कालोपत्रेसंगै जोमसोम—कागबेनी सडक फिलिली


जोमसोम—पछिल्लो समय हिमालपारीको सडक समृद्ध बन्दै जान थालेको छ । उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक अन्तर्गत जोमसोम—कागबेनी कालोपत्रे सडक अन्तिम चरणमा पुगेको छ । २०७८ साल असोज ४ गते रौटाहा आत्रेय सारस जेभीसंग २८ करोड १४ लाख लागतमा ठेक्का सम्झौता भएको (जोमसोम—कागबेनी) कालोपत्रे सडक निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले उल्लेख गरेको छ ।

उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको कोरलानाका र हिन्दु तथा बौद्धमार्गीहरुको साँझा धार्मिक तिर्थस्थल मुक्तिनाथ पहुँचमार्ग जोड्ने जोमसोम—कालोपत्रे सडक निर्माणका लागि हस्तान्तरण भईसकेको ग्राभेल सडकमा कालापत्रे तथा सडक स्तरोन्तति गर्न  ३ वर्षअघि संघीय सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले निर्माण कम्पनीसंग ठेक्का सम्झौता गरेको थियो । योनै जोमसोमदेखि माथि उत्तर भेंकमा आयोजनाको पहिलो कालोपत्रे सडक निर्माण हो ।

कोरला सडकका आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईका अनुसार निर्माणधिन जोमसोम—कागबेनी कालोपत्र सडकको काम अन्तिम चरण पुगेको बताए । जोमसोम—कागबेनी कालोपत्रे सडकको सम्झौता म्याद २ वर्ष तोकिएकोमा त्यसपछि आयोजनाले थप १ वर्ष म्याद थपेको थियो । जोमसोम—कागबेनी १३ किमी कालोपत्रे सडक तथा स्तरोन्नतिको पछिल्लो भौतिक प्रगती ९५ प्रतिशत र वित्तिय प्रगती ९० प्रतिशत पुरा भईसकेको सूचना अधिकारी ईन्जिनीयर चापागाईको भनाई छ । ई. चापागाईका अनुसार कालोपत्रे सडकको काम करिव÷करिव पुरा भईसकेको र अहिले सडकमा सडक मार्किङका लागि रंगरोगन,सडक रेलिङ र साईनबोर्ड टाँस्ने काम भईरहेको बताए । जोमसोम—कागबेनी कालोपत्रे सडकको काम भदौ पहिलो पटक थपिएको समयअवधि भन्दा अगावै सम्पन्न हुने जनाए । यता निर्माण कम्पनीले एक साता भित्रै १३ किमी कालोपत्रे सडक निर्माणको काम सम्पन्न हुने बताएको छ । निर्माण कम्पनीले कागखोला आसपास सडक ग्रोभल भईसकेको र १ किमी दुरीमा कालोपत्रे गर्न बाँकी रहेको जनाएको छ ।


 यसअघि ठेक्का सम्झौता भएको सुरुवाती चरणबाटै आन्तरिक समस्याका कारण ढिलासुस्ती गर्दै आईरहेको जोईन निर्माण कम्पनी आत्रेयले काम गर्न नसकेपछि जोमसोम—कागबेनी सडक अलपत्र परेको थियो । निर्माण कम्पनीलाई पटकपटक काममा फर्किन आयोजनाले ताकेता गरेपछि  मुख्य जोईनको निर्माण कम्पनी रौटाहा साँढे २ वर्षपछि कालोपत्रे सडक निर्माणको काममा फर्किएको थियो । रोटाहाले अलपत्र परेको निर्माणधिन जोमसोम—कागबेनी सडकलाई तीब्रता दिएसंगै स्थानीय पर्यटन व्यवसायी तथा सरोकारवालाहरु निकै खुसी भएका छन् । लोमान्था गाउँपालिका—५ लोमान्थाङका वडासदस्य छेवाङ रिन्जिङ गुरुङले उपल्लो मुस्ताङ र कोरला सडक जोड्ने जोमसोम —कागबेनी कालोपत्रे सडकले मुस्ताङबासीलाई उत्साहित तुल्याएको बताए । उनले विगतमा उपल्लो मुस्ताङ जान सडक असहज हुँदा समस्या पर्ने गरेकोमा अब एवंम्रितले कालापत्रे हुँदै गएमा जोमसोमबाट साँढे २ घण्टामै कोरला पुग्न सकिने दावी गरे ।


आयोजना अन्तर्गत १३ किमी कालोपत्रे सडक मध्ये १२ किमी मुख्य राजमार्ग सडकमा र १ किमी मुख्य राजमार्ग सडकदेखि कागबेनी श्राद्धस्थलसम्म कालोपत्रे सडक विस्तार भईसकेको जनाईएको छ । मुस्ताङको कागबेनी र ताङ्बे गाउँको बिच मध्यभागसम्म कालोपत्रे सडक निर्माण भएको हो । 

जोमसोम—कागबेनी कालोपत्रेका लागि यसअघिको ग्राभेल सडकलाई चौडा गर्ने,कटिङ गर्ने,ग्रेड मिलाउने,मेशिनरी वाल निर्माण र वाल तथा सडकको आवश्यक स्थानमा ड्रेन निर्माण लगायतका कामहरु गर्ने जिम्मेवारी तोकिएको थियो । यसअघि सुरु गरेको आत्रेयले नसकेको काम रौटाहाले ६ महिनामै कालोपत्रे सडक सक्ने गरी फिल्डमा जनशक्ति तथा उपकरण परिचालन गरेको थियो ।

 राष्ट्रिय गौरवको सडक अन्तर्गत २०७४ सालमा जोमसोम—कोरला ११० किमी सडकको  ७ खण्डमा ग्राभेल सडक स्तरोन्नति सुरु गरिएको थियो । ग्राभेल सडक अन्तर्गत चराङ—छोसेर ठेकेदारको ढिलासुस्तीले गर्दा अन्तिम चरणमा पुगेर रोकिएको छ भने बाँकी ६ खण्ड ४ वर्ष अगौवै आयोजनालाई हस्तान्तरण भईसकेको थियो । हस्तान्तरण भईसकेको पहिलो खण्ड जोमसोम—कागबेनी सडकमा ३ वर्षअघि सडक विभागले  पहिलो पटक कालोपत्रे ठेक्का आहवान गरेको थियो ।

आयोजनाले राष्ट्रिय गौरवको सडक अन्तर्गत बेनी—जोमसोम र जोमसोम—कोरला सडकमा गरी करिव ८० किलोमिटर दुरीमा सडक कालोपत्रे सम्पन्न भईसकेको जनाएको छ। जोमसोम—कागबेनी सडक कालोपत्रे भएसंगै मुक्तिनाथ धामसम्म कालोपत्रे सडक सञ्जालले जोडिएको छ । आयोजनाले बेनी—जोमसोम सडकको तेस्रो र चौथो खण्डको करिव ८० प्रतिशत कालोपत्रे सम्पन्न गरेको छ ।म्याग्दी खण्डमा पनि आशिंक कालोपत्रे सडकको काम भएका छन् ।

राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक बर्सेनि सहज बन्दै जान थालेपछि मुस्ताङ भ्रमण गर्ने पर्यटक,स्थानीय नागरिक,कर्मचारी र व्यापाकिर कारोबार गर्ने व्यक्तिहरुलाई निकै सहज हुन पुगेको छ ।


प्रतिक्रिया