नेचुङको मुस्ताङ भन्सारमा बस्दैनन् कर्मचारी



जोमसोम—उत्तरी चीनसंग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—२ छोसेर स्थित नेचुङमा मुस्ताङ भन्सार कार्यालय छ । त्यहाँ पछिल्लो केही हप्ता अघि देखि कुनै पनि कर्मचारी पनि बस्ने गरेका छैनन् ।

 कोरलानाका खुल्ला नभएको अवस्थामा पनि भन्सार विभागले उपल्लो मुस्ताङको छोसेरमा भन्सार कार्यालय स्थापना गरेको थियो । जोमसोममा यही भन्सार कार्यालयको ईकाई कार्यालय पनि छ । यहाँको भन्सारले बर्सेनि नेपाल—चीनबीच हुँने अन्तरदेशीय अल्पकालिन ब्यापार मेलामा सीमित अवधिका लागि राजश्व उठाउन केही कर्मचारी त्यहाँ बस्थे । काम नपर्दा त्यहाँ कार्यरत भन्सार कार्यालयका कर्मचारीहरु बस्दैनथे ।


 विगतदेखिनै गुमनाम रहँदै आईरहेको मुस्ताङ भन्सार कार्यालयमा चालु वर्षको कार्तिक २७ गते कोरलानाका औपचारिक रुपमा खुल्ला भएसंगै त्यहाँको भन्सार कार्यालयमा आशिंक कर्मचारी बस्ने गरेका थिए । हिउँदयाम भरी भन्सार कार्यालयमा कार्यालय सहयोगी मात्रै बस्दै आईरहेकोमा पछिल्लो समय मुस्ताङ भन्सारमा कार्यालय सहयोगी समेत बस्न छोडेको त्यस क्षेत्रका एक स्थानीय बासिन्दाले जानकारी दिए ।

मुस्ताङ भन्सार कार्यालयमा ७ जना कर्मचारीको दरबन्दी छ । जसमा १ जना अधिकृत, २ जना नायब सुब्बा, १ लेखापाल, १ कम्प्यूटर अपरेटर र २ जना कार्यालय सहयोगीको दरबन्दी छ । हालसम्म मुस्ताङ भन्सार कार्यालयलाई अधिकृत तहको कार्यालय प्रमुखको दरबन्दी पदपूर्ती हुन सकेको छैन । ७ जना कर्मचारी दरबन्दी रहेपनि मुस्ताङ भन्सारले दरबन्दी अनुसारको कर्मचारी पाएको छैन ।

 नेपाल—चीन नेचुङ÷लिजी कोरलानाकामा अहिले पनि ब्यापारिक कारोबार भईरहेको छ । विगतमा अल्पकालिन आकल झुकल खुल्ला हुने यो नाका  विगत ६ महिनादेखि उपल्लो मुस्ताङका नागरिकका लागि बाह्रै महिना खुल्ला गरिएको हो । अहिले पनि दैनिक १०÷१२ जना ब्यापारीहरु नेपाल—चीन नेचुङ÷लिजी कोरलापासको चीनियाँ भूमीमा पुगेर मालसामान आयात गर्ने गरेका छन् । नाकामा ब्यापारिक कोरोबार आशिंक रुपमा हुने गरेपनि त्यहाँ भन्सार कार्यालयमा राजश्व संकलन गर्ने कर्मचारी नहुँदा समस्या उत्पन्न भएको हो । 

लोमान्थाङको नेचुङ भन्सार कार्यालयको क्वारेन्टाईन भवनमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका सुरक्षाकर्मी बस्छन् । त्यही भन्सार कार्यालय परिसरमा छोसेर प्रहरी चौकीका कर्मचारी बस्छन् ।त्यहाँ बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरिएपनि भन्सारका कर्मचारी त्यहाँ बस्न छाडिसकेको नाम नबताउने सर्तमा त्यसक्षेत्रका एक सुरक्षाकर्मीले जानकारी दिए ।‘खै किन हो केही हप्तादेखि भन्सारमा एक जना पनि कर्मचारी छैनन्, केही प¥यो की कुन्नी,उक्त सुरक्षाकर्मीले भने, नाका त खुल्लै छ, ब्यापारीहरु पनि छिटफुट नाकामा गएर सामान ल्याउने गरेका छन् ।’

 मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उपल्लो मुस्ताङमा रहेका कार्यालयहरुको अनुगमन तथा उपल्लो मुस्ताङीलाई सीमापार पास लिन छुटेकालाई पास वितरण गर्न आफु त्यसतर्फ जाँदै गरेको जानकारी थिए । प्रजिअ पन्तले भन्सारमा कर्मचारी छैनन भन्ने जानकारी आएको र के रहेछ त्यहाँ पुगेर रिपोर्टिङ गर्ने बताए ।

 चीनले गत कार्तिक २७ गते उपल्लो मुस्ताङका दुई पालिकाका नागरिकलाई लक्षित गरी कोरलानाका बाह्रै महिना खुल्ला गरेको थियो । नाका खुलेसंगै त्यस क्षेत्रका नागरिकले दैनिक उपभोग्य मालसामान खरिद ÷बिक्री गर्न सहज भएको छ । सीमा क्षेत्रका बासिन्दाले चीनको कोरलानाका स्थित लिजी पुगेर खाद्यान्न,लत्ताकपडा,कस्मेटिक र दैनिक उपभोग्य सामान खरिद गर्ने गर्छन । विगतमा यही नाकाबाट भेडा—च्यांग्रा तिब्बतबाट आयात गरिन्थ्यो ।यतबाट भने कृषि उपज सामाग्री ,जटिबुटी र पश्मिना निर्यात हुन्थ्यो ।

 नेपाल—चीन कोरलानाका औपचारिक रुपमा बाह्रै महिना खुल्ला गरिएपनि यो नाकाबाट हालसम्म भेडा—च्यांग्रा आएका छैनन् । सरकारको पहलमा नाका खुल्ला भएपनि त्यहाँ भन्सार कार्यालयमा पशु क्वारेन्टाईन पूर्वाधार नहुँदा भेडा—च्यांग्रा नेपालतर्फ आयात गर्ना समस्या छ । 



प्रतिक्रिया