उपल्लो मुस्ताङमा चिसो बढ्यो, नदी,कुलो र खानेपानी धारा जम्यो



जोमसोम—उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको उपल्लो मुस्ताङमा चिसो ह्वात्तै बढेको छ । हिउँदयामको अत्यधिक चिसो बढेसँगै उपल्लो मुस्ताङको जनजिवन समेत प्रभावित बन्दै जान थालेको छ ।

 उपल्लो मुस्ताङमा दिउँसोको समय घाम लाग्दा केही न्यानो महशुस भएपनि बिहान र बेलुकीपख अत्यधिक चिसो छाउँने गरेको लोमान्थाङ गाउँपालिकाका सबईन्जिनीयर उदय घिमिरेले जानकारी दिए । सवईन्जिनीयर घिमिरेका अनुसार उपल्लो मुस्ताङमा बिहान र बेलुकीपखको समयमा तापक्रम माईनस २० डिग्रीसम्म पुग्ने गरेको बताए । उपल्लो मुस्ताङमा चिसो अत्यधिक रुपमा वृद्धि भईरहेकाले स्थानीय नागरिकहरुको दैनिकी समेत प्रभावित बन्दै जान थालेको सवईन्जिनीयर घिमिरेको भनाई छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अत्यधिक चिसोका कारण शाखा नदी,सिचाई कुलो ,खानेपानी धारा र घरका सेफ्टी ट्याङकी बरफ बनेर जम्ने गरेको छ । चिसोले शाखा नदी बरफ बनेर जम्न थालेपछि  स्थानीय नागरिकको दैनिक जिवनमा प्रतिकुल असर पुगेको छ । शाखा नदी जमेपछि उपल्लो मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई समस्या उत्पन्न हुने गरेको छ । सिचाई कुलो जमेकाले नागरिकको खेतीयोग्य जमिनलाई सिञ्चित गर्नमा अप्ठ्यारो परेको छ । उपल्लो मुस्ताङमा घरका धारा र शौचालय जान सेफ्टी ट्याङकीनै जमेर बसेकाले समेत स्थानीय जनजिवन कष्ठप्रद बनेको हो ।

 उपल्लो मुस्ताङमा चिसोले पानीका श्रोतहरु बरफ बनेर जम्न थालेपछि दैनिक खानपान पकाउन र पशु आहाराका लागि कुडो पकाउन समेत पानीको समस्या देखिएको हो । अहिले उपल्लो मुस्ताङमा घर र पशुचौपाया रेखदेखका लागि कुरुवा भएर बसेकाले शाखा नदी र सिचाई कुलो बरफलाई तताएर खाने र पशुलाई दिने गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ चराङका वडाध्यक्ष टै ढिन्डुक ठकुरीले जानकारी दिए । हिउँदयामको चिसोले उपल्लो मुस्ताङमा पानी श्रोत सबै बरफ जमेर ठप्प रोकिएको छ । बर्खायाममा निरन्तर बग्ने शाखा नदी र सिचाई कुलो सबै सेताम्मे बरफ जमेर बसेकाले नदीको वाहव चल्न छाडेको वडाध्यक्ष ठकुरीको भनाई छ ।

जलवायु परिवर्तनका कारण यसवर्ष हिउँदयाम सुरु भईसक्दा समेत हिउँ परेको छैन । तथापी अत्यधिक मात्रामा चिसो बढिसकेकाले त्यहाँका नागरिकलाई दैनिक जिवन यापनमा निकै समस्या र चुनौती सृजना भएको छ । केहीवर्ष अघि उपल्लो मुस्ताङमा कार्तिक महिनामै हिउँ पथ्र्यो । यसपालि पुस लाग्दा समेत हिउँ पर्ने छनक देखिएको छ । अनुकुल मौसममा हिउँ नपर्ने हो भने स्थानीय किसानको स्याउ लगायतका अन्नबालीमा असर पुग्ने निश्चितनै छ ।पछिल्लो समयमा हिमाली जिल्ला मुस्ताङमा  जलवायु परिवर्तनको असरका कारण कुनै वर्ष अत्यधिक हिमपात हुने ,कुनैवर्ष आशिंक हिमपात हुने र कुनैवर्ष हिउँनै नपर्ने प्राकृतिक संकेतका असरहरु देखिने थालेका हुन् । हिउँदयामको अनुकुल समयमा पर्ने हिउँ किसानका लागि बरदान सावित हुन्छ । हिउँले किसानको खेतबारीले सिञ्चित गर्ने र खेतीयोग्य जमिनको भित्री तहसम्म रिचार्ज गर्न मद्यत पुग्ने भएकाले हिउँयामको हिउँ किसानका लागि बरदान सावित हुने गरेको कृषि विज्ञहरु बताउँछन् । हिउँदयामको अनुकुल हिउँले किसानले उत्पादन गर्ने अन्नबाली तथा फलफूलहरुमा लाग्ने रोगकिराहरुको संक्रमण जोखिमलाई न्यूनिकरण गर्न अर्गानिक विषादीको रुपमा काम लाग्ने गर्छ ।

 २०७५ सालमा उपल्लो मुस्ताङमा भारी हिमपात हुँदा त्यहाँका पशुकिसानको ठुलोसंख्यामा याकचौरीहरु खर्कमा पुरिएर क्षति तुल्याएको थियो । पछिल्लो समय हिउँदयामको मौसममा समेत हिउँ नपर्दा हिमालहरु कालापत्थरको रुपमा देखिन थालेको छ । हिउँदयाममा छपक्कै हिउँले ढाकिने पहाडहरु हिउँ नपर्दा फुस्रा र नांगा देखिएका छन् । जोमसोमबाट देखिने निलगिरी र धौलागिरी हिमालको चमक हिउँ नपर्दा आर्कषक देखिन  छाडेको छ । मुस्ताङमा पुस र माघ महिनामा हिउँ पर्ने महिनाको रुपमा लिने गरिएको छ । हिउँले शीतोष्ण फलफूल तथा तरकारीहरुमा परागसेचन अर्थात पोलिनेशन भई उत्पादनदर वृद्धि हुने भनाई छ ।

 हिउँदयामको मौसमसँगै उपल्लो मुस्ताङका दुईपालिका नागरिकविहिनको अवस्थामा रहेको छ । अत्यधिक चिसो बढेसंगै त्यहाँका स्थानीय नागरिकहरु मंसिर अगावै जाडो छल्न बेसी झरिसकेका छन् । उपल्लो मुस्ताङको लोमान्थाङमा प्राय घरधुरीहरुमा ताल्चा मारिएको छ । होटलहरु समेत लगभग पुरै बन्द अवस्थामा रहेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केसीले जानकारी दिए ।  लोमान्थाङमा घरकुरुवा ,वृद्धवृद्धा र पशु रेखदेख गर्ने गोठाला गरी १५÷२० जना बाहेक अरु बाँकी सबे जाडो छल्न बेसी झरिसकेको प्रशासन प्रमुख केसीले उल्लेख गरे । त्यसो त उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका प्राय गाउँ वस्ती चिसोका कारण नागरिकविहिनको अवस्थामा रहेको छ । गाउका नागरिक सबै बेसी झरिसकेकाले उपल्लो मुस्ताङका सबै गाउँ र वडाहरु गुमनाम जस्तै छ । उपल्लो मुस्ताङमा चिसो बढेसँगै कोरलानाकामा स्थानीय ब्यापारीको उपस्थिती समेत निकैनै कम छ । चिसोले नाकामा पर्यटक तथा सर्वसाधारण जान छोडेपछि नाका छेउ ब्यापार गर्ने र सीमापारी पुगेर सामान आयात गर्ने उपल्लो मुस्ताङीको उपस्थिती पातलिदै जान थालेको हो । 

 उपल्लो मुस्ताङको सडकमार्ग र खोल्सा खोल्सीमा पानी जमेर बरफ बनेकाले यातायातका साधनलाई आवतजावतमा समस्या छ । त्यसो त उपल्लो मुस्ताङमा मात्रै होईन तल्लो मुस्ताङमा समेत चिसो ह्वात्तै बढेको छ । तल्लो मुस्ताङमा बिहान र बेलुकीपखको समयमा तापक्रम माईनस १० डिग्री माथि छ । तल्लो मुस्ताङमा चिसो सिरेटोसँगै उन्मादको हावाहुरीले पर्यटक तथा स्थानीय नागरिकहरुको दैनिकीमा समेत असर पु¥याएको छ । शीतोष्ण वागवानी विकास केन्द्र मार्फाका निमित्त कार्यालय प्रमुख पद्यनाथ आत्रेय हिउँदयामसँगै तल्लो मुस्ताङमा पनि चिसो बढेर समस्या निम्त्याएको उल्लेख गरे । अत्यधिक चिसोका कारण शाखा नदी र सिचाईको श्रोत समेत बरफ बनेर जमेकाले खेतवारी सिञ्चत गर्नमा समस्या उत्पन्न गराएको बताए ।


फोटो क्याप्सन ः

 अत्यधिक चिसोका कारण उपल्लो मुस्ताङमा शाखा नदी,सिंचाई कुलो र खानेपानी धारा बरफ बनेर जमेका छन् । चिसोले नागरिकको दैनिक जिवनमा समेत असर पुगेको छ ।



प्रतिक्रिया