मुस्ताङमा अत्याधुनिक शौचालय सञ्चालनमा

जोमसोम— मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि मुस्ताङको मुटु घरपझोङ गाउँपालिका—३ पुथाङ एअरपोर्ट बजारमा आत्याधुनिक शौचालय भवन निर्माण भएसंगै सञ्चालनमा आएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालय र पर्यटन तथा उद्योग कार्यालय मुस्ताङको सयुक्त लागत साझेदारीमा पुथाङ एअरपोर्ट बजारको फलफूल कोशेली घर नजिकै दुई तले अत्याधुनिक शौचालय भवन निर्माण गरिएको हो ।

 पर्यटकको बढी भीडभाड रहने मुस्ताङ सदरमुकाम जोमसोमको पुथाङ एअरपोर्ट नजिकै अत्याधुनिक दुई तले शौचालय भवन निर्माणका लागि घरपझोङ गाउँपालिकाले ८ लाख ५० हजार  र पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले ८ लाख रुपैया लागत साझेदारी गरी निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेम पौडेलले जानकारी दिनुभयो । पर्यटन तथा उद्योग कार्यालयले अत्याधुनिक शौचालय भवनको फाउन्डेसन ,पिल्लर संरचना र उपल्लो तला थप्न लागत साझेदारी गरेको कार्यालय प्रमुख पौडेलले बताउँनुभयो ।


 यसैगरी उक्त अत्याधुनिक शौचालय भवन निर्माण तथा शौचालयका लागि आवश्यक सामाग्री खरिदकार्यमा घरपझोङ गाउँपालिकाले लागत साझेदारी गरेको गाउँपालिकाका सवईन्जिनीर राजन कडेलले जानकारी दिनुभयो । गाउँपालिका र पर्यटन तथा उद्योग कार्यालयको लागत साझेदारीमा निर्मित अत्याधुनिक शौचालयको संरक्षण तथा व्यवस्थापन गर्ने जिम्मा गाउँपालिकालाई प्राप्त भएको सवईन्जिनीयर कडेलको भनाई छ ।

 

 घरपझोङ गाउँपालिकाले जोमसोमको पुथाङ एअरपोर्ट बजारमा निर्माण सम्पन्न भएको अत्याधुनिक शौचालयको मासिक ११ हजार भाडा लिने गरी स्थानीय व्यक्तिसंग ठेक्का सम्झौता गरेको छ । गाउँपालिकाको आन्तरिक राजश्वमा समेत टेवा पुग्ने र पर्यटकका लागि पनि सेवा पु¥याउने उद्देश्यले उक्त अत्याधुनिक शौचालय सञ्चालनमा आईसकेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो ।

 अत्याधुनिक शौचालय भवनको माथिल्लो तलामा आवासक कोठा र भईतलामा  महिला र पुरुषका लागि अलग÷अलगत शौचालयको व्यवस्था मिलाईएको छ । यसका अलावा महिलाहरुको लागि सेनेटरी प्याड प्रयोग गर्नका लागि समेत बेग्लै कोठा निर्माण गरिएको छ । सशुल्क सुविधासहितको अत्याधुनिक शौचालय प्रयोग गरेवापत पर्यटकले तोकिएको शुल्क तिर्नु पर्ने हुन्छ ।

यसअघि मुस्ताङ सदरमुकाम जोमसोमको पुथाङ एअरपोर्ट नजिकै शौचालय नहुँदा पर्यटकलाई दिसा पिसाव गर्नका लागि निकैनै समस्या हुने गरेको थियो । मुकामका होटलहरुमा पाहुनाका लागि मात्रै शौचालय प्रयोग गर्न पाईने र होटलमा खाने बस्ने नगरेका पर्यटकलाई शौचालय उपयोग गर्न नपाईने समस्या थियो । शौचालय भवन सञ्चालनमा आएसंगै सार्वजनिक बस,जीप र मोटरसाईकलमा यात्रा गर्ने यात्रुले सहज रुपमा शौचालय उपयोग गर्न पाईने व्यवस्था मिलाईएको गाउँपालिका अध्यक्ष लालचनले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया