जोमसोम— हिमालपारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीधाममा श्रद्धालु धार्मिक तिर्थालु रौनकले गुल्जार बनेको छ । बिहिबार चैत दशै कृष्ण औँसीको तिथिका दिन आज मुस्ताङको पवित्र धार्मिक स्थल कागबेनी क्षेत्रमा श्रद्धालु भक्तजनको घुईचो बढेको हो ।
मुस्ताङको पवित्र धार्मिक संगम स्थल कागबेनीमा जिवनको एकपल्ट दिवंगत पितृको नाममा पुजाअर्चना, श्राद्ध,पिण्डदान र तर्पणसहित त्यस स्थानको त्रिवेणी नदीमा स्नान गर्नाले धार्मिक मोक्ष प्राप्ती हुन जनविश्वास रहीआएको छ । यसैका कारण बर्सेनि बडा दसै औँसी र चैते दसै औसी तिथिमा मुस्ताङको कागबेनीधाममा श्राद्ध गर्ने धार्मिक तिर्थालुको घुईचो लाग्ने गर्छ ।
यसवर्षको चैत दसै अघिको कृष्ण औसी तिथि पारेर मुस्ताङमा हजारौं श्रद्धालु भक्तजनहरुले आफ्ना दिवंगत पितृ सम्झदै पुजाअर्चना गरी श्राद्धका गर्न कालिगण्डकी दोभानमा स्नान गरेर पितृको नाममा पिण्डदान र तर्पण दिएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले चैत दसै औसीलाई लक्षित गरी पछिल्लो चौबिस घण्टाको फेरोमा बाह्र हजार ४१२ जना धार्मिक तिर्थालु मुस्ताङ भित्रिएको जनाएको छ । मुस्ताङका प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर बोगटीका अनुसार पछिल्लो चौबिस घण्टामा तिर्थालु सवार एक हजार ५८० वटा सवारी साधन म्याग्दी हुँदै मुस्ताङ भित्रिएको बताउँनुभयो । आज बिहानैदेखि सुरु भएको कागबेनी क्षेत्रमा तिर्थालुहरुको श्राद्ध गर्ने कार्यक्रम सहज र शान्पिूर्ण रुपमा सम्पन्न भएको प्रहरी प्रमुख डिएसपी बोगटीले उल्लेख गर्नुभयो ।
यसअघि मुस्ताङको कागबेनीमा श्राद्ध गर्न आउने तिर्थालु सवार सवारी साधनको चाँपले मुस्ताङको जोमसोम,मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा ट्राफिक व्यवस्थापन निकैनै समस्या परेको थियो । मुस्ताङ प्रहरीको निर्देशनमा मुस्ताङको जोमसोम, कागबेनी र मुक्तिनाथ क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी र जिल्ला ट्राफिक कार्यालय मुस्ताङको टोलीले ट्राफिक व्यवस्थापन सहज गराएको थियो । मुस्ताङका डिएसपी बोगटीले मुस्ताङ आउने दर्शनार्थीहरुले सकुशल दिवंगत पितृको नाममा श्राद्ध गरी मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किदै गरेको जानकारी दिनुभयो । ‘ मुस्ताङ जिल्ला शुक्रबार दिउँसैदेखि तिर्थालुले खचाखच भरिएको थियो, श्राद्धे गर्न आउने कसैलाई पनि लेंक लाग्ने समस्या भएन,’ डिएसपी बोगटीले भन्नुभयो,‘ सुरक्षा निकाय अलर्ट थिए, हेल्थ डेस्क पनि थियो ,यद्यपी त्यहाँ अहिलेसम्म कसैलाई पनि स्थास्थ्य समस्या भएन ।’
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका स्थित दामोदकुण्ड धार्मिक स्थलबाट बग्ने कालिगण्डकी नदी र प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथधामको १०८ धाराबाट बग्ने गण्डकी नदीको संगमस्थल कागबेनी धाममा दिवंगत पितृको नाममा एकपटक श्राद्ध,पिण्डदान र तर्पण दिएर पुजाअर्चना गर्दा पितृ सधै खुसी भएर सन्तानको भलो हुन हिन्दु धार्मिक शास्त्रमा उल्लेख छ । यसस्थानको कागबेनी संगम स्थलमा जलका लागि देवीदेवताहरु समेत लालायित हुने धार्मिक किवदन्ती छ । कागबेनी स्थित कालिगण्डकी नदीको तटीय क्षेत्रमा कालो शालिग्राम र मुक्तिक्षेत्रबाट बग्ने गण्डकी नदीमा रातो शालिग्राम पाईने गर्छ । यसैले यसस्थानमा भगवान बिष्णुको अवतार शालिग्राम विराजमान रहन गएको धार्मिक जनविश्वास रहीआएको छ ।
यसका अलावा कागबेनीधाममा कुर्म अर्थात कछुवा अवतारको शालिग्राम मन्दिरको समेत दर्शन गर्न पाईन्छ । यसस्थान हिन्दु तथा बौद्ध धर्मालम्बीहरु धार्मिक साझा स्थलको रुपमा पनि लिने गरिएको छ । यहाँ कागछोदे गुम्बा , बाह्रौ शताब्दीमा निर्माण गरिएको कागबेनी दरबारका साथै कागबेनी गाउँको पुरानो ऐतिहाँसिक वस्ती अवलोकन गर्न सकिन्छ ।
चैत दसै औँसी तिथिमा मुस्ताङको कागबेनीधाम आएर दिंवगत पितृको नाममा श्राद्ध र पुजापाठ गर्न पाउँदा गौरान्वित महशुस भएको चितवनका तिर्थालु सोम जिसीले उल्लेख गर्नुभयो । उहाँले प्रकृतिको सुन्दर स्थान मुस्ताङमा जिवनको एक पटक आएर पितृ सम्झैदै श्राद्ध,पिण्डदान र तर्पण दिएर कालिगण्डकी नदीमा स्नान गर्दा पितृ खुसी भई पूण्य प्राप्ति हुने बताउँनुभयो ।
यसैगरी हेटौडाका तिर्थालु ईश्वरी प्रसाद पोख्रेलले कागबेनीमा पितृ पुजाअर्चना गरेर मुक्तिनाथका दर्शन गर्ने उद्देश्यले पहिलोपटक मुस्ताङ आईपुगेको बताउँनुभयो । उहाँले यहाँको स्थिती र मुस्ताङ घुम्ने धोको पुरा गर्न परिवारसहित मुस्ताङ आईपुगेको उल्लेख गर्नुभयो ।
मुस्ताङ स्थित कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङले मुस्ताङको आर्थिक विकासमा कागबेनी धामको योगदान महत्वपूर्ण रहेको बताउँनुभयो । उनले कागबेनीमा एकरात बाँस बसेर दिवंगत पितृ सम्झदै श्राद्ध गरेमा धार्मिक मोक्ष प्राप्ति हुने जनविश्वास रहेको उल्लेख गरिने । उहाँले डेढ वर्ष अघि कागखोला बाढीले कागबेनी मन्दिर ,श्राद्ध स्थल र यहाँको साविक भौतिक संरचना तहननहस गरेकाले यहाँ आएर श्राद्ध गर्ने धार्मिक तिर्थालु व्यवस्थापनमा चुनौती बनेको बताउँनुभयो । धार्मिक महत्वको यस स्थानलाई तीनै तहको सरकारले चाँसो नदिदा कागबेनी श्राद्धस्थलको पूर्वाधार निर्माण गर्न नसक्ने अवस्था रहेको जनाउनुभयो । दिर्घकालिन भौतिक सरचना आवश्यक छ, आरसीसी तटबन्ध निर्माणका लागि ठुलो बजेटको आवश्यकता छ, हामीले भक्तजनबाट संकलित दान र स्थानीय स्तरको सहयोगमा अस्थायी पूर्वाधार निर्माण गरी काम चलाउ गरे तिर्थालुलाई सहज रुपमा व्यवस्थापन गरिरहेका छौं ।
यस्तै, मुस्ताङको कागबेनीधाममा श्राद्ध गरेका तिर्थालुहरु त्यहाँ श्राद्ध गरी मुक्तिनाथ उकालो उक्लिएर मुक्तिनाथ दर्शन गरेका छ । मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले शनिबार बिहानैदेखि श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थित रहेको जानकारी दिनुभयो । उहाँले शनिबार दिउँसो सम्ममा करिव बाह्र हजार बढीले मुक्तिनाथ मन्दिरको दर्शन गरेको बताउँनुभयो । मुक्तिनाथमा दर्शनार्थीहरुको व्यवस्थापनका लागि मुक्तिनाथ विकास समिति , सुरक्षा निकाय र त्यहाँ कार्यरत कर्मचारीले भक्तजनलाई लाईनबद्ध गरी दर्शनकार्यमा सहजीकरण गरेका थिए । चैते दसै कृष्ण औसी तिथिमा कागबेनीमा श्राद्ध गरी मुक्तिनाथ दर्शन गर्न आउने तिर्थालुहरुको उपस्थितीले मुस्ताङका होटलहरु भरिभराउ भएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता