स्पेनिस विद्यार्थी टोली मुस्ताङमा

मुस्ताङ,१८,साउन ।

हिमाली जिल्ला मुस्ताङको धार्मिक,सांस्कृतिक,ऐतिहाँसिक र  मौलिक कलासंस्कृतिलाई नजिकबाट सिक्न र बुझ्न स्पेनको एक विद्यार्थी टोली गत बिहिबारदेखि मुस्ताङमा छ । स्पेनको ‘रुटा ईन्ट्री’ नामक संस्थाका विद्यार्थी टोली नेपालमा शैक्षिक तथा सांस्कृतिक भ्रमण गर्ने शिलशिलामा हिमाली जिल्ला मुस्ताङ आएका हुन् ।

 मुस्ताङको जिवन्त कलासंस्कृति , मौलिक भेषभूषा रहनसहन र परम्परालाई नजिकबाट अवलोकन गरी शैक्षिक तथा सांस्कृतिक ज्ञान आर्जन गर्ने उद्देश्यले १५५ जनाको स्पेनिस विद्यार्थी टोली मुस्ताङ आएका हुन् । हिमालयन योगी एडभेन्चर प्रा.लि.को व्यवस्थापनमा मुस्ताङ आएका स्पेनिस विद्यार्थी टोलीले वारागुङ मुक्तिक्षेत्रको विभिन्न स्थानमा भ्रमण गरेका व्यवस्थापक  सुदिप थापाले जानकारी दिनुभयो । उहाँका अनुसार स्पेनिस विद्यार्थी टोलीले वारागुङ मुक्तिक्षेत्रको कागबेनी,लुप्रा,मुक्तिनाथ र जोमसोम लगायतका क्षेत्रहरुको भ्रमण गरेका छन् ।

 मुस्ताङको ऐतिहाँसिक,धार्मिक,सांस्कृतिक र जैविक विविधताहरुको अध्ययन अनुसन्धानपूर्ण शैक्षिक तथा सांस्कृतिक भ्रमणमा स्पेनिस विद्यार्थी टोलीले नजिकबाट बुझ्ने र सिक्ने अवसर प्राप्त गरेको व्यवस्थापन थापाको भनाई छ ।  स्पेनिस विद्यार्थीहरुको सहजीकरणका लागि हिमालयन योगी एडभेन्चर प्रा.लि.को तर्फबाट व्यवस्थापक थापासहित २० जनाको नेपाली प्रतिनिधि टोली रहेका छन् ।

 व्यवस्थापक थापाका अनुसार स्पेनको रुटा ईन्ट्री नामक संस्थाका विद्यार्थीहरुले बर्सेनि विभिन्न देशहरुको शैक्षिक तथा सांस्कृतिक भ्रमण गर्ने गरेका व्यवस्थापक थापाले बताउँनुभयो । सोही भ्रमणका क्रममा स्पेनिस विद्यार्थी टोलीले मुस्ताङ आएको उहाँको भनाई छ । टोलीले मुस्ताङसहित पोखरा र चितवन लगायतका स्थानको समेत भ्रमण पुरा गरिसकेका छन् ।


प्रतिक्रिया