहरु कोरलानाकातर्फ डाईभर्ट भईरहेको कन्टेनर चालक देवकोटाको भनाई छ ।

 सरकारले विस २०८२ साल भदौ ३१ गते मुस्ताङको उत्तरी कोरलानाकालाई वैकल्पिक नाका रुपमा सञ्चालनमा ल्याएको थियो । त्यसअघि नेपाल—चीन उत्तरी कोरलानाका उपल्लो मुस्ताङको दुई गाउँपालिकाका नागरिकहरुलाई सीमित रहेको थियो । बर्सेनि असार र भदौ महिनामा अल्पकालिन ब्यापार मेलाको रुपमा चलेको कोरलानाकालाई विस २०८० साल कार्तिक २७ गते उपल्लो मुस्ताङका सीमावर्ती नागरिकहरुलाई लक्षित गरी बाह्रै महिना खुल्ला गरिएको थियो ।

 कोरलानाकालाई वैकल्पिक नाका रुपमा सरकारले सञ्चालनमा ल्याएपछि कोरला स्थित मुस्ताङ भन्सार कार्यालय आव २०८२÷०८३ मा छ अर्ब ९२ करोड रुपैया राजश्व संकलन गरेको थियो । यसैगरी चाल आवको पहिलो साउन महिनामा २९ करोड रुपैया राजश्व संकलन गरेको थियो । तातोपानी र रसुवागढी नाका सञ्चालनमा रहँदा यहाँको कोरलानाकामा दैनिक ५÷१० वटा मात्रै मालवस्तु कन्टेनरहरु पुग्थे । तर, तातोपानी र रसुवागढी नाका बन्द हुँदा नेपाल—चीन कोरलानाकाबाट दैनिक सय भन्द बढी कन्टेनरहरुबाट निकासी पैठारी कारोबार हुने अनुमान गरिएको छ ।

 रसुवागढी नाका पूर्ण रुपमा बन्द भएसंगै मुस्ताङको कोरलानाका स्थित मुस्ताङ भन्सार कार्यालयको सेवा फराकिलो हुने देखिएको छ । मुस्ताङ भन्सार कार्यालयमा हाल १८ जनाको दरबन्दी रहेपछि १२ जना मात्रै कर्मचारीहर कार्यरत रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो । तातोपानी नाका र रसुवागढी नाका बाढीका कारण पूर्ण रुपमा ठप्प भईसकेकाले मुस्ताङ भन्सारको हालको जनशक्ति र पूर्वाधारले भार थेग्न मुश्किल पर्ने उल्लेख गर्नुभयो ।

 भन्सार प्रमुख चुडाल अहिले काठमान्डौमा पुग्नुभएको छ । तातोपानी र रसुवागढी नाका बन्द भएको अवस्थामा मुस्ताङ भन्सार एक मात्रै विकल्प भएको र सोका लागि आवश्यक जनशक्ति व्यवस्थापन तथा भन्सार कार्यालयको हालको पूर्वाधारलाई थप स्तरोन्नति तत्काल गर्नुपर्ने देखिएकाले आफु कुराको अनुरोध गर्न काठमान्डौ पुगेको बताउँनुभयो । मुस्ताङ भन्सारमा जनशक्ति र पूर्वाधारको समस्या छ ,यहाँ बाह्रै महिना कर्मचारी बसेर काम गर्न वातावरणमैत्री पूर्वाधार आवश्यक छ, यो कुरा मन्त्रालय र भन्सार विभागमा राख्नेछु,’ भन्सार प्रमुख चुडालले भन्नुभयो, यहाँको सबै कुराको सरकारलाई अवगतनै छ, यो विषयमा म त्यती धेरै चिन्तित छैन ।’’

 भन्सार प्रमुख चुडालले रसुवागढी नाका विनाशकारी बाढीले ध्वंस्त भईसकेकाले कोरलानाकाबाट हुने निकासी तथा पैठारीले नयाँ किर्तिमानी रेकर्ड दर्ज गर्ने बताउँनुभयो । नेपाल—चीन बीच हुने निकासी तथा पैठारी गर्ने उपयुक्त मार्ग कोरलानाका भएकाले मुस्ताङ भन्सार कार्यालयमा तत्काल जनशक्ति व्यवस्थापन ,पूर्वाधार र सडकमार्गहरुलाई थप सवलीकरण गर्दै लैजानु पर्ने उल्लेख गर्नुभयो ।

 सरकारले नेपाल—चीन उत्तरी कोरलानाका स्थित दशगजा क्षेत्रको दाँया र बाँया एकिकृत भन्सार,सुख्खा बन्दरगाह,क्वारेन्टाईन, र एकिकृत सुरक्षा पोष्ट लगायतका पूर्वाधार निर्माण गर्ने उद्देश्यले हजार रोपनी जग्गा सरकारको नाममा लिईसकेको छ । कोरलानाकामा पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवदेन (डीपीआर) सर्वे समेत गरिएको भएपनि हालसम्म कोरलानाकामा पूर्वाधार बन्न सकेको छैन । नेपाल—चीन कोरलानाकाको दक्षिणतर्फको १४ किमी यता मुस्ताङ भन्सार कार्यालय,बिओपी र प्रहरी चौकी छ ।

 मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले तत्कालका लागि कोरलानाका मात्रै चिनबाट निकासी तथा पैठारी मार्ग भएकाले जतिसक्दो कोरलानाकामा भन्सार लगायतका संरचना निर्माण र कोरला सडकलाई सहज बनाउनु पर्ने आवश्यकता रहेको औल्याउनु भयो । रसुवागढी नाका पूर्ण रुपमा ध्वंस्त भईसकेको र तातोपानी नाका पनि बन्द भएकाले अब उपयुक्त मार्ग कोरलानाकानै भएको उहाँको भनाई छ । तातोपानी नाका सूचारु भएको अवस्थामा पनि कोरलानाकाबाट (६०—४०)को अनुपातमा निकासी पैठारी हुने भन्सार प्रमुख चुडालले बताउँनुभयो ।

प्रतिक्रिया