कहिले सकिएला जोमसोममा कभर्ड हल निर्माण ?

जोमसोम—मुस्ताङ सदरमुकाम जोमसोममा निर्माणधिन कभर्ड हल बजेट अभावका कारण अलपत्र परेको छ । २०७६÷०७७ साल देखि निर्माणकार्य सुरु गरिएको जोमसोम कभर्ड हल पर्याप्त बजेट सुनिश्चित नहुँदा निर्माणकार्य सुस्त बनेको हो ।

सरकारले दिर्घकालिन महत्वको ‘एक स्थानीय तह एक खेलग्राम’सहितको कभर्ड हल पूर्वाधार निर्माणका लागि बहुवर्षिय योजना अघि बढाईएको थियो । जोमसोममा निर्माण हुँने २ तले सुविधा सम्पन्न कभर्ड हल निर्माणको लागत ६ करोड ५८ लाख तय गरिएको थियो ।


संघ,प्रदेश र स्थानीय तहको लागत साझेदारीमा निर्माणधिन जोमसोम कभर्ड हल निर्माण अहिले ठप्प छ । समयमै बजेट सुनिश्चिता नहुने र बजेट विनियोजनको रकम योजनाको लागत अनुपातमा ज्यादै न्यून हुँने भएकाले जोमसोम कभर्ड हल निर्माणले गति लिन नसकेको हो ।

जोमसोम कभर्ड हल निर्माण बहुवर्षिय योजना अन्तर्गत रहेपनि योजना संञ्चालन भएको  ४ वर्ष बितिसक्दा भौतिक प्रगती जम्मा ३५ प्रतिशत मात्र रहेको छ ।संघ तथा प्रदेश सरकारबाट बर्सेनि विनियोजन हुँने टुक्रे बजेटका कारण कभर्ड हल निर्माणमा विलम्व भएको हो । कभर्ड हल निर्माणको सुरुवाती आर्थिक वर्ष २०७६÷०७७ सालमा संघीय सरकारबाट ४० लाख,प्रदेश सरकारबाट ५० लाख र स्थानीय तहको समपुरक बजेट १५ लाख गरी एक करोड ५ लाख लागत साझेदारीमा भएको थियो । आर्थिक वर्ष २०७७÷०७८ सालको दोश्रो वर्षमा प्रदेश सरकारबाट २५ लाख र स्थानीय तहबाट १७ लाख गरी कुल ४२ लाख बजेटमा कभर्ड हल निर्माणलाई निरन्तरता दिईएको थियो । कभर्ड निर्माणको दोश्रो वर्ष संघीय सरकारले कुनै बजेट विनियोजन गरेन ।

यसैगरी आर्थिक वर्ष २०७८÷०७९ मा संघ ,प्रदेश र स्थानीय तहको गरी जम्मा ३२ लाख बजेटले कभर्ड हल निर्माणको कामलाई थमाईएको थियो । आर्थिक वर्ष २०७९÷०८० मा पनि जोमसोम कभर्ड हल निर्माणका लागि पर्याप्त बजेट सुनिश्चित हुन सकेन । कभर्ड हलका लागि सोवर्ष प्रदेश सरकार र स्थानीय तहको गरी १६ लाख बजेट परेको थियो । कभर्ड हलका लागि संघीय सरकारले आवश्यक बजेट छुट्याउन नसकेपछि कभर्ड हल निर्माणको योजना निकै सुस्त बनेको हो ।

चालु आर्थिक वर्ष २०८०÷०८१ को सुरुवाती चरणमा पनि कभर्ड हलका लागि बजेट सुनिश्चित हुन सकेन । यद्यपी ढिलै भएपनि कभर्ड हलका लागि संघीय सरकारबाट ३२ लाख र स्थानीय तहको समपुरक बजेट २० लाख गरी ५२ लाख बजेट सुनिश्चित भएको हो । चालु वर्षको बजेटबाट कभर्ड हलको वाल निर्माण,ग्राउण्ड ढलान,शौचालय र झ्लाल ढोकाका लागि फर्निचर लगायतका काम सम्पन्न गर्ने योजना रहेको घरपझोङ गाउँपालिकाका सव ईन्जिनीयर राजन कडेलले जानकारी दिए । उनले यसवर्षको बजेट कभर्ड हलमा खेल संञ्चालन गर्न योग्य बनाईने उल्लेख गरे ।

जोमसोम कभर्ड हलको ३५ प्रतिशत भौतिक प्रगती हुँदा वित्तिय खर्च करिव २ करोड रहेको सवईन्जिनीय कडेलको भनाई छ ।उनका अनुसार कभर्ड हल निर्माणका लागि सानदार कन्टक्सन र सानु कन्टक्सनले करिव २८ लाख बराबरको काम गरेका छन् । बाँकी खर्च भएको बजेट स्थानीय उपभोक्ता समिति मार्फत कभर्ड हल निर्माणको काम अघि बढाईएको थियो । 

 निर्माणधिन जोमसोम कभर्ड हल  ४ वर्ष बितिसक्दा २ वटा दर्शन बस्ने प्याराफिट निर्माण भएको छ भने भुईतलाको स्टक्चर निर्माणको काम सम्पन्न भएको उनले बताए । कभर्ड हलका लागि पर्याप्त बजेट सुनिश्चित नहुने र सुनिश्चत भएको बजेट पनि आर्थिक वर्षमा निकासा हुँने परिरपाटीले कभर्ड हल निर्माणले अपेक्षाकृत गति लिन नसकेको सवईन्जिनीयर कडेलले उल्लेख गरे ।

निर्माणधिन जोमसोम खेल मैदान (कभर्ड हल) मा ७ सय देखि ८ सय दर्शक अट्ने क्षमताको हुँनेछ । दुई तले कभर्ड हलको नमूना डिजाईन प्रदेश सरकारले पठाएपछि घरपझोङ गाउँपालिकाले कभर्ड हलको डिपिआर निर्माण गरिएको थियो । जमिनको सतहदेखि माथि करिव १३ मिटरको उचाईमा कभर्ड निर्माण गर्ने योजना छ ।जसको लम्बाई ४५ मिटर र चौडाई २५ मिटरको हुँने सवईन्जिनीयर कडेलले जनाए ।

 निर्माणधिन दुई तले कभर्ड हलमा  ईन्डोर भलिबल खेल मैदान,अफिस कोठा,चेन्जिङ रुम,प्याराफिट,भिआईपी कक्ष,मेडिकल हल र शौचालय लगायतका पूर्वाधार निर्माण हुनेछ । मुस्ताङका ५ स्थानीय तहमा सुविधा सम्पन्न ईन्डोर खेल मैदान (कभर्ड हल) नहुँदा यहाँ आयोजना हुँने विभिन्न खेल संञ्चालन गर्न निकै कठिनाई पर्ने गर्छ ।

 समून्द्री सतहको २७ सय मिटरको उचाईमा अवस्थित मुस्ताङ जिल्लामा १२ बजेपछि उन्मादको बेजोड हावाहुरी चल्ने हुँदा यहाँ आउट डोर खेल संञ्चालन गर्न निकै असहज हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अजित थकालीले बताए । उनले जोमसोममा कभर्ड हल निर्माण हुन सकेमा यहाँ  हुँने राष्ट्रपति कप खेलकुद,थाक खेलकुद र स्थानीय स्तरमा संञ्चालन हुने खेल प्रतियोगिताका लागि सहज हुने बताए ।


फोटो क्याप्सन ः बजेट सुनिश्चिता र न्यून बजेट निकासा हुँदा जोमसोम कभर्ड हल निर्माण सुस्त ः तस्विर ःसुन्दरकुमार थकाली ।


प्रतिक्रिया