मुस्ताङमा ट्राफिक राजश्व घट्दो

यहाँको उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडकमा बर्सेनि सवारी साधनको चाप वृद्धि भईरहेपनि ट्राफिक राजश्व संकलन भने तुलनात्मक रुपमा घट्दो रहेको पाईएको छ ।

कोरला सडक बर्सेनि सहज भईरहेको अवस्थामा सवारी साधन भित्रिने क्रम बढ्दो अवस्थामा रहेपनि यहाँको ट्राफिक व्यवस्थापन,ट्राफिक सक्रियता, ट्राफिक सचेतना लगायत ठाउँठाउँमा ट्राफिक पोस्ट स्थापना गरिएका कारण ट्राफिक राजश्व संकलनमा कमी आएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक जनकलाल श्रेष्ठले जानकारी दिनुभयो । ईञ्चार्ज श्रेष्ठका अनुसार गत आर्थिक वर्षदेखि सवारी मापदण्ड विपरित सवारी चलाउनेका लागि कारवाही प्रक्रियामा लैजादा ट्राफिक भोलुयसन रेकर्ड सिस्टम (टीभिआरएस) लगायतका कारण ट्राफिक राजश्व विगतको वर्षहरुको भन्दा निकै कम संकलन भएको हो ।

आ.व. २०८१ ÷०८२ मा बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिएका  दुई हजार ९२ वटा सवारीलाई कारवाही गर्दा २६ लाख ५८ हजार ५०० रुपैया राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ । संकलित राजश्व आ.व. २०८०÷०८१ को तुलनामा ३६ दशमलव ०५ प्रतिशत कम रहेको ट्राफिक ईञ्चार्ज श्रेष्ठको भनाई छ । यसैगरी गतवर्ष अघिल्लो वर्षको तुलनामा ६२ दशमलव ६२ प्रतिशत सवारी साधन कम कारवाहीमा परेका हुन् ।

ईञ्चार्ज श्रेष्ठका अनुसार आ.व. २०८०÷०८१ मा पाँच हजार ५९८ सवारी साधनलाई कारवाहीमा गर्दा ४१ लाख ५७ हजार ५०० रुपैया ट्राफिक राजश्व संकलन भएको थियो । यसैगरी आ.व. २०७९÷०८० मा मुस्ताङ भित्रिएका  तीन हजार ४८५ वटा सवारी साधन कारवाहीमा पर्दा ४४ लाख ६३ हजार राजश्व संकलन भएको ट्राफिक राजश्व तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि कार्तिक २० गतेसम्ममा  एघार लाख ट्राफिक राजश्व संकलन भएको जिल्ला ट्राफिक ईञ्चार्ज जनकलाल श्रेष्ठले बताउँनुभयो । ईञ्चार्ज श्रेष्ठका अनुसार साउनमा १२२ सवारी साधनलाई कारवाहीमा पर्दा एक लाख ५९ हजार ,भदौंमा तीन सय ४ सवारी साधनलाई कारवाही गर्दा तीन लाख ८५ हजार,असोजमा दुई सय ४२ वटा सवारी साधनलाई कारवाही गर्दा दुई लाख १२ हजार रुपैया ट्राफिक राजश्व संकलन भएको हो । चालु आर्थिक वर्षको अनुपात हेर्दा (टीभिआरएस) रेकर्ड सिस्टममा गएपनि गतवर्षको भन्दा आशिंक ट्राफिक राजश्व वृद्धि हुने अनुमान गरिएको छ ।

यसैगरी पछिल्लो तीन आर्थिक वर्षमा राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक अन्तर्गत मुस्ताङ खण्डमा ४३ वटा सवारी दुर्घटना हुँदा नौ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक ईञ्चार्ज जनकलाल श्रेष्ठले जानकारी दिनुभयो । ईञ्चार्ज श्रेष्ठका अनुसार आ.व. २०७९÷०८० मा २९ दुर्घटना हुँदा ४ जना,आ.व. २०८०÷०८१ मा ८ वटा सवारी दुर्घटना हुँदा २ जना र आ.व. २०८१÷०८२ मा ६ वटा सवारी दुर्घटना हुँदा ३ जना व्यक्तिले ज्यान गुमाउन पुगेको ईञ्चार्ज श्रेष्ठको भनाई छ । यस्तै चालु आ.व.को तीन महिना अवधिमा तीन वटा सवारी दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका छन् ।

मुस्ताङमा जिल्ला प्रहरी कार्यालयको पहलमा प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले गतवर्षदेखि निरन्तर सवारी दुर्घटना न्यूनिकरण तथा लेंक लाग्ने समस्या लगायतका बारेमा मुस्ताङ भित्रिएका पर्यटक तथा सवारी साधनका चालकहरुलाई लक्षित गरी चालकसंग एक मिनेट र यात्रुसंग दुई मिनेट नामक कार्यक्रम संञ्चालन गर्दैआईरहेको छ ।


प्रतिक्रिया