हिमाली जिल्ला मुस्ताङको जोमसोममा आगामी भदौ ३० र ३१ गते हुने राष्ट्रिय स्तरको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’को तयारी तीब्र गतिमा अघि बढाईएको छ । सात प्रदेशका ७५३ वटै स्थानीय तहको सहभागितामा आयोजना गर्न लागिएको जलवायु सम्मेलनको तयारी पचास प्रतिशत बढी पुरा भईसकेको यहाँ आयोजित स्थानीय पत्रकार सम्मेलनमा घरपझोङ गाउँपालिकाले जानकारी दिएको ।
मुस्ताङमा पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय स्तरको ऐतिहाँसिक ‘घरपझोङ जलवायु सम्मेलनको साझ उद्देश्य,औचित्य, जलवायु प्रभाव,चुनौति, व्यवस्थापन र यसको समग्र तयारी लगायतका बारेमा जानकारी गराउने उद्देश्यले बिहिबार घरपझोङ गाउँपालिकाले स्थानीय सञ्चारकर्मीको उपस्थितीमा पत्रकार सम्मेलनको आयोजना गरेको हो । गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको अध्यक्षमा उपाध्यक्ष जमुना थकाली र प्रमुख प्रशासकीय अधिकृत भिमकुमार बस्नेत लगायतले जलवायु परिवर्तन सम्मेलनको पछिल्लो तयारी बारे स्थानीय सञ्चारकर्मीहरुलाई जानकारी दिनु भएको थियो ।
पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङमा पहिलो पटक ७५३ वटै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरुको सहभागीमा जलवायु परिवर्तन सम्वन्धी एकिकृत आवाज र संयुक्त ऐक्यवद्धता मार्फत नेपाल सरकार र अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने उद्दृश्यले घरपझोङ जलवायु परिवर्तन सम्मेलन आयोजना गर्न लागेको बताउँनुभयो ।
अध्यक्ष लालचनका अनुसार सम्मेलन मार्फत जलवायु परिवर्तनले सबै स्थानीय तहमा सिर्जित प्रकोपहरुको पहिचान गरी प्रकोपबाट उत्पन्न हुने असर न्यूनिकरणका लागि साझा ऐक्यवद्धता घोषणा गर्ने, जलवायु परिवर्तनबारे सचेतना अभिवृद्धि गर्ने, जलवायु परिवर्तनका असर तथा अनुकुलनका उपाय एवं रणनीतिहरुको बारेमा बहश पैरवी गर्ने र जलवायु परिवर्तनका असर न्यूनिकरण तथा अनुकुलनको सन्दर्भमा सरोकारवालाहरुबीच सहकार्य सुदृढ गर्ने सम्मेलनको उद्देश्य छ ।
यसैगरी जलवायु परिवर्तनले स्थानीय स्तरमा पारेको असर तथा प्रभावको पहिचान र सोको समाधान सम्वन्धमा साझा धारणा तय गर्ने, अनुकुलन सम्वन्धी अनुभव र अभ्यासको आदानप्रदान गर्ने, जलवायु सम्वन्धी साझा नीति र कार्ययोजना निर्माण सम्वन्धी छलफल र ऐक्येवद्धता जाहेर गर्ने र स्थानीय तहबीचको सहकार्य निर्माण एवं अन्तरसरकार एवं सहकार्य सुदृढिकरण गर्ने सम्मेलनको उद्देश्य रहेको घरपझोङ गाउँपालिकाले उल्लेख गरेको छ ।
मुस्ताङमा आयोजना हुने जलवायु परिवर्तन सम्मेलनमा उपस्थित भईदिन ६ वटा महानगर,११ वटा उपमहानगर र २७६ नगरपालिकासहित ४६० वटा गाउँपालिकाहरुलाई साउन २८ गतेनै संघीय मामिला मन्त्रालयको समन्वयमा लिखित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत भिमकुमार बस्नेतले जानकारी दिनुभयो । मुस्ताङको घरपझोङ—४ जोमसोम स्थित कभर्ड हलमा सम्मेलन आयोजना हुने प्रशासकीय अधिकृत बस्नेतले बताउँनुभयो ।
सम्मेलन व्यवस्थापनका लागि गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको छ । अतिथी सत्कारतर्फ उपाध्यक्ष जमुना थकालीको संयोजकत्वमा १२ सदस्यीय समिति गठन गरिएको छ भने पत्रचार,प्रदेश समन्वय तथा प्रचार प्रसारतर्फ कार्यपालिका सदस्य भीषण थकालीको संयोजकत्वमा प्रदेश स्तरीय नौ सदस्य उपसमिति गठन गरिएको छ ।
स्टेज ,साउण्ड लगायत कार्यक्रम स्थलको व्यवथापनतर्फ कार्यपालिका सदस्य राजुप्रसाद लालचनको संयोजकत्वमा उपसमिति गठन भएको छ । यसैगरी आवास तथा यातायात व्यवस्थापनतर्फ फलेन्द्रप्रसाद थकाली,स्वास्थ्य आपतकालीन तथा सुरक्षातर्फ आशबहादुर थकाली, अन्तर निकाय तथा स्थानीय समुदाय समन्वयतर्फ प्रदीप थकाली, आर्थिक व्यवस्थापन , अनुगमन तथा प्रतिवेदनतर्फ मोहनसिंह लालचन,प्राविधिक कार्यपत्र तथा एजेन्डा व्यवस्थापनतर्फ भिमकुमार बस्नेत, उपहार तथा मायाको चिनो व्यवस्थापनतर्फ मणि विक र सरसफाई तथा फोहोरमैला व्यवस्थापनतर्फ सुजिता थकालीलाई उपसमिति संयोजकको जिम्मेवारी दिईएको छ ।
जलवायु परिवर्तन सम्मेलन आयोजना गर्न प्रारम्भिक रुपमा एक करोड ६९ लाख लागत खर्च अनुमान गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिनुभयो । सम्मेलनका लागि गाउँपालिकाले चालिस लाख बजेट विनियोजन गरेको र मुस्ताङका अन्य पालिकाबाट १२ लाख रुपैया सहयोग प्राप्त हुने उपाध्यक्ष थकालीले बताउँनुभयो । सम्मेलन आयोजना गर्न सघीय सरकार,प्रदेश सरकार, गाउँपालिकासंग भगिनी सम्वन्धमा जोडिएका स्थानीय तह र जलवायु परिवर्तन सम्वन्धी सरकारी तथा गैरसरकारी निकायहरुसंग समन्वय भईरहेको जनाईएको छ ।
यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख अतिथी,विशिष्ट अतिथी र अतिथी लगायत आगन्तुक पाहुनाहरुका लागि आवास तथा होटल व्यवस्थापनका लागि घरपझोङ गाउँपालिका भित्रिका पर्यटन व्यवसायीहरुसंग छलफल र सम्वाद भईरहेको बताईएको छ ।
घरपझोङले सम्मेलनमा आउने पाहुनाहरुको व्यवस्थापनका लागि पालिका भित्रका ११६ वटा साना ठुला होटलहरु सम्वाद अघि बढाएको छ । पाहुना व्यवस्थापनका लागि होमस्टे ,सामुदायिक समाज घर र महिला समुह लगायतका समाजघरहरुलाई समेत वैकल्पिक आवास व्यवस्थापनको रुपमा प्रयोग गर्न सक्ने जनाएको छ । गाउँपालिका भित्रको होटलहरुले झन्डै चार हजार भन्दा बढी पाहुनालाई व्यवस्थापन गर्न सक्ने क्षमता रहेको उपाध्यक्ष थकालीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा जलवायु परिवर्तनले हिमाली जिल्ला लगायत सबै स्थानीय तहमा असर पारेको बताईएको छ । ।जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको तापमान वृद्धि भईरहेको, कृषि,पर्यटन,पशुपालन ,धर्मसंस्कृति र जैविक विविधतामा प्रतिकूल असर पुगेको जनाईएको छ । जलवायुका कारण मुस्ताङको ध्ये र समजुङ वस्ती विस्थापित भएको, हिमपात फुट्ने,सेता हिमाल कालापत्थरमा परिणत भईरहेको र बाढी पहिरो र नदी कटानले विपदजन्य घटनाहरु बढ्दै गईरहेको बताईएको छ ।
घरपझोङ गाउँपालिकाद्वारा आयोजित जलवायु सम्मेलनले सबै स्थानीय तहमा जलवायु परिवर्तनले पारेको असर तथा जलवायु न्यूनिकरण र अनुकुलनका उपाय सम्वन्धी राष्ट्रिय घरपझोङ जलवायु परिवर्तन साँझा घोषणापत्र जारी गरिने छ । सम्मेलनमा उठाईएका जलवायु साँझा एजेण्डा र घोषणापत्रले राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायलाई ध्यानाकर्षण गरी जलवायु क्षतिको मुद्धा कोपसम्म पु¥याउन सहज हुने बताईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली