जोमसोम—हिमाली जिल्ला मुस्ताङमा आत्महत्याका घटना ३३ प्रतिशतले वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले सार्वजनिक गरेको पछिल्लो दुई आर्थिक वर्षको तथ्यांक प्रतिवेदनमा जिल्लामा आत्महत्या गर्नेको संख्या वृद्धि भएको पाईएको हो ।
जिल्ला प्रहरी कार्यालयले मुस्ताङले नियमित रुपमा आत्महत्या न्यूनिकरण तथा सामाजिक विभेद, लैङ्गिक तथा महिला हिंसा,साईबर अपराध ,लागुऔषध र अन्य सेचतनामूलक कार्यक्रम संञ्चालन गर्दैआईरहेको छ । तर,प्रहरीले नियमित रुपमा सामाजिक सचेतनामूलक कार्यक्रम गर्दैआईरहेको भएपनि जिल्ला बाहिरका नागरिकहरु मुस्ताङ भित्रिने क्रम बढ्दा आत्महत्याको घटना वृद्धि भएको हो ।
मुस्ताङमा पछिल्लो दुई आर्थिक वर्षमा ८ जनाको आत्महत्याका कारण मृत्यु भएको हो ।आ.व. २०७९÷०८० मा २ जनाले अत्महत्याका कारण ज्यान गुमाउँदा आ.व. २०८०÷०८१ मा ६ जनाले आत्महत्याका कारण ज्यान गुमाएको मुस्ताङ प्रहरीको तथ्यांकमा उल्लेख छ ।अघिल्लो आर्थिक वर्षमा १ पुरुष र १ महिलाले झुन्डिएर आत्महत्या गरेका थिए ।
त्यसको पछिल्लो वर्षमा ६ जनाले आत्महत्याका कारण ज्यान गुमाएको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । उनका अनुसार आत्महत्या दुरुत्साहन गरेकोमा १ जना,विष खाएर आत्महत्या १ जना, झुन्डिएर आत्महत्या ३ जना र डुबेर आत्महत्या १ जना गरी ६ जनाले ज्यान गुमाएका हुन् । मुस्ताङमा आत्महत्या गरी मृत्युवरण गर्नेमा अधिकाँश जिल्ला बाहिरका नागरिक छन् । जिल्ला बाहिरबाट वैकल्पिक रोजगारीका लागि आउने समुदायबाट यसप्रकारका घटना हुने गरेको प्रहरी नायव उपरीक्षक पाण्डेयले जनाए ।पछिल्लो समय मुस्ताङमा स्थानीय नागरिक भन्दा जिल्ला बाहिरबाट आएर अस्थायी बसोबास गर्नेको सख्या बढ्दो छ ।
मुस्ताङ प्रहरीको तथ्यांकमा अन्य घटना ः
मुस्ताङमा हाईअल्टिच्युडका कारण पछिल्लो २ आर्थिक वर्षमा २७ जनाले ज्यान गुमाएका छन् ।जसमध्ये ७ जना नेपाली र २० जना विदेशी पर्यटकको हाईअल्टिच्युडका कारण मृत्यु भएको हो । आ.व. २०८०÷०८१ मा ४ नेपाली र ८ विदेशीसहित १२ जनाको हाईअच्यिुडका कारण मृत्यु भएको थियो । आ.व. २०८०÷०८१ मा ३ नेपाली र १२ विदेशी पर्यटकसहित १५ जनाले हाईअल्टिच्युडका कारण ज्यान गुमाएको प्रहरी नायव उपरीक्षक पाण्डेयको भनाई छ । बेसीमा सिधै बिचको स्थानमा होल्डिङ नगरी अग्लो उचाईको स्थानमा आउने पर्यटकलाई हाईअल्टिच्युडको समस्या देखिने गरेको प्रनाउ पाण्डेयले खुलाए । उमेर कटेका,शारिरीक रुपले अशक्त र दीर्घ रोगको औषधि सेवन गर्ने गरेका पर्यटकलाई यस्तो समस्या देखिने गरेको हो ।
यस्तै, पछिल्लो २ आर्थिक वर्षमा ९९ वटा सवारी दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए भने ९१ जना घाईते भएका थिए । आ.व. २०७९÷०८० मा ३५ वटा सवारी दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाएका थिए भने ३७ जना घाईते भएका थिए । आ.व. २०८०÷०८१ मा ६४ वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने ६४ जना घाईते भएका थिए ।
प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आ.व. २०७९÷०८० मा कुल १२ जना व्यक्ति बेपत्ता भएकोमा सबै फेला परेको थियो ।आ.व. २०८०÷०८१ मा १४ जना व्यक्ति बेपत्ता भएकोमा ३ जना व्यक्ति फेला पार्न नसकेको प्रहरी प्रतिवदेनमा उल्लेख छ । पछिल्लो २ आर्थिक वर्षमा १८१ जना व्यक्ति प्रहरीले पक्राउ गरेकोमा ५२ जना विरुद्ध मुद्धा चलाएको थियो । २ आर्थिक वर्षमा २४ वटा घरेलु हिंसा विरुद्ध उजुरी परेकोमा सबै मिलापत्रबाट टुङ्ग्याएको थियो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङमा २ आर्थिक वर्षमा ११४ थान मुद्धा पेन्डिङमा रहेकोमा ४१ थान मुद्धा पछ्र्योट भएको छ भने ७३ थान मुद्धा बाँकी छ । यस्तै ,फैसला कार्यान्वयनतर्फ फरार तथा लगत नं भएको प्रतिवादी २ आर्थिक वर्षमा ३९ फरार संख्या रहेकोमा अघल्लो आवमा ४ जना पक्राउ भएकोमा यस आवमा १३ जना गरि जम्मा १७ जनालाई पक्राउ गरिएको थियो । फरार संख्या मध्ये २२ जनालाई पक्राउ गर्न बाँकी रहेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
मुस्ताङ प्रहरीले समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत पछिल्लो दुई आर्थिक वर्षमा १ हजार १०५ वटा कार्यक्रम सम्पन्न गरेको छ । प्रहरीले गाजा फडानी ३५, लागुऔषध विरुद्ध सचेतना १२०, आत्महत्या विरुद्ध सचेतना ९४, साईबर अपराध ५४, घरेलु हिंसा ,लैङ्गिक हिंसा ३७४ र अन्य ४२९ वटा सचेतनामूलक कार्यक्रम संञ्चालन गरेको जनाएको छ ।
मुस्ताङमा अवैध भन्सार छली सामान बरामदबाट २ आर्थिक वर्षमा २२ लाख ८८ हजार ५ सय राजश्व संकलन गरेको छ । यस्तै , ट्राफिक नियन्त्रण तथा कारवाही अन्तर्गत पछिल्लो २ आर्थिक वर्षमा ९ हजार ८३ सवारी साधनलाई कारवाही गर्दा ८६ लाख २१ हजार ५ सय राजश्व संकलन भएको छ ।