जोमसोम—हिमालपारीको जिल्ला मुस्ताङमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ भएको छ ।जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी,नेपाल प्रहरी र सामाजिक विकास कार्यालय मुस्ताङको संयुक्त आयोजनामा मुस्ताङ सदरमुकाम जोमसोममा सोमबार प्रभातफेरीसहित कोणसभा आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गरिएको हो ।
लैङ्गिक हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीपको सहयोगमा विश्वका २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहहरुले यसप्रकारको अभियान शुुभारम्भ गरेका थिए । त्यसपछि हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १०सम्म अन्तराष्ट्रिय अभियानका रुपमा विश्वप्यापी मनाउँदै आईरहेको पाईन्छ ।

यसै उद्देश्यका साथ ‘लैङ्गिक हिंसा विरुङको १६ दिने अभियान अन्तर्गत ‘हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ नारासाथ मुस्ताङमा अभियानको शुभारम्भ गरिएको हो । अभियानमा प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालको नेतृत्वमा नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना, सामाजिक विकास कार्यालय, घरपझोङ गाउँपालिका,नागरिक समाज,महिला अधिकारकर्मी संघसंस्था, शिक्षक,विद्यार्थी,कर्मचारी,पर्यटन व्यवसायी,यातायात व्यवसायी एवं पत्रकारहरुको समुहले उपस्थिती जनाएका थिए । जिल्ला प्रशासन कार्यालय मुस्ताङको प्राङ्गणबाट लैङ्गिक हिंसा अन्त्य गरौं, सबै प्रकारको सामाजिक,धार्मिक,सांस्कृतिक, आर्थिक र पारिवारी विभेद विरुद्ध हातेमालो गरौ लेखिएका प्लेकार्ड र ब्यानरसहितको सुरु भएको अभियान प्रभातफेरी टोलीले मुस्ताङको जोमसोम बजार र पुथाङ एअरपोर्ट हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले सामाजिक न्यायका लागि लैंङ्गिक हिंसालाई अन्त्य गर्नतर्फ सबै निकाय सचेत हुनुपर्ने धारणा व्यक्त गरे । महिला ,पुरुष र तेस्रो लिङ्गीका आधारमा कसैले पनि सामाजिक तथा व्यक्तिगत विभेद गर्न नपाईने प्रजिअ भुसालको भनाई थियो । राष्ट्र र समाजमा सबै तहतप्काका नागरिकहरुले समान रुपमा जिउँन पाउने अधिकारी संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै प्रजिअ भुसालले लिंगका आधारमा र अन्य कारणले समाजमा हिंसालाई प्रोत्साहन हुने कार्य गर्न नहुने जनाए ।

कोणसभामा समाजमा हुने कुनै पनि हिंसा भएमा त्यसको उपचारका लागि स्थानीय तहको न्यायिक समिति वा कानुन कार्यान्वयन गर्ने निकायमा जानुपर्ने घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थकालीले उल्लेख गरिन् । ‘हिंसा सहेर बस्नु हुदैन, हिंसा सहेर बस्नु अर्को अपराध हो, उपाध्यक्ष थकालीले भनीन्,‘ समाजमा हिंसामूलक सबै खाले वेथितीलाई परास्त गर्न हिंसाका घटना बाहिर ल्याउन अपरिहार्य छ । जबसम्म समाजमा हिंसाले प्रश्रय पाउँछ,तबसम्म सभ्भ समाजको परिकल्पना गर्न सकिंदैन ।’ उपाध्यक्ष थकालीले लैङ्गिक हिंसा अन्त्यको सुरुवात आफैबाट कार्यान्वयन हुनुपर्नेमा जोड दिईन् ।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर बोगटीले समाजमा देखिने कुनै पनि घटना क्षम्य नहुने बताए ।समाजमा जाती ,धर्म,भाषा,संस्कृति,लिंग,शारिरीक अवस्था,भौगोलिक अवस्थाआर्थिक अवस्था र पेशागत अवस्थाको कारण देखाएर हुने सबैखाले हिंसाले समाजमा भेदभाव र विभेद सृजना गर्ने र त्यसले शिंगो समाजलाई खण्डित गर्ने उल्लेख गरे । डिएसपी बोगटीले कुनै पनि समाज वा परिवारमा लैङ्गिक हिंसा वा अन्य प्रकृतिका हिंसा विद्यमान रहेमा त्यस घटनाका पीडितलाई प्रहरी र प्रशासन लगायतका न्यायिक निकायसम्म पू¥याउन अनुरोध गरे ।
लैङ्गिक हिंसा विरुद्धको अभियानका लागि मुस्ताङका महिलाहरुले सामुहिक ऐक्यवद्धता जनाएका हुन् । हिउँदयामको चिसो मौसमको परवाह नगरी मुस्ताङका महिला अधिकर्मी तथा सरोकारवाला निकायले ३ किलोमिटर दुरी पैदल हिडेर प्रभातफेरी कार्यक्रममा उत्साहजन सहभागिता जनाएका हुन् ।

मुस्ताङमा अन्य जिल्लामा जस्तो लैङ्गिक हिंसाका घटनाहरु हुने गरेको प्रहरीको रेकर्डमा खासै उल्लेख छैन । मुखिया प्रणालीले सदिंयौदेखि जरो गाडेको मुस्ताङमा यसप्रकारका हिंसा समाजमै सुशुप्त रहेको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपी मुस्ताङमा समाजमा देखिने आर्थिक,सामाजिक,राजनीतिक,धार्मिक,लैङ्गिक, शारिरीक र मानसिक हिंसाका घटनाहरु ज्यादै कम रहेको मुस्ताङ प्रहरीको बुझाई छ ।
९ मङ्सिर २०८१, सोमबार ०२:१७ मा प्रकाशित
355
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता