परिचय पत्र नहुँदा छैरो शरणार्थीलाई समस्या

जोमसोम—

वि.स. २०३१ सालको तिब्बती खम्पा बिद्रोहपछि आत्मसमपर्ण गरी मुस्ताङको घरपझोङ —१ छैरोमा बसोबास गर्दैआईरहेका तिब्बती शरणार्थी समुदायको आफ्ना दुःख कष्ठ र बेदनाहरु विद्यमान छन् । पछिल्लो दुई पुस्तालाई तिब्बती शरणार्थी परिचयपत्र तथा जन्मदर्ता लगायतका घटना नेपाल सरकारको तर्फबाट अघि बढ्न नसक्दा उनीहरुले प्राप्त गर्ने न्यूनतम सेवा सुविधाबाट बञ्चित हुनुपर्ने बाध्यता रहेको हो ।

तिब्बती खम्पा बिद्रोहपछि मुस्ताङको छैरोमा शरणार्थीहरुले ५१ वर्ष बिताईसकेका छन् । सुरुआती १०÷१२ घरधुरीले शरण लिएर बसेकोमा त्यसमा थपिंदै ५०÷६० घरधुरी पुगेको छ । त्यहाँ अहिले तिब्बती शरणार्थीको तिन पुस्ताले सामान्य जिवन व्यतित गरिहेका छन् ।

  सरकारले मुस्ताङको छैरोमा बस्ने तिब्बती शरणार्थीहरुलाई पहिलो पटक वि.स. २०६४ सालमा शरणार्थी परिचयपत्र वितरण गरेको थियो । त्यससमय १८ वर्ष कटेका तिब्बती शरणार्थीले नेपाल सरकारबाट परिचयपत्र पाएका थिए भने १८ वर्ष मुनिका शरणार्थी बालबालिकाले परिचपपत्र पाउँन सकेका थिएनन् । त्यसयता भने तिब्बती शरणार्थीले परिचयपत्र पाउँन सकेका छन् ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले मुस्ताङको छैरोमा बस्ने तिब्बती शरणार्थीको जन्मदर्ता र शरणार्थी परिचयपत्र उपलब्ध गराउने अधिकार सुनिश्चित नहुँदा निकै ठुलो समस्या पर्ने गरेको बताउँनुभयो । मुस्ताङको छैरोमा दुई सय ३ जनाको जनसंख्या रहेकोमा ३८ जनाको मात्रै शरणार्थी परिचयपत्र नविकरण भएको सहायक प्रमुख जिल्ला अधिकारी परियारको भनाई छ । विस. २०५४ सालमा शरणार्थी परिचयपत्र वितरण हुँदा त्यसबेला १८ वर्ष नपुगेका शरणार्थीहरु अहिले ४५ वर्ष कटेका छन् । तर, सरकारबाट पूनः जन्मदर्ता र शरणार्थी परिचयपत्रको प्रक्रिया अघि नबढाउँदा उनीहरुको कमाई गर्ने तथ अन्य सेवा सुविधामा असर पुगेको सहायक प्रजिअ परियारले खुलाउँनुभयो । ‘पछिल्लो पटक जन्मिएका शरणार्थी बालबालिकाको जन्म दर्ता गर्ने कार्यविधि नभएको,जन्म दर्ता सम्वन्धि नियमावलीमा सम्वोधन नभएकाले व्यक्तिले पाउँनु पर्ने सेवासुविधाबाट बञ्चित हुनुपर्ने अवस्था छ‘, सहायक प्रजिअ परियारले भन्नुभयो,‘ बैङक तथा वित्तिय संस्थामा खाता खोल्न,वित्तिय ट्रान्जिक्सन गर्ने कार्यमा पछि परेका छन्, राज्यलाई तिर्नुपर्ने राजश्व सेवाबाट पनि बिमुख बनेका छन् ।’

तिब्बती शरणार्थी परिचय पाउँन नसकेकाहरुका लागि सामान्य अस्थायी अभिलेख राखेर शरणार्थी बालबालिकालाई जन्म दर्ता, मृत्यु दर्ता अथवा ५ प्रकारको व्यक्तिगत घटनाको अभिलेख राख्न सकेमा उनीहरुमा परेको अप्ठ्यारोको गाँठा सामाधान हुन सक्छन् । तर, यस सम्वन्धि नियमावलीमा कहिकतै उल्लेख नभएकाले यसप्रकारको समस्या  उत्पन्न भएको हो । चालु वर्ष छैरो शरणार्थी क्याम्पमा रहेका २०३ जना मध्ये ३८ जनाको मात्रै शरणार्थी परिचयपत्र नविकरण भएको सहायक प्रजिअ परियारको भनाई छ ।

मुस्ताङको छैरो तिब्बती शरणार्थी क्याम्पका मुखिया टसी ढिन्डुक अहिले ४३ वर्ष पुगे । पहिलो पटक परिचय पत्र वितरण हुँदा उनी १५ वर्षका थिए । मुखिया टसी ढिन्डुकको साविक गाविस हुँदा जन्म दर्ता भएपनि उनले अहिलेसम्म शरणार्थी परिचयपत्र पाउँन नसकेको दुःखेसो सुनाउँनुभयो । उहाँले अहिले आफ्नो बच्चा समेत जन्म दर्ता गर्न नपाएको उल्लेख गर्नुभयो । शरणार्थी परिचयपत्र नहुँदा परिश्रम गरेको पैस बैंक तथा वित्तिय संख्था भएपनि बचत गर्ने ठाउँ नभएको उल्लेख गर्नुभयो । ‘हामी त शरणार्थीनै हौ, ढाट्ने केनै छर ’ मुखिया टसी ढिन्डुकले थपे,‘ हाम्रो पहिचान परिचयपत्रले गरिदिने हो, परिचय पत्रनै नभएपछि हामी को हौ भन्नेनै पहिचान छैन ।’

 ‘सरकारले खै हामी शरणार्थीलाई के कति कारणले हो परिचय पत्र दिन सकेको छैन,हाम्रो अनुरोध सरकारलाई छकी कृपया हामीलाई परिचयपत्र दिनुहोस’, उनले भने ।

मुस्ताङको छैरो तिब्बती शरणार्थी क्याम्पमा दुई वर्षमा मुखिया चुन्ने गरिन्छ । शरणार्थी परिवारको सुख,दुःख र सहजीकरण गर्नका लागि क्याम्प भित्र मुखिया चुन्ने प्रचलन रहेको मुखिया टसी ढिन्डुकले बताउँनुभयो । क्याम्प भित्र जन्मिएका मुखिया टसी ढिन्डुक क्याम्प भित्रै सामान्य खेतीपाती गरी जिविकोपार्जन गर्ने गर्छन । बाल्यकाल देखि त्यही जन्मिएको हुर्किएकाले क्याम्प वरपरका गैर शरणार्थीहरुसंग पनि समुधुर सम्वन्ध रहने गरेको उहाँले बताउँनुभयो ।

 छैरो क्याम्पका तिब्बती शरणार्थीहरुले कृषि र समथिङको व्यापार गर्ने गरेका छन् । क्याम्प भित्र स्याउ, उवा,फापर र आलु लगायतका अन्नबाली उत्पादन गरेको मुखिया टसी ढिन्डुकको भनाई छ । क्याम्पमा बस्ने केही शरणार्थीले मार्फा,जोमसोम र कागबेनी लगायतका स्थानमा पर्यटकका लागि समथिङको व्यापार गर्ने गरेको उहाँको भनाई छ ।

 क्याम्प बस्दा ९० प्रतिशत शरणार्थी रहेकोमा अहिले ८० प्रतिशत भन्दा बढी शरणार्थी शिक्षित रहेका छन् । क्याम्पमा युवाहरु जति सबै अध्ययन र जागिरका लागि पोखरा—काठमान्डौमा रहेको उहाँले खुलाउनु भयो । छैरो तिब्बती क्याम्पमा एक गुम्बा, एक आधारभुत विद्यालय , हेल्थ पोस्ट र एक सामुदायिक रेष्टुरेन्ट सञ्चालनमा रहेको छ ।

 मुस्ताङमै जन्मे हुर्किएका टसी ढिन्डुक शरणार्थी जिवन व्यतित गर्ने आफुहरुको बाध्यता रहेको बताउँनुभयो ।‘ शरणार्थी भएर बस्ने रहक कस्को पो हुन्छर हजुर ,यो त हामीलाई परेको समस्या हो’, निकै दुखित हुँदै मुखिया टसी ढिन्डुकले भने,‘ आफ्नै ठाउँमा फर्किन पाए हुन्थ्यो, हामी त यहाँ पहिचानविहिन भएर बस्नु परेको छ ।’


प्रतिक्रिया