जोमसोम ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार २८ प्याकेट मतपत्र मुस्ताङ आईपुगेको छ । निर्वाचन आयोगले नेपाली सेनाको हेलिकोप्टरमा राखेर मुस्ताङलाई आवश्यक पर्ने मतपत्र यहाँ पठाएको हो ।
निर्वाचन आयोगले एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङमा प्रत्यक्षतर्फ १३००० र समानुपातिकतर्फ १५००० मतपत्र मुस्ताङ पठाएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्यक्षतर्फको मतपत्र १३ प्याकेट र समानुपातिकतर्फको मतपत्र १५ प्याकेट निर्वाचन आयोगले हेलिकोप्टर मार्फत मुस्ताङ पठाएको जिल्ला निर्वाचन अधिकारी ज्ञवालीको भनाई छ ।
निर्वाचन आयोगका दुई जना प्रतिनिधिसहित नेपाली सेनाको हेलिले मतपत्र लिएर यहाँ स्थित घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित नेपाली सेनाको ईन्द्रबक्स गणमा पु¥याएको थियो । नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा रोहबरमा जिल्ला मुख्य निर्वाचन अधिकारी विद्याराज पौडेल र जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवाली लगायतले निर्वाचन आयोगले पठाएको मतपत्र बुझ्नु भएको ।
निर्वाचन आयोगका सहसचिवद्धय राजेन्द्र केशी र यज्ञ भट्टराईले आवश्यक प्रक्रिया पुरा गरी मुख्य निर्वाचन अधिकारी र जिल्ला निर्वाचन कार्यालयलाई मतपत्र हस्तान्तरण गर्नुभएको थियो ।
यसैगरी निर्वाचन आयोगबाट प्राप्त मतपत्रलाई जिल्ला निर्वाचन कार्यालयको सवारी साधनमा राखेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा निगरानी (स्कटिङ) गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पु¥याईएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले उल्लेख गर्नुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दिपेन्द्र पौडेलका अनुसार मुख्य निर्वाचन कार्यालयले आयोगबाट प्राप्त मतपत्र सुरक्षित स्थानमा लगेर राखिसकेको जानकारी दिनुभयो ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा एघार हजार ३२८ जना मतदाता कायम भएका छन् । यहाँका पाँच स्थानीय तहमा ३९ वटा मतदान केन्द्र र जिल्ला कारागार जोमसोमलाई अस्थायी मतदान केन्द्र तोकिएको छ ।
मुस्ताङमा ५०० भन्दा बढी मतदाता रहेको मतदान केन्द्र ८ वटा र ५०० भन्दा तल रहेको मतदान केन्द्र ३१ वटा रहेको छ । यसैगरी यहाँ ३०० भन्दा बढी रहेको मतदान केन्द्र १८ वटा र ३०० भन्दा कम मतदाता रहेको मतदान केन्द्र २१ वटा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँका ३९ वटै मतदान केन्द्र र अस्थायी मतदान केन्द्रमा खटिने कर्मचारीको संख्या २१६ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनका लागि थप २ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत जगेडामा राखिएको छ । निर्वाचनका लागि खटिने कर्मचारी जनशक्ति समेतको मतदान केन्द्र कार्यविभाजन भईसकेको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले जानकारी दिनुभयो । मुस्ताङमा निर्वाचनका लागि २१६ जना कर्मचारी छनौट हुँदा ६ जना महिला मतदान अधिकृत तथा सहायक मतदान अधिकृत निर्वाचनमा खटाईदैछ ।
मुस्ताङमा निर्वाचनका लागि ८ राजनीतिक दलले निर्वाचन प्रतिस्पर्धा गर्दैछन् । नेकपा (एमाले),नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल,मंगोल नेशनल अर्गानाईजेसन र आम जनताका उम्मेदवारी निर्वाचन प्रतिस्पर्धामा होमिएका हुन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली