मुस्ताङबाट चल्ने बस तथा जीपको भाडादर समायोजन ,रु. ५० देखि २ सयले घट्यो भाडा


जोमसोम—हिमाली जिल्ला मुस्ताङबाट संञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनको यात्रु भाडादर समायोजन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जोमसोमबाट संञ्चालन हुँने  बस तथा जीपको भाडादर समायोजन गरिएको जनाएको छ ।

मुस्ताङका सिडियो जनकराज पन्तको अध्यक्षतामा बुधबार जिल्ला स्थित  विभिन्न यातायात व्यवसायीहरु सम्मिलित भाडादर निर्धारण समितिको बैठकले चैत्र १ गतेदेखि लागु हुँने गरी यात्रु भाडादर समायोजन गरेको बताईएको छ । घोडाघोडी यातायात व्यवसायी,म्याग्दी कोरला यातायात व्यवसायी  र मुस्ताङ यातायात व्यवसायी लगायत जोमसोमबाट चल्ने हलुका जीपकारको भाडादर समायोजन गरिएको सिडियो पन्तले बताए ।

जिल्लामा यसअघि निर्धारण गरिएको साविकको भाडादरमा केही कम हुँने यात्रुबर्गलाई सहुलियत प्रदान गर्न भाडादर समायोजन भएको सिडियो पन्तको भनाई छ ।

परिवर्तीत भाडादरमा मुक्तिनाथबाट काठमान्डौं छुट्ने बसको  २ सय रुपैया घटेर २३ सय रुपैया कायम गरिएको छ । जोमसोमबाट काठमान्डौं छुट्ने बसको भाडा दुई हजार कायम गरिएको छ ।

यसैगरी, जोमसोम —पोखराको लागि भाडादर  १ सय रुपैया घटेर १३ सय रुपैया कायम गरिएको छ । जोमसोमबाट बेनीको भाडा १ हजार ५० रुपैया र जोमसोमबाट म्याग्दी तातोपानीको भाडादर ९ सय कायम गरिएको छ । भाडादर समायोजनसंगै यात्राका क्रममा झर्ने विभिन्न स्थानको भाडादर पनि सोही अनुपातको घटाईएको सिडियो पन्तले जनाए ।

यस्तै जोमसोम रुढबाट चल्ने जीपकारको भाडादर पनि घटेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मुक्तिनाथ —पोखराको भाडा २५ सय,जोमसोम—पोखराको भाडा २१ सय,जोमसोम—बेनी १८ सय र जोमसोम—तातोपानी भाडा १५ सय रुपैया निर्धारण गरिएको हो ।

मुस्ताङको मुक्तिनाथ र जोमसोमबाट छुटेका जीपहरुले यसका अलावा अन्य स्थानमा गन्तव्य तय गर्दा यात्रुहरुले सोही अनुपातको भाडादर तिर्नुपर्ने गरी नयाँ भाडादर समायोजन गरिएको हो ।

जोमसोमबाट उपल्लो मुस्ताङको लोमान्थाङका लागि १७ सय ५०,जोमसोम—चराङ १४ सय ५० र जोमसोम—घमीको भाडा १२ सय ५० कायम गरेको हो । अहिले कायम गरिएको भाडादर बर्खायामको समय पनि सोही अनुसार हुँने गरी व्यवसायीको सहमतीका भाडादर निर्धारण गरिएको बताईएको छ ।

 बस र जीपको भाडादर  रु . ५० देखि २ सय रुपैयासम्म घटाएर नया ँ भाडादर कायम भएसंगै लामो तथा छोटो दुरीमा यात्रा गर्ने यात्रुबर्गहरुलाई आशिंक राहत पुग्ने जनाईएको छ ।
मुस्ताङमा चल्ने तथा मुस्ताङबाट जिल्ला बाहिरिने ट्याक्सीको समेत बैज्ञानिक ढंगल भाडादर समायोजन गर्ने तयारी गरिएको छ । 


प्रतिक्रिया