घरपझोङ बसपार्क सञ्चालकलाई पालिकाको सेवा सुविधामा रोक

जोमसोम—  मुस्ताङमा बसपार्क सञ्चालन गर्ने एक सञ्चालक विरुद्ध सरकारी सेवा सुविधा लिन नपाउने गरी जिल्लाका सबै सरकारी कार्यालयमा परिपत्र जारी गरिएको छ । 

मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. ३ र ४ मा अवस्थित दुई वटा सवारी व्यवस्थापन गर्ने बसपार्क संञ्चालनको ठेक्का लिएर बिचैमा छोड्ने र ठेक्का सम्झौताको शर्त वापतको असुर उपर गर्नुपर्ने रकम समेत पुरै भुक्तानी नगरेको भन्दै मुस्ताङको घरपझोङ—४ जोमसोमका स्थानीय सुरेश शेरचन विरुद्ध घरपझोङ गाउँपालिका कार्यालयले घरपझोङ गाउँपालिका तथा ५ वटै वडा कार्यालयहरुबाट सरकारी सेवा सुविधा लिन नपाउने गरी प्रारम्भिक चरणको कारवाही प्रक्रिया अघि बढाएको हा । गाउँपालिकाको  गत ६ चैतमा बसेको ४१ औं बैठकको निर्णय ८ अनुसार उक्त कारवाहीको प्रक्रिया अघि बढाएको हो ।

सञ्चालन शेरचनले मुस्ताङको घरपझोङ गाउँपालिकामा रहेको २ वटा बसपार्कको ठेक्का सम्झौता गरेका स्थानीय सुरेश शेरचनले घरपझोङ गाउँपालिकालाई बुझाउनु पर्ने रकमको धरौटी कट्टा गरेर  ४ लाख ३५ हजार ९३८ रुपैया रकम पटक पटक पत्राचार मार्फत तोकता गर्दा समेत हालसम्म बाँकी बक्यौता रकम नबुझाएको र उक्त रकम गाउँपालिकालाई असुल उपर नभएसम्म बसपार्क ठेक्का लिएका शेरचनलाई गाउँपालिका,वडा कार्यालय लगायत सबै सरकारी कार्यालयबाट हुने सिफारिस, अनुदान लगायतका सबै किसिमका सरकारी सेवा लिन नपाउने गरी घरपझोङ गाउँपालिकाले आईतबारको कार्यपालिका बैठकबाट निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो ।

 गाउँपालिका प्रथम पक्षले लगाएको बसपार्क ठेक्का रद्द भईसकेकाले नयाँ ठेक्का लगाउने गरी गृहकार्य भईरहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउँनुभयो । ‘पुरानो बसपार्क ठेक्का भंग भएको र नयाँ ठेक्का लगाउने तयारी हुँदैछ,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने,‘ बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० लाई सशोधन गरी नयाँ कार्यविधि २०८१ जारी भईसकेको छ ।‘ गाउँपालिकाको आन्तरिक राजश्व वृद्धि गर्ने र मुस्ताङ सदरमुकाम जोमसोमलाई व्यवस्थित रुपमा सवारी पार्किङ गर्ने गरी मुकामको सौन्दर्र्यता जोगाउन गाउँपालिका प्रतिवद्ध रहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाई छ ।

घरपझोङ गाउँपालिका अन्तर्गत रहेका दई वटा बसपार्क सञ्चालन तथा व्यवस्थापनका लागि घरपझोङ गाउँपालिकाले गतवर्ष शिलबन्द दरभाउ पत्रको सूचना प्रकाशित गरेको थियो । प्रकाशित सूचना अनुसार मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोमका स्थानीय सुरेश शेरचनले वार्षिक २० लाख २५ हजार भाडा  गाउँपालिकालाई बुझाउने शर्त बमोजिम बसपार्क सञ्चालन तथा व्यवस्थापन गर्ने गरी ठेक्का सम्झौता गरेका थिए । गाउँपालिकाले घरपझोङ बसपार्क सञ्चालन तथा व्यवस्थापन सम्वन्धि कार्यविधि २०८० अनुसार २०८० साल चैत १५ गते बसपार्क सञ्चालन तथा व्यवस्थापनको ठेक्का लगाईएको थियो ।

 गाउँपालिका प्रथम पक्षसंग बसपार्क ठेक्का लिएका दोश्रो पक्ष स्थानीय शेरचनले ठेक्का सम्झौताका शर्त र प्रावधान अनुसार सुरुआती ३ महिनाको अंग्रिम भाडा धरौटी ५ लाख ५ हजार २२५ रुपैया र सम्झौता अवधि २ वर्षको भाडाको ५ प्रतिशत हुन आउने रकम २ लाख २ हजार ५ सय समेत गरी कुल ७ लाख ८ हजार ७५० रुपैया गाउँपालिकालाई बुुझाएका थिए ।

 गाउँपालिका प्रथम पक्ष र बसपार्कका ठेकेदार दोश्रो पक्षबिच घरपझोङका दुई बसपार्कको सञ्चालन तथा व्यवस्थापन गर्ने, बसपार्क सञ्चालनका लागि गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने उल्लेख गरिएको थियो । यसै प्रयोजनार्थ गाउँपालिकाले दुईपार्कको थप स्तरोन्नति, बिद्युत,ईन्टरनेट खानेपानी,टिकट बुकिङ क्वान्टर ,बसपार्क गेट निर्माणसहित बसपार्क क्षेत्रमा सिसी क्यामेरा जडान गरेको थियो । गाउँपालिकाले बसपार्क चलाउन स्थानीय प्रशासन ,सुरक्षाकर्मी लगायत सबै सरोकारवालाहरुसंग चरणवद्ध छलफल गरेको थियो । गाउँपालिकाले बसपार्क व्यवस्थापनका लागि तीन जना पालिका प्रहरी समेत करारमा नियुक्ति गरेको थियो ।

 तर गाउँपालिकाले बसपार्क सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक भौतिक सरचना निर्माण गरिदिएको भएपनि बसपार्क कार्यान्वयन गर्नमा बसपार्क ठेक्का लिएका स्थानीय शेरचन असफल बने । स्थानीय शेरचनले बसपार्क सञ्चालन तथा व्यवस्थापन गर्न गाउँपालिका,प्रशासन र सुरक्षा निकाय लगायतले असहयोग गरेको भन्दै दुई वर्षको बसपार्क ठेक्का एकपक्षिय रुपमा ठेक्का भंग गरेको पत्र गाउँपालिकामा पठाएका थिए।

 गतवर्षको १५ चैत्रमा कार्यान्वयन गर्ने बसपार्क ठेक्का लिएका शेरचनले बसपार्क सञ्चालन गर्नेतर्फ ध्यान नदिएको र बसपार्कको भाडा क्रमशः बुझाउँदै जानुपर्नेमा नबुझाएको भन्दै बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० अनुसार गाउ कार्यपालिकाको बैठकले एकपक्षिय रुपमा दोश्रो पक्ष शेरचनसंग २०८१ असोज २१ गते ठेक्का सम्झौता भंग गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया