सोलुखुम्बुका याक मनाङ र मुस्ताङी किसानलाई

जोमसोम- गण्डकीमा याकको नश्ल सुधारका लागि कोशी प्रदेशको सोलुखुम्बुबाट याक ल्याइएको छ । याक आनुवांशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नश्लका १९ याक मनाङ र मुस्ताङका किसानलाई वितरण गर्न ल्याइएको हो ।

यसरी गण्डकीको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले ल्याएका सबै भाले याक हुन् । मनाङका लागि नौ याक लिएर निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठसहितको टोली जिल्लामा पुगेको छ । मुस्ताङ पठाउने याकलाई निर्देशनालयको अर्काे टोली पोखरा हुँदै त्यसतर्फ गएको छ । मुस्ताङका किसानलाई दश याक वितरण गरिँदै छ । 

किसानको पच्चिस प्रतिशत लागत साझेदारीमा ती याक वितरण गर्ने तयारी छ । वरिष्ठ पशु विकास अधिकृत डा श्रेष्ठ भन्नुहुन्छ, “उच्च नश्लका याकहरु मनाङ र मुस्ताङका कृषकलाई वितरण गर्न ल्याएका हौँ । हाडनाता प्रजननले यहाँका याकको नश्ल राम्रो छैन ।”

सरकारी मूल्य अनुसार बिसदेखि पच्चिस हजारमा ती याक किनिएको निर्देशनालयले जनाएको छ । यो कार्यक्रमका लागि यसपालि निर्देशनालयसँग बिस लाख बजेट छ । गएको पुस १२ गते सोलुखुम्बुबाट हिडाइएका याक आज बल्ल जिल्लामा पुग्दै छन् । 

मुस्ताङ र मनाङ जिल्लाका कृषक, समूह÷समितिलाई ती याक वितरण गरिनेछ । मुस्ताङका लागि ल्याइएका याक हस्तान्तरण गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उन्नत जातका याकबाट नश्ल सुधारमा मद्दत पुग्ने र त्यसले हिमाली क्षेत्रका किसानलाई लाभान्वित हुने अपेक्षा गर्नुभएको छ । 


प्रतिक्रिया