कोरलामा बल्यो बिजुली



जोमसोम— उत्तर चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ स्थित कोरलानाका क्षेत्रमा बिहिबारदेखि बिजुली बलेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङ र स्थानीय जनप्रतिनिधिहरुको संयुक्त पहलमा नेपाल विद्युत प्राधिकरणले कोरलानाकामा बिद्युत लाईन विस्तार गरेको हो । 

यसअघि नेपाल विद्युत प्राधिकरणले विद्युत पोल विस्तार गरेको थियो । उपल्लो मुस्ताङीलाई कोरलानाका खुल्ला गरिएपछि त्यहा नेपाल बिद्युत प्राधिकरणले बिद्युत प्रशारणलाईनको काम सम्पन्न गरेको थियो । कोरलानाकामा अध्यागमन कार्यालय र सुरक्षा पोस्ट स्थापना गर्ने तयारी स्वरुप बिद्युत प्रशारण लाईन र मोवाईल टावर तथा ईन्टनेटरको पहुँच पू¥याउने पहल धमाधम भईरहेको मुस्ताङका प्रजिअ जनकराज पन्तले जानकारी दिए ।‘ नाकामा अध्यागमन  र अस्थायी सुरक्षा पोस्ट राख्ने तयारी छ, त्यसैका लागि हामीले अथक प्रयास गरेर आवश्यक पूर्वाधार निर्माणको काम थालिसकेका छौं,प्रजिअ पन्तले भने,‘ केही हप्ताको प्रयासपछि कोरलानाकामा बिद्युत प्रशारण लाईन विस्तार गरी बिजुली बाल्न सकेका छौं, अब मोवाईल र ईन्टरनेट जडान गर्ने कार्य समेत भईरहेको छ। प्रजिअ पन्तले कोरलानाकामा अध्यागमन र भन्सार कार्यालयलाई बिद्युत र मावाईल नेटवर्क आवश्यकता पर्ने भएकाले त्यसको व्यवस्थापनमा जुटेको जानकारी दिए । नाकाको अस्थायी संरचनामा बिद्युत वायरिङ जडान गरी बत्ती बलेको प्रजिअ पन्तले उल्लेख गरे ।

मुस्ताङको उत्तरी कोरलानाका गत कार्तिक २७ गते चीनले औपचारिक रुपमा उपल्लो मुस्ताङका दुई पालिकालाई खुल्ला गरेसंगै कोरलानाकामा उपल्लो मुस्ताङीको आउजाउ बढेकोे छ ।नाका खुल्ला भएपछि उपल्लो मुस्ताङीले बैकल्पिक रोजगारी प्राप्त गरेका छन् । नाकामा केहीले त्रिपाल टाँगेर ब्यापार व्यवसाय समेत चलाएका छन् । नाकामा कोभिडपछि चीनले केही थान प्रिफाईप कन्टेनर दिएको थियो  ।  गत वर्ष प्रदेश सरकारले ५० लाख लागतमा निर्माण गरेको एसवाई प्यानलको भूकम्प प्रतिरोधात्मक तथा वातावरणमैत्री ६ कोठे अस्थायी संरचना निर्माण भईसकेको छ । उक्त अस्थायी संरचना र चीनले दिएको प्रिफाईप कन्टेनरमा अध्यागन र सुरक्षा पोस्टलाई व्यवस्थापन गर्ने तयारी गरिएको मुस्ताङका  प्रजिअ पन्तको भनाई छ । नाकालाई बिद्युत चलायमान बनाउन र यसलाई दीर्घकालिन व्यापारिक हबको रुपमा विस्तार गर्ने प्रारम्भिक चरणको सकारात्मक सन्देश दिने कार्यको थालनी भईरहेको प्रजिअ पन्तको भनाई छ ।

कोरलानाकामा दैनिक कार्यालयको गतिविधि संञ्चालन हुने र साँझ त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मी नेचुङमा बस्ने तयारी छ । नाकामा अध्यागमन कार्यालय बसेपछि भन्सार राजश्व संकलन गर्नेकार्यलाई गतिशील बनाईने छ । नाकामा अध्यागन बसेपछि उपल्लो मुस्ताङीलाई त्यहाँ ईन्ट्री गरी चिनको क्षेत्रमा जान सहज हुनेछ । नाकामा पशु क्वारेन्टाईन,खाद्य क्वारेन्टाईन र पेय पदार्थको क्वारेन्टाईन समेतको चेकजाँच हुनेछ ।

नाकामा अध्यागमन  र अस्थायी सुरक्षा पोस्टलाई लक्षित गरी बिद्युत र संञ्चारको पहुँच स्थापित गर्ने कार्यले प्राथमिकता पाएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । योसंगै नेपाल—चीन कोरलानाकाको दश गजा क्षेत्रमा केन्द्रिय बिद्युत प्रशारण लाईनको बत्ती बल्न थालेको र केहीदिनमा संञ्चारको पहुँच जोड्ने कार्य भईरहेको अध्यक्ष बिष्टको भनाई छ । नाकामा बिजुली पुगेपछि त्यहा त्रिपाल टाँगेर व्यवसाय चलाउने उपल्लो मुस्ताङीहरु निकै उत्साहित भएका छन् । कोरलामा बिजुली पुगेपछि त्यहाँ प्रतिकुल मौसममा समेत हिटर तापेर बस्न सकिने छ भने डिसहोम मार्फत टिभि हेर्न सुविधा प्राप्त हुने बताईएको छ । नाकामा करिव एक दर्जन मुस्ताङीले चिनको तिब्बती भूमी लिजीमा पुगर सामान आयात गरी पर्यटक तथा व्यापारीहरुलाई बिक्री गर्ने गर्छन ।

 पछिल्लो समय कोरलानाकामा आन्तरिक पर्यटकको चहल पहल बढेपछि त्यहाँ खाजाघर र चिनिया सामाग्री किनमेल गर्न पर्यटकलाई सहज भएको छ । कोरलानाकामा असोज ८ गते भन्सार,अध्यागमन र अस्थायी सुरक्षा पोस्टको स्थापना गर्ने तयारी गरिएको भएपनि आन्तरिक समस्याका कारण त्यसको तय अझै हुन सकेको छैन ।तर, असोज महिना भित्रै उक्त कार्यालयहरु स्थापना हुनेछ ।

 गत कार्तिक २७ गते उपल्लो मुस्ताङीका लागि मात्रै खुल्ला गरिएको कोरलानाकामा जिल्ला प्रशासन कार्यालय मुस्ताङले मुस्ताङको तल्लो क्षेत्रका ३ पालिकाका नागरिकलाई पनि चीन जान पाउने सीमापार वितरण गर्ने कार्य सुरु गरिसकेको छ ।  यसका लागि प्रशासनले सम्वन्धित तहको सिफारिसमा सीमापार पास उपलब्ध गराउन थालेको हो । गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मेरुदण्ड मानिएको उत्तरी कोरलानाकालाई स्थायी पूर्वाधार निर्माण गरी दीर्घकालीन रुपमा नाका संञ्चालन हुने सकेमा सबै क्षेत्रलाई फाईदा पुग्नेछ ।

 कोभिड अघि चीनको स्वशासित क्षेत्र तिब्बती भूमीमा अस्थायी अल्पकालिन ब्यापार मेला चल्थ्यो । त्यहा उपल्लो मुस्ताङीहरुले बर्सेनि असार  र भदौमा आफुलाई चाहिने घरायसी मालसमान ,लत्ताकपडा,किराना, कृषि उपकरण र ईलेक्ट्रोनिक समान किनेर ल्याउथे । अहिले चीनले बाह्रै महिना नाका खुलिदिएपछि उपल्लो मुस्ताङीले चीनिया भूमी लिजीमा पुगेर सामान खरिद गर्न सहज भएको हो । उपल्लो मुस्ताङले नेपालमा पाईने सामान, कृषि उत्पादन,यार्सा गुम्बा लगायतका सामानहरु चीनको तिब्बततर्फ निर्यात गर्छन ।



प्रतिक्रिया