हिमाली जिल्ला मुस्ताङमा यही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा दुई सय २० जना विद्यार्थी सहभागी हुने भएका छन् ।
मुस्ताङमा ८ सामुदायिक तथा संस्थागत र गुम्बा विद्यालयबाट गरी नियमिततर्फ एक सय ९३ जना र गेडवृद्धितर्फ २७ जना परीक्षार्थीहरुले (एसइई परीक्षामा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङले जनाएको छ ।
एसइई परीक्षा अन्तर्गत नियमिततर्फको कुल सख्या मध्ये सिभिल ईन्जिनीयरधारतर्फ ११ जना र वालीविज्ञानतर्फ २६ जना परीक्षार्थीले एसइई दिनेछन् । यसैगरी गेडवृद्धितर्फ २७ जना परीक्षार्थी मध्ये १२ जनाले वालीविज्ञानतर्फ परीक्षा दिनेछन् ।
शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय मुस्ताङका सूचना अधिकारी चन्द्रसिंह बिकका अनुसार गतवर्षको तुलनामा यसवर्ष पन्ध्र प्रतिशतले एसइई परीक्षा दिने संख्या बढेको हो । गतवर्ष मुस्ताङमा एक सय ८५ जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएकोमा यसवर्ष दुई सय २० जना परीक्षार्थीहरु एसइई मा सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङका सूचना अधिकारी बिकले उल्लेख गर्नुभयो ।
मुस्ताङमा ८ सामुदायिक विद्यालय, एक संस्थागत र दुई गुम्बा विद्यालय गरी एघार वटा विद्यालयका परीक्षार्थीहरुले एसइई परीक्षा दिने कार्यतालिका रहेको छ ।
एसइई परीक्षाका लागि मुस्ताङको थासाङ गाउँपालिकाबाट एक सय जना , घरपझोङ गाउँपालिकाबाट ८४ जना ,वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट २० जना र लोमान्थाङ गाउँपालिकाबाट १६ जना विद्यार्थीले एसइई परीक्षा दिने तयारी भईरहेको शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङले जानकारी दिएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका अन्तर्गत जनआर्दश अमरसिंह माध्यमिक विद्यालय कोवाङबाट ३८ जना, ज्ञानोदय माध्यमिक विद्यालय लेतेबाट २६ जना, योगेन्द्र माध्यमिक विद्यालय टुकुचेबाट २२ जना र नालान्दा बुद्धिस स्कुलबाट १४ जना विद्यार्थीले एसइई दिनेछन् । घरपझोङ गाउँपालिका अन्तर्गत जनहित माध्यमिक विद्यालय जोमसोमबाट ३२ जना, जनवाल माध्यमिक विद्यालय मार्फाबाट १६ जना र धौलागिरी बोडिङ स्कुलबाट २६ जनाले एसइई परीक्षामा सामेल हुनेछन् ।
यस्तै, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत जनशान्ति माध्यमिक विद्यालय कागबेनीबाट ११ जना र जननर्मल प्रस्ताविक माध्यमिक विद्यालय छुसाङबाट ९ जना विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् । उपल्लो मुस्ताङको एक मात्रै सामुदायिक दिव्यदीप माध्यमिक विद्यालय छोसेरबाट १० जना र पाल एण्ड नाम्ग्याल गुम्बा विद्यालयबाट ६ जना विद्यार्थीले एसइई परीक्षा दिनेछन् ।
शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय मुस्ताङले यही चैत ७ गतेदेखि संञ्चालन हुुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को सबै तयारी अन्तिम चरममा पुगेको बताएको छ । ईकाई प्रमुख रामेश्वर लामिछानेका अनुसार एसइई परीक्षाका लागि सधै झै जोमसोम स्थित जनहित माध्यमिक विद्यालय केन्द्रलाई नियमित गरिएको बताउनुभयो । मुस्ताङमा जनहित विद्यालय केन्द्रमा २०२७ सालदेखि निरन्तर एसइई परीक्षा केन्द्र रहँदै आएको समन्वय ईकाई प्रमुख लामिछानेले बताउँनुभयो ।
मुस्ताङमा राष्ट्रिय परीक्षा बोर्डले तोकेको मापदण्ड अनुसार एक जना केन्द्राध्यक्ष,एक जना सहायक केन्द्राध्यक्ष, निरीक्षक १० ,सहायक निरीक्षक २ र कार्यालय सहयोगी २ जना गरी १८ जना जनशक्ति एसइई परीक्षामा परिचालन हुने शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङले जानकारी दिएको छ ।