धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२४ को तुलनामा सन् २०२५ को एघार महिना अर्थात नोभेम्बरसम्ममा (१०.६१) प्रतिशतले विदेशी पर्यटकको संख्या वृद्धि भएको छ ।यहाँ सन् २०२४ को तुलनामा सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म चौध हजार ४११ जना विदेशी पर्यटकको संख्या वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमले उल्लेख गरेको छ ।
सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्मको बाह्र महिना अवधिमा सार्क तथा अन्यमुलुकका गरी कुल एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । त्यसवर्ष सार्क राष्ट्रबाट एक लाख ९ हजार ५४९ जना र अन्य राष्ट्रबाट २६ हजार १७० जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए ।
यसवर्ष अर्थात सन् २०२५ को डिसेम्बर महिना बाँकी रहँदा यहाँ एक लाख ५० हजार १३० जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्षको एघार महिना अवधिमा एक लाख २३ हजार २५३ जना सार्क र २६ हजार ८७७ जना अन्य मुलुकका विदेशी पर्यटकले भ्रमण गरेका कार्यालय प्रमुख गुप्तले बताउँनुभयो ।
एक्यापको पर्यटक तथ्यांक अनुसार सन् २०२४ को बाह्र महिना र सन् २०२५ को एघार महिनाको तुलना गर्दा सार्क राष्ट्रतर्फ १३ हजार ७०४ जना र अन्य राष्ट्रतर्फ ७०७ जना विदेशी पर्यटकको संख्या वृद्धि भएको हो । तथ्यांक अनुसार सार्कतर्फ (११.११) प्रतिशत र अन्यतर्फ (२.६३) प्रतिशत विदेशी पर्यटकको संख्या वृद्धि भएको एक्याप कार्यालयले जनाएको छ ।
एक्यापका अनुसार सन् २०२५ को जनवरीमा चार हजार ३४६,फेब्रअरीमा पाँच हजार ३०३,मार्चमा उन्नाईस हजार ९५,अप्रिलमा तेईस हजार १५२,मे मा पच्चिस हजार ७२७,जुनमा बिस हजार ८५८,जुलाईमा दश हजार ८१९,अगस्टमा सात हजार ६८७,सेप्टेम्बरमा आठ हजार १४७,अक्टुबरमा तेह्र हजार १८१ र नोभेम्बरमा बाह्र हजार १५ सार्क तथा अन्यमुलुकका विदेशी पर्यटकहरु मुस्ताङ भित्रिएका हुन् ।
अगस्ट र सेम्टेम्बरमा युवाहरुको जेनजी आन्दोलनको प्रभाव र प्रतिकुल मौसमका कारण विदेशी पर्यटकको संख्या घट्न पुगेको एक्याप प्रमुख गुप्तले उल्लेख गर्नुभयो । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सार्क राष्ट्रबाट मुस्ताङ भ्रमण गर्नेमा अधिकाँश भारतीय पर्यटक रहेका उहाँको भनाई छ ।
अक्सर यहाँ आएका अधिकाँश भारतीय पर्यटकहरु मुक्तिनाथको दर्शन गरी फर्किने गरेका छन् । अन्यमुलुकका पर्यटक भने आशिंक रुपमा माथिल्लो मुस्ताङ भ्रमण गर्न जाने गरेका छन् ।
हिमाली जिल्लाको पृथक प्रकारको भूगोल, प्राकृतिक सौन्दर्यता,जैविक विविधिता,ऐतिहाँसिक तथा पुरातात्विक भौतिक सम्पदा,हिमाली जीवनशैली,तिब्बतीयन कलासंस्कृति लगायतको नजिकबाट अवलोकन गर्न विदेशी पर्यटकहरु मुस्ताङ आउने गरेका छन् ।
माथिल्लो मुस्ताङको सदिंयौ वर्ष पुरानो मानव निर्मित गुम्बाहरु, मुस्ताङी राजाको ऐतिहाँसिक दरबार,गुरु पद्म सम्भवले निर्माण गरेको घर गुम्बा, छोसेर गुफा सिउसी गुफा,लुरी गुफा, थोरङ्लापास,मुक्तिनाथ,कागबेनी, जोमसोम, ढुम्बाताल,मार्फा गाउँ लगायतका पर्यटकीय गन्तब्यहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आर्कर्षित गर्ने गरेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।
पछिल्लो समय भारत र चीन जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक सहज हुँदै गएपछि मुस्ताङमा पर्यटकको संख्या बर्सेनि वृद्धि हुँदै जान थालेको कार्यालय प्रमुख पौडेलले बताउँनुभयो । हालै सरकारले माथिल्लो मुस्ताङका हिमचुचुराहरुको आरोह खुल्ला गरिएको र सरकारले माथिल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकलाई प्रतिदिन ५० डलर प्रवेशआज्ञा शुल्क कायम गरेकाले विगतको वर्षहरु भन्दा आगामी वर्ष विदेशी पर्यटकको संख्या वृद्धि हुने कार्यालय प्रमुख पौडेलको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली