छुसाङ र तेताङको बिवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—३ स्थित (छुसाङ—तेताङ) गाउँबीच बढ्दै गईरहेको प्राकृतिक स्रोत तथा चरिचरन उपभोग सम्वन्धि विवाद पाँच बुँदे सहमतिमा मेलमिलाप गरिएको छ । यहाँको छुसाङ र तेताङ गाउँबीच स्हुक्चेङिन वन क्षेत्रको सीमा,चरिचरन र वन पैदावर लगायतको प्राकृतिक स्रोत साधन उपभोग सम्वन्धि विवाद वारागुङ मुक्तिक्षेत्रको न्यायिक समिति र एक्यापको रोहबरमा दुबै पक्षको लिखित सहमतिमा मेलमिलाप गराईएको हो ।

यसअघि यहाँको वारागुङ—३ स्थित छुसाङ र तेताङ गाउँबीच स्हुक्चेङिन वन क्षेत्रको सीमा,चरिचरन र वन पैदावर लगायतका प्राकृतिक स्रोत साधनका बिषयमा विगत दुई वर्षदेखि विवाद चर्किदै आईरहेको थियो । यसैका कारण दुबै गाउँबीच अन्तरद्धन्द र एकअर्का गाउँबीच निषेध गर्ने लगायतको स्थितीमा पुगेको थियो । यसै समस्यालाई लिएर यि दुबै गाउँका प्रतिनिधिहरु विवाद समाधानका लागि पटक पटक गाउँपालिका कार्यालय,प्रशासन,प्रहरी र एक्याप कार्यालयसम्म पुगेर ध्यानार्कषण गराउँदै आईरहेका थिए ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमको विषेश पहलमा सरोकारवाला निकायका प्रतिनिधिहरुको मध्यस्थतामा विगत दुई वर्षदेखि निरन्तर चल्दै आईरहेको वन क्षेत्र सीमा विवाद,प्राकृतिक स्रोत र चरिचरन विवाद आपसी सहमतिमा निरुपण गरिएको हो । यहाँ स्थित वारागुङ—३ छुसाङ सामुदायिक भवनमा शुक्रबार र शनिबार दुबै पक्षलाई राखेर गरिएको छलफलपछि दुबै गाउँबीच मिलेर सहकार्य गरी अघि बढ्ने निर्णय गरिएको हो ।

 वारागुङ मुक्तिक्षेत्र गाउँपाििलका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक ढिकी गुरुङको अध्यक्षतामा बसेको बैठकले दुबै पक्षलाई राखेर पाँच बुँदे आपसी लिखित सहमति गराईएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । दुबै गाउँबीच चर्किएको विवाद समाधानका लागि पूर्व प्रदेश सभा सदस्य महेन्द्रबहादुर थकाली, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङ, सोही पालिकाका पूर्व अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख राजेश गुप्ता र वारागुङ—३ का वडाध्यक्ष विनोद गुरुङ ,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि प्रकाश पौडेल लगायत सुरक्षाकर्मीहरुको रोहबरमा छुसाङ र तेताङ गाउँबीच चल्दै आईरहेको वन क्षेत्र सीमा ,चरिचरन र वनपैदावर उपभोग सम्वन्धि विवाद सौहाद्रपूर्ण वातावरणमा समाधान भएको एक्याप प्रमुख राजेश गुप्ताले उल्लेख गर्नुभयो ।

मुस्ताङको छुसाङ  र तेताङ गाउँका पाँच पाँच जना स्थानीय गाउँ प्रतिनिधिलाई राखेर गरिएको थियो । दुबै गाउँको सहमतिपछि विवादित बनेको तेताङ गाउँ माथिको स्हुक्चेङिन वन क्षेत्रको जिम्बु संकलनका लागि तेताङ गाउँका स्थानीयले पूर्जी बिनानै संकलन गर्न पाउने र अन्यको हकमा जिम्बु संकलन गर्न छुसाङ गाउँबाट पूर्जी जारी गर्नुपर्ने, छुसाङ गाउँ स्थित कालिगण्डकी नदीको गिट्टी र बालुवा तेताङ स्थानीयले उपभोग गर्दा सामुदायिक,सार्वजनिक विकास निर्माण,योजना÷कार्यक्रमका लागि निःशुल्क उपलब्ध हुने र तेताङ गाउँका स्थानीयको व्यक्तिगत र व्यक्तिगत प्रयोजनका लागि छुसाङ गाउँका स्थानीय सरहको प्रति ट्याक्टर रु. २०० दस्तुर लिन पाउँने  सहमति गरिएको छ ।

 ठुला विकास निर्माण आयोजना र कार्यक्रमका लागि  आवश्यक पर्ने गिट्टी र बालुवाको शुल्क नियमानुसार हुने सहमति गरिएको छ । यसैगरी अन्य वन क्षेत्रको सीमा,चरिचरन, वन पैदावार तथा प्राकृतिक स्रोत साधनको उपभोग सम्वन्धमा वि.स. २०६८ साल बैशाख ३० गते भएको निर्णय अनुसार हुने जनाईएको छ । यसअघि विगतमा उपभोग गर्दैआईरहेको वन क्षेत्रको सीमा,चरिचरन र वनपैदावार तथा प्राकृतिक स्रोतसाधनको उपभोगको बिषयमा सहमति गरिएपछि  कुनै किसिमको हस्तक्षेत्र,हकदावी, तथा उजुर बाजुर नगर्ने सहमति गरिएको छ । यदी सो सम्वन्धमा कुनै कारणले विवाद सृजना भएको खण्डमा उक्त वन क्षेत्रको प्राकृतिक स्रोत साधनको उपभोगको लागि नेपाल सरकारको प्रचलित वन ऐन कानुन तथा सरक्षण क्षेत्रको नियमावली तथा निर्देशिका बमोजिम हुनेमा दुबै गाउँबीच सहमति भएको हो ।

 वन क्षेत्र सीमा,चरिचरन क्षेत्र र वन पैदावार उपभोग सम्वन्धि गरिएको सहमति दुबै गाउँबीच हार्दिकतापूर्वक राजीखुसीका साथ एक अर्का गाउँबीचका प्रतिनिधिलाई खाँदा लगाएर लिखित सहमति गरिएको हो ।



प्रतिक्रिया