लोमान्थाङमा लाईसेन्स नभएका व्यक्तिलाई सवारी चलाउन रोक

नेपाल—चीन उत्तरी कोरलानाकासंग सिमाना जोडिएको लोमान्थाङ गाउँपालिकाले सवारी चालक अनुमतिपत्र (लाईसेन्स) नभएका व्यक्तिहरुलाई सवारी चलाउन रोक लगाईएको छ । गाउँपालिकाले हालै एक सूचना सार्वजनिक गरी लोमान्थाङ गाउँपालिका अन्तर्गतका क्षेत्रमा लाईसेन्स नभएका व्यक्तिलाई सवारी चलाउन रोक लगाईएको जनाएको छ ।

गत ३० भदौमा यहाँको नेपाल—चीन उत्तरी कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आएको र चीनबाट विद्युतीय सवारी साधन तथा सयौं मालबाहक ट्रकहरु ढुवानीका लागि आवतजावत भईरहेकोमा यहाँको सडकमा कतिपय सवारी चालकहरु चालक अनुमतिपत्र (लाईसेन्स) नभईकन सवारी साधन चलाउन गरेको अनुगमनका क्रममा फेला परेको गाउँपालिकाको भनाई छ ।

कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आएसंगै माथिल्लो मुस्ताङको आर्थिक विकास र पर्यटन प्रर्वद्धनमा निकै ठुलो टेवा पुगेको भएपनि सुरक्षा निकायसहितको अनुगमनका क्रममा कोरलानाकाबाट भित्रिएका विद्युती सवारी (ईभी) र कोरलानाकामा आवतजावत गर्ने मालबाहक ट्रकका कतिपय चालकहरुले बिना लाईसेन्स सवारी चलाएको गाउँँपालिका अध्यक्ष टसीनर्बु गुरुङद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

लोमान्थाङको उच्च हिमाली भूगोल,साँघुरा तथा घुम्तीदार सडक,चिसो मौसम र उचाईजन्य जोखिमका कारण सवारी दुर्घटनाको संम्भावना अधिक हुने गरेको सूचनामा बताईएको छ । सवारी चालक अनुमतिपत्र नभएका चालक सवारी संञ्चालनमा दक्ष नहुने भएकाले यात्रु,पैदलयात्री र स्थानीय नागरिकहरुको ज्यान जोखिममा पर्नसक्ने भएकाले माथिल्लो मुस्ताङमा सवारी साधन संञ्चालनमा ५ बुँदे निर्देशन जारी गरेको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो ।

पालिकाको ५ बुँदे निर्देशन अनुसार कुनै पनि व्यक्तिले लाईसेन्स नभईकन विद्युतीय सवारी वा मोटरयुक्त सवारी चलाउन नपाईने,सवारी साधन आयातकर्ता कम्पनीले बैध लाईसेन्स भएका व्यक्तिलाई मात्रै चलाउन दिने,प्रहरी,सशस्त्र प्रहरी र गाउँपालिका प्रहरीसंगको समन्वयमा नियमित अनुगमन,चेकजाँच र कारवाही प्रक्रिया कडाईका साथ कार्यान्वयन गर्ने, सवारी साधन संञ्चालन जस्तो गम्भिर बिषयमा रोकथाम तथा नियन्त्रणका लागि सवै सरोकारवालाहरुले गाउँपालिकासंग समन्वय र सहकार्य गर्ने र सवारी चालक नभएका व्यक्तिले सवारी चलाएको पाईएमा  गाउँपालिका, वडा कार्यालय वा नजिकैको प्रहरी चौकीमा  जानकारी दिनुपर्ने लगायतका निर्देशन दिईएको छ ।

कोरलानाका पूर्ण रुपमा संञ्चालन भई विद्युतीय कार र मालबाहक ट्रकको आवतजावत बढेको र कोरलानाका र माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकहरु बर्सेनि वृद्धि भईरहेकाले सवारी दुर्घटना न्यूनिकरण गर्न गाउँपालिकाले ट्राफिक नियमलाई आत्मसाथ गरी कार्यान्वयनको चरणमा लगेको गाउँपालिका अध्यक्ष गुरुङको भनाई छ ।


प्रतिक्रिया