मुस्ताङमा लेंक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङमा पर्वतीय हाईअल्टिच्युडका कारण लेंक लागेर नौ जना विदेशी नागरिकसहित १३ जना पर्यटकले ज्यान गुमाएका छन् । यहाँको पर्वतीय उच्च उचाईको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटक मध्ये चालु आवको जेठ १५ गतेसम्म लेंक लागेर उक्त सख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आवको साँढे दश महिनाको अवधिमा हाईअल्टिच्युडका कारण लेंक लागेर १३ जना पर्यटकको मृत्यु भएको बताउँनुभयो । मृत्यु हुने मध्ये नेपाली पर्यटकतर्फ तीन पुरुष र  एक महिला गरी चार छन् । विदेशी पर्यटकतर्फ सात पुरुष र दुई महिला गरी नौ जना विदेशी पर्यटक छन् । धार्मिक तिर्थाटनका लागि मुस्ताङ आएका पर्यटकहरु सबै वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकामा लेंक लागेर प्रदेश अस्पताल जोमसोममा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो ।

मुस्ताङमा हाईअल्टिच्युडका कारण लेंक लागेर बढी मात्रामा भारतीय पर्यटकको मृत्यु हुने गरेको प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । बेसीको समथरिलो स्थानबाट हिमाली जिल्ला मुस्ताङको पर्वतीय क्षेत्रमा आउने पर्यटकहरुलाई पर्याप्त रुपमा आवश्यक स्वास्थ्य सावधानी र सर्तकता अपनाउन नसक्दा लेंक लागेर मृत्यु हुने समस्या देखिएको हो । समून्द्री सतहको तीन हजार मिटर माथिको उच्च उचाईको पर्वतीय क्षेत्रमा अक्सिजनको लेवल कम भई यहाँ आएका पर्यटकलाई लेंक लाग्ने समस्या रहने गरेको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो । मुस्ताङमा  बर्सेनि लेंक लागेर औसत डेढ दर्जन बढीको लेंक लागेर मृत्यु हुने गरेको पाईएको छ ।

 त्यसो त यहाँका सरोकारवाला सरकारी कार्यालयहरुले हाईअल्टिच्युका कारण लेंक लाग्ने समस्याको न्यूनिकरण गर्न जनचेतनामूलक कार्यक्रमहरु समेत संञ्चालन गर्ने गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय, एक्याप, मुक्तिनाथ विकास समिति ,स्थानीय तह र सुरक्षा निकाय लगायतले हाईअल्टिच्युड सम्वन्धि विभिन्न क्रियाकलापहरु संञ्चालन गर्ने गरिएको छ ।

 राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक खण्ड अन्तर्गत म्याग्दी र मुस्ताङको सीमाना थासाङ—४ घाँसामा  हाईअल्टिच्युड अर्थात लेंक लाग्ने समस्या सम्वन्धि सचेतनामूलक साईन बोर्ड राखिएको छ । एक्यापले चालु वर्ष घाँसादेखि मुक्तिनाथ सम्म पर्यटकीय चहलपहल हुने स्थानमा हाईअल्टिच्युड सम्वन्धि साईन टाँस गरेको एक्याप प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । यसैगरी प्रदेश जनस्वास्थ्य कार्यालयले पनि हाईअल्टिच्यु सम्वन्धि साईन पोस्टिङ तथा बोर्सरहरु छपाई गरी पर्यटकहरुलाई वितरण गर्ने गरिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङले जानकारी दिनुभयो ।

 यसैगरी हाईअल्टिच्युडको जोखिम न्यूनिकरण गर्न तथा पर्यटकको स्वास्थ रक्षाका लागि वारागुङ—१ मुक्तिक्षेत्रका सबै होटलहरुमा प्रोटेबल अक्सिजन सिलिण्डरसहित लेंक नलाग्ने औषधिहरुको व्यवस्थापन गरिएको मुक्तिनाथ होटल एशोयसिनका अध्यक्ष सुरज गुरुङले जानकारी दिनुभयो ।

 मुस्ताङ भ्रमणका लागि आउने पर्यटकहरुलाई सम्वन्धि ट्राभल एजेन्सी र होटलहरुले पर्याप्त हाईअल्टिच्युड सम्वन्धि जानकारी दिन नसक्दा लेंक लाग्ने घटनाहरु न्यूनिकरण हुन नसकेको हो । विभिन्न पर्यटक ट्राभल्स कम्पनीहरुले मुस्ताङ आउने पर्यटकहरुलाई होल्डिङ नगरी एक साथ गन्तब्य पु¥याउने परिपाटीका कारण पनि लेंक लाग्ने समस्या जटिल बनेको हो । उच्च उचाईको स्थानमा हाईअल्टिच्युडको जोखिमबाट सुरक्षित रहन ठाउँ ठाउँमा होल्डिङ गर्दै यात्रा गर्नुपर्ने यहाँका स्वास्थ्यकर्मीहरु बताउँछन् ।

 मुक्तिनाथ दर्शनार्थीहरुको स्वास्थ्य रक्षाका लागि प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्रले मुक्तिनाथ मन्दिरमा हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टर व्यवस्थापन गरिएको वारागुङ मुक्तिक्षेत्रका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिनुभयो । मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने सिंढीबाटो नेपाली सेनाले निर्माण गरेको बिश्राम स्थलमा गरी दुई ठाउँबाट हाईअल्टिच्युड सेवा प्रदान गरिएको संयोजक बोहोराले उल्लेख गर्नुभयो ।

 बेसीको समथर ठाउँबाट हिमाली जिल्लाको उच्च क्षेत्रमा यात्रा गर्ने पर्यटकहरु मध्ये शारिरीक रुपमा अशक्तअपांगता,  उमेर कटेका ज्येष्ठ नागरिक र दीर्घ रोगका बिरामीहरुलाई हाईअल्टिच्युडको समस्या देखिने गरेको छ ।


प्रतिक्रिया