तिजी पर्वमा लोमान्थाङका होटलहरु हाउसफुल

जोमसोम—तिब्बतीयन कलासंस्कृति र अभूतपूर्व मौलिकता भरिएको उपल्लो मुस्ताङ विश्व समुदायमा निकै चर्चित पर्यटकीय गन्तब्य हो । यही चर्चित गन्तब्यलाई विश्व समुदाय माँझ चिनाउन यहाँको तिब्बतीयन कलासंस्कृति र मौलिकतासंग मिल्दो  उपल्लो मुस्ताङको धार्मिक तथा सांस्कृति चिनारी मुख्य हुन् ।

उपल्लो मुस्ताङ अर्थात लोछोदिन समूदायहरुको ऐतिहाँसिक ,धार्मिक तथा सांस्कृति पर्व तिजी आईतबारदेखि पर्खालले घेरिएको उपल्लो मुस्ताङको लोमान्थाङ दरबार परिसरमा विधिवत औपचारिक रुपमा शुभारम्भ भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । तिब्बती कलासंस्कृति र मौलिकतासंग दुरुस्तै मेल खाने उपल्लो मुस्ताङको धार्मिक तथा सांस्कृति पर्व ३ दिनसम्म चल्ने अध्यक्ष गुरुङको भनाई छ ।

तिजी पर्व उपल्लो मुस्ताङमा पन्धौं शताब्दीदेखि सुरुवात भएको बताईन्छ । यो पर्व उपल्लो मुस्ताङको दुईपालिकामा बसोबास गर्ने नागरिकहरुको सामुहिक धार्मिक पुजा हो । उत्तरी चीनसंग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई लोछोदिन क्षेत्र भन्ने गरिन्छ । पर्वलाई पछिल्लो समय धार्मिक पर्यटनसंग जोड्नका लागि त्यहाँका स्थानीय तह,आमासमुह,युवाक्लव र पर्यटन व्यवसायी लागिपरेका छन् । 

उपल्लो मुस्ताङीको सबै भन्दा ठुलो र महत्वपूर्ण पर्वको रुपमा तिजी पर्वलाई लिने गरिएको छ । तिजी पर्व दोर्जी स्युनु अर्थात बज्रकिलाको जीवन कथामा आधारित छ । तिजी पर्वमा मुस्ताङी राजपरिवारको दिर्घायुको कामना गर्दै गरिन्छ । लामा तथा भिक्षुभिक्षुणीहरुमा सामुहिक मन्त्र उच्चारण गरी विश्वशान्तिको कामना पनि गरिन्छ । यो पर्व मुस्ताङी सांस्कृतिक राजारानी बस्ने ऐतिहाँसिक दरबार र दरबार परिसरमा विभिन्न कार्यक्रम गरी मनाईदै गरेको लोमान्थाङका स्थानीयबासी छेवाङ रिन्जिन गुरुङले जानकारी दिए ।

तिजी पर्वलाई  स्थानीय भाषामा तेन्जी भनिन्छ । लोछोदिन क्षेत्रमा बसोबास गर्ने समुदायहरुले तिजी पर्वको पहिलोदिन संयुक्त रुपमा धार्मिक पुजाआजा गर्दै खाँदा चढाएर आर्शिवाद ग्रहण गरे । तिजी पर्वमा छोदे गुम्बाका लामा र भिक्षुहरुले धार्मिक पुजाआजाका साथै विभिन्न देवीदेवताको मुकुट पहिरीएर धार्मिक नृत्य प्रस्तुत गरेका छन् ।

सदिंयौ वर्ष पुरानो तिजी पर्वमा मुख्यतया मुस्ताङी राजाको वंशज नहराओस्, सधै भरिलो होस्, शान्ति छाओस्, कतै अनिष्ठ नहोस्  र अन्नबाली सप्रियोस् भन्ने मनोकामना राख्दै उपल्लो मुस्ताङका नागरिकले लोमान्थाङमा भेला भएर धार्मिक पुजाआजा गर्ने प्रचलन रहेको पूर्व सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए ।

तिजी पर्वमा मुस्ताङी सांस्कृतिक युवराज धिण्डुप झिग्मे पलवर बिष्ट दम्पतीको उपस्थितीमा लोमान्थाङ दरबार परिसरमा शुभारम्भ गरिएको उनले बताए । तिजी पर्वमा लामाहरुको विभिन्न कलात्मक भेषभुषासहितको नृत्य देखाईने पूर्व सांसद बिष्टको भनाई छ ।


तिजी पर्व शुभारम्भको पहिलोदिन ऐतिहाँसिक मुस्ताङी राजाको लोमान्थाङ दरबारबाट दुई तला अग्लो थान्का बाहिर निकालेर सार्वजनिक गरिएको छ । दरबार निकालिएको थान्का बर्सेनि एक पटक सार्वजनिक गर्ने धार्मिक प्रचलन छ ।

पछिल्लो समय बेनी—जोमसोम—कोरला सडक सहज भएसंगै तिजी पर्व अवलोकन गर्न यसवर्ष पनि सयौं आन्तरिक तथा बाह्य पर्यटक उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका छन् । तिजी पर्वमा विदेशी पर्यटकले निकै चाँख लगाएर हेर्ने गर्छन भने उनीहरुले तिजी पर्वका सम्पूर्ण क्रियाकलापहरुको भिडियो र तस्विर खिच्ने गर्छन् । तिजी पर्व अवलोकन लागि गतवर्ष ४४२ जना विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका थिए । यसवर्ष  तिजी पर्वको सेरोफेरोमा मात्रै ४७२ जना विदेशी पर्यटक उपल्लो मुस्ताङ प्रस्थान गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ । जसमध्ये १५ जना सार्क र ४५७ जना फरेनर विदेशी पर्यटक छन् ।

विदेशी पर्यटकका लागि सबैभन्दा महङ्गो पर्यटकीय गन्तब्यको रुपमा उपल्लो मुस्ताङ चिनिन्छ । स्वदेशी पर्यटक बाहेक यहाँ पुग्न विदेशी पर्यटकलाई नेपाल सरकार अध्यागमन विभागले १० दिनको प्रवेशआज्ञा स्वरुप ५ सय डलर रोयल्टी उठाउने गर्छ । यो क्षेत्र निषेधित तथा नियन्त्रित क्षेत्र अन्तर्गत पर्ने भएकाले भीआईपी पर्यटकबाहेक सामान्य पर्यटक माथि उक्लिन सक्तैनन् । यसवर्षको तिजी पर्व अवलोकन लागि लोमान्थाङ पुगेको पर्यटकको एक साताको तथ्यांक हेर्दा सरकारले  ३ करोड १३ लाख ८८ हजार राजश्व संकलन गरेको छ ।

 यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङमा तिजी पर्व अवलोकनका लागि बाह्य पर्यटकका साथसाथै आन्तरिक पर्यटकको समेत लर्को लागेको छ । पृथक भूगोल,तिब्बतीयन कलासंस्कृति र ऐतिहाँसिक धार्मिक तथा पुरातात्विक सम्पदा भएकै कारण उपल्लो मुस्ताङमा बर्सेनि घुम्नै पर्ने पर्यटकीय गन्तब्यको सूचिमा पर्दैआईरहेको छ ।

 तिजी पर्व शुभारम्भ हुनुअघि लोमान्थाङमा सरसफाई,वृक्षारोपणका साथै आवश्यक तयारी गरिएको थियो । लोमान्थाङमा हुने तिजी पर्वलाई त्यहाँका स्थानीय तह, आमा समुह ,युवाक्लव,सुरक्षा निकाय र गाउँसमाजले आपसमा सहकार्य गर्दै सामाजिक योगदान दिएका छन् ।

यसअघि बर्सेनि मनाईने उपल्लो मुस्ताङको लोमान्थाङमा मनाईने धार्मिक तथा सांस्कृतिक पर्व अवलोकनका लागि लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले पर्यटक तथा सर्वसाधारणलाई उपल्लो मुस्ताङ आउन सार्वजनिक अनुरोध गरेको थियो ।


तस्विर ः उदय तिमिल्सिना


प्रतिक्रिया