यहाँको एक मात्रै २५ शैयाको प्रदेश अस्पताल जोमसोममा भरपर्दो एम्बुलेन्स सुविधा नहुँदा सेवाग्राहीलाई समस्या पर्ने गरेको छ । प्राकृतिक विपद ,दुर्घटना र अन्य कारणले गम्भिर बिरामी भई अस्पताल आउनेहरुको लागि सुगमको अस्पतालमा रिफर गर्नुपर्दा प्रदेश अस्पतालसंग भरपर्दो एम्बुलेन्स सेवा नहुँदा मुस्ताङका सेवाग्राहीहरुमा समस्या र सास्ती पर्ने गरेको छ ।
मुस्ताङको जोमसोम स्थित प्रदेश अस्पतालमा एक थान एम्बुलेन्स भएपनि त्यो पन्ध्र वर्ष पुरानो जीर्ण भएकाले संञ्चालनमा ल्याउन समस्या परेको प्रदेश अस्पताल जोमसोमका मेडिकल सुपरिटेन्डेन्ट डा. समिक्षा कडेलले जानकारी दिनुभयो । ‘अस्पतालसंग एक एम्बुलेन्स भएपनि त्यो नाम मात्रैको छ, पटक पटक बिग्रिएर दुःख दिन्छ, मेडिकल सुपरिटेन्डेन्ट डा. कडेलले भन्नुभयो, लामो दुरीमा चलाउन त समस्या हुनेनै भयो मुस्ताङ भित्र पनि संञ्चालन गर्न नसकिने खालको एम्बुलेन्स जीर्ण भईसक्यो ।’
जिल्लाको प्रदेश अस्पतालमा एक थान कन्डिसन खालको एम्बुलेन्स हुनै पर्ने हुन्छ ।तर यहाँको प्रदेश अस्पतालमा नाम मात्रैको जीर्ण एम्बुलेन्सले अस्पतालको एम्बुलेन्स सेवालाई काम चलाउ सम्म धान्न मुश्किल परेको छ । प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कडेलका अनुसार अस्पतालका लागि नयाँ एम्बुलेन्स खरिद गरी पठाईदिन लिखित माग गरिएको भएपनि हालसम्म प्राप्त हुन नसकेको बताउँनुभयो ।
यहाँको प्रदेश अस्पतालले दुई वर्षदेखि नयाँ एम्बुलेन्स पठाईदिन प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयको आपूर्ति शाखासंग पटक÷पटक माग गरिएको भएपनि हालसम्म आईनसकेको उहाँले बताउँनुभयो । मेडिकल सुपरिटेन्डेन डा. कडेलले प्रदेश सरकारले अस्पतालका लागि चाँडै एम्बुलेन्स पठाईदिने आश्वासन प्राप्त भएकाले विगतदेखिको एम्बुलेन्स सेवाको समस्या अन्त्य हुने उल्लेख गर्नुभयो ।
मुस्ताङको प्रदेश अस्पताल भरपर्दो एम्बुलेन्स नभएको अवस्थामा सदरमुकामसमेत रहेको घरपझोङ गाउँपालिकामा रहेको एम्बुलेन्स पनि बिग्रिएर थन्किएको छ । अस्पताल नजिकै रहेको गाउँपालिकाको एम्बुलेन्स समेत बिग्रिएर थन्किएपछि प्रदेश अस्पतालबाट रिफर हुने बिरामीका लागि थप समस्या उत्पन्न भएको हो । गाउँपालिका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले गाउँपालिकासंग एक एम्बुलेन्स रहेपनि अहिले उक्त एम्बुलेन्स बिग्रिएर थन्किन पुगेको जानकारी दिनुभयो ।
पाँच स्थानीय तह रहेको हिमाली जिल्ला मुस्ताङका चार स्थानीय तहमा कुल ८ वटा एम्बुलेन्स छन् । जसमध्ये आधाजति एम्बुलेन्स मात्रै प्रयोगमा आउने गरेको पाईएको छ । मुस्ताङको तल्लो क्षेत्र थासाङमा चार वटा एम्बुलेन्स भएपनि तीन वटा मात्रै पालिकामा दर्ता रहेको प्रमुख प्रशासकीय अधिकृत विकास परियारले जानकारी दिनुभयो । उहाँका अनुसार लेते प्राथमिक स्वास्थ्य केन्द्र, कोवाङ स्वास्थ्य चौकी, कुञ्जो स्वास्थ्य चौकी र नालान्दा बुद्धिस बोडिङ स्कुलमा एक÷एक एम्बुलेन्स रहेको बताउँनुभयो ।
यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको एक÷एक थान बिरामी बोक्ने एम्बुलेन्स रहेको बताईएको छ । उपल्लो मुस्ताङका नागरिक तथा पर्यटकहरु बिरामी हुदा त्यहाँका गाउँपालिकाको एम्बुलेन्सले निरन्तर सेवा प्रवाह गरिहेको लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी बिष्टले जानकारी दिनुभयो ।
मुस्ताङका चार पालिकाकामा एम्बुलेन्सको व्यवस्था रहेपनि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एक थान एम्बुलेन्स पनि नरहेको त्यहाँका स्वास्थ्य संयोजक खगेन्द्र बोहराले जानकारी दिनुभयो । मुस्ताङका अन्य पालिकाहरुमा चालु र जीर्ण अवस्थाको एम्बुलेन्स रहेको भएपनि वारागुङ मुक्तिक्षेत्रमा काम चलाउ हालतको समत एम्बुलेन्स नभएको उहाँको दुःखेसो छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली