मुस्ताङमा करिव दुई लाख नगदसहित ८ जुवाडे पक्राउ

जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिका —४ जोमसोमको एक होटलमा मंगलबार साँझ जुवातास खेलिरहेको अवस्थामा प्रहरीले  ८ जना जुवाडेलाई पक्राउ गरेको छ । घरपझोङ—४ जोमसोममा सञ्चालित होटल शर्मिलामा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा होटल सञ्चालकसहित ८ जना जुवाडे जुवा खालबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जुवातास खेलिरहेको सूचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी निरीक्षक विशाल अधिकारीको कमाण्डमा  खटिएको प्रहरी टोलीले उक्त होटलमा रितपूर्वक छापा मारेको थियो ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले  जुवातास खेलिरहेको अवस्थामा फेला पारी ८ जना व्यक्तिसहित १ लाख ९९ हजार नगद रकम बरामद गरेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले घरपझोङ—३ एअरपोर्ट बस्ने लालबहादुर गुरुङ, घरपझोङ—३ एअरपोर्ट बस्ने मिङमार गुरुङ, जलजला गापा—१ पर्वत बस्ने ताराबहादुर गर्जुवा, घरपझोङ—५ बस्ने श्याम गुरुङ, घरपझोङ—४ जोमसोम बस्ने टिकबहादुर श्रीस (होटल संञ्चालक),सिद्धलेंक गापा—५ धादिङका वीरबहादुर घले, घरपझोङ—५ ठिनीका विरेन्द्र थकाली र घरपझोङ—५ ढुम्बा बस्ने प्रेमबहादुर गुरुङलाई प्रहरीले जुवातास खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरेर नियन्त्रणमा लिएको हो । प्रहरीले जुवाखाल र जुवाडेको साथमा भएको नगदसमेत बरामद गरेको जनाएको छ 

जिल्ला प्रहरी कार्यालय मुस्ताङले जुवातासको खालमा बरामद भएको नगद रकम कानुन बमोजिम मुचुल्का उर्ठाएर बरामद गरेको जनाएको छ । जुवातासको खालमा पक्राउ परेका व्यक्ति विरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया