जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिकाका युवापंक्ति यतिबेला स्थानीय स्तरको प्राकृतिक तथा जैविक सम्पदा जोगाउन जुटेका छन् । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत घरपझोङ गाउँपालिकाले उनीहरुलाई पालिका भित्रका प्राकृतिक तथा जैविक सम्पदाको सरक्षण,सम्वद्धन र प्रर्वद्धन गर्ने कामकाजमा खटाईएको हो ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय स्तरका बेरोजगार युवायुवतीलाई प्राकृतिक श्रोतको रक्षा गर्न परिचालन गर्ने गरी यो कार्यक्रम नियमित कार्यान्वयनमा रहेको छ । गाउँघरका बेरोजगारी युवायुवतीहरुलाई अल्पकालिन रोजगार सृजना गर्ने उद्देश्यले यसप्रकारको कार्यक्रममा संघीय सरकार र विश्व बैंकबाट बैदेशिक सहायता रकम उपलब्ध हुँदै आईरहेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत युवाहरुको शीप क्षमता अभिवृद्धि गर्ने, स्थानीय प्राकृतिक सम्पदाको अपनत्व दिलाउँने, न्यूनतम रोजगार उपलब्ध गराउने र बेरोजगारी समस्यालाई न्यूनिकरण गर्दै लैजाने सरकारको उद्देश्य रहेको घरपझोङ गाउँपालिकाको रोजगार सेवा केन्द्रकी संयोजक शर्मिला श्रीसले जानकारी दिनुभयो । यसप्रकारको प्रधानमन्त्री रोजगार कार्यक्रमले पालिका भित्रको जीर्ण अवस्थामा रहेको प्राकृतिक सम्पदालाई संरक्षण तथा विकास गर्न टेवा पुगेको रोजगार सेवा केन्द्रकी संयोजक श्रीसको भनाई छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि संघीय सरकारबाट ११ लाख ४९ हजार र बैदेशिक सहायता ३० लाख ४० हजार गरी ४१ लाख ८९ हजार पुँजिगत बजेट विनियोजन भएको रोजगार सेवा केन्द्रकी संयोजक श्रीसले बताउँनुभयो । मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत स्थानीय बेरोजगार अवस्थामा रहेका युवायुवतीहरुलाई पर्यटकीय पदमार्ग स्तरोन्नति, छप्पनी ढुंगा मिलाउनेदेखि बिच्छ्याउनेसम्म, सिचाई कुलो मर्मत सुधार, रैथाने बाली बिरुवाको वृक्षारोपण, सरसफाई तथा कृषि गह्रा सुधार लगायतका कामहरुमा परिचालन गरिएको रोजगार सेवा केन्द्रकी संयोजक श्रीसले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आ.व.मा गाउँपालिकाको ५ वटै वडाहरुमा युवाहरुलाई रोजगारमूलक कामहरुमा व्यवस्थापन गरिएको छ । जसअन्तर्गत वडा एकको छैरो चिमाङ गाउँमा छप्पनी ढुंगा बिच्छ्याउने,सिंचाई कुलो मर्मत सुधारका साथै पर्यटकीय पदमार्ग मर्मत सम्भार लगायतका कामहरुको जिम्मेवारी दिईएको छ । वडा दुई मार्फामा सिचाई कुलो मर्मत संम्भार, रैथाने बालीको वृक्षारोपण तथा त्यस क्षेत्रको सरसफाईका साथै खेतबारीको कृषि गह्रा सुधारको कामकाजमा खटाइएको हो । वडा तीन स्याङ गाउँमा सिचाई कुलो मर्मत सम्भार गरिदै छ ।
यसैगरी गाउँपालिकाको वडा चार जोमसोममा धोफु (ढुंगे ओढार) जाने सडक बाटो मर्मत सम्भार सुरु गरिएको छ । वडा पाँच ढुम्बा गाउँ अन्तर्गत ढुम्बा गाउँदेखि कुछप तरेङ्गा गुम्बा जाने जीर्ण बाटो मर्मत संम्भार भईरहेको छ । सोही वडाको भुतीधाङमा वृक्षारोपण क्षेत्रमा सरसफाईका साथै पार्क निर्माण तथा मर्मत सम्भार लगायतका कामहरु भईरहेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवाहरुलाई एक सय दिनसम्म दैनिक ७ सय ६० रुपैया ज्याला सुविधा दिएर स्थानीय सम्पदा जोगाउन काममा खटाईएको रोजगार शाखाकी संयोजक श्रीसको भनाई छ । उनीहरुलाई दैनिक ८ घण्टा काममा लगाउने गरी सम्वन्धि वडाहरुमा त्यहीका युवायुवतीलाई व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।
चालु वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममा मुस्ताङको घरपझोङ गाउँपालिकाको रोजगार शाखा केन्द्रले पालिकाको ५ वटै वडामा गरी ५५ जना युवा जनशक्ति व्यवस्थापन गरेको रोजगार सेवा केन्द्रकी संयाजक श्रीसले बताउँनुभयो । यसैगरी रोजगार कार्यक्रममा सहभागी युवयुवतीहरुलाई फिल्डमा काम गर्दा जोखिम उत्पन्न नहोस भन्ने हेतुले आवश्यक सुरक्षा सामाग्रीका साथै काम गर्ने घरेलु उपकरणहरुको समेत व्यवस्था गरिएको उहाँको भनाई छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिकालाई गतवर्ष रोजगारी सृजना गर्ने गरी संघीय सरकारबाट २१ लाख ४९ हजार र वैदेशिक ऋण सहायता २८ लाख ५८ हजार बजेट विनियोजन भएको थियो । गतवर्ष घरपझोङ गाउँपालिकाको रोजगार सेवा केन्द्रले ५ वटै वडाहरुमा गरी ६५ जनालाई अल्पकालिन रोजगारी उपलब्ध गराएको संयोजक श्रीसले उल्लेख गर्नुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली