गाँजा खेती र घरेलु रक्सीलाई कानुनी मान्यता : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाँझो जमिनको सदुपयोग गर्दै गाँजा ९भाङ० खेतीलाई व्यावसायिक रूपमा अघि बढाउन र स्थानीय मदिरा ९घरेलु रक्सी० लाई ब्रान्डिङ गर्न कानुनी मान्यता दिइने बताएका छन्। पोखरामा शनिबार आयोजित अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकी प्रदेश समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त घोषणा गरेका हुन्।

मुख्यमन्त्री पाण्डेले गाँजालाई बहुपयोगी बालीका रूपमा विकास गरी औषधि उत्पादनमार्फत विदेश निर्यात गर्न सकिने सम्भावना औंल्याए। ‘बागलुङमा भाङको उत्पादन बढी हुन्छ, तर अब प्रदेशभर नै यसको व्यवस्थित खेती गर्न सकिन्छ,’ उनले भने, ‘दुरुपयोग रोक्न कडा कानुनी व्यवस्थासहित अघि बढ्नुपर्छ।’ उनले घरेलु रक्सीलाई कानुनी मान्यता दिने विधेयक यही बर्खे अधिवेशनबाट अघि बढाउने तयारी भइरहेको जानकारी दिए।

मुख्यमन्त्री पाण्डेले प्रदेशमा छिट्टै पर्यटन र कृषिलाई लक्षित गरी लगानी सम्मेलन आयोजना गरिने बताउँदै विदेशमा रहेका नेपाली उद्यमीलाई ‘राइड सेयरिङ’ लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरे। उनले देशमा केही नभएको भनेर विदेशबाट फैलाइने नकारात्मक भाष्यप्रति असन्तुष्टि व्यक्त गर्दै विदेशको ज्ञान, सीप र पुँजी स्वदेशमा लगानी गर्न आग्रह गरे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सातै प्रदेशमा आकर्षक पर्यटकीय गन्तव्य विकास गरेर पर्यटकको बसाइ अवधि २० दिन पुर्‍याउन सकिने बताए। उनले आफ्नो लगानी रहेको कम्पनीबाट १० अर्ब लगानी भइसकेको र आवश्यक परेमा व्यवसाय प्रवर्द्धनका लागि थप लगानी गर्न तयार रहेको प्रतिबद्धता जनाए।


प्रतिक्रिया