मुस्ताङमा थपिए २६६ मतदाता

सरकारले घोषणा गरेको आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा दुई सय ६६ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय मुस्ताङका अनुसार नगारिकताका आधार मतदाता नामावली दर्ता गर्नेको संख्या एक सय ४३ जना र राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावली दर्ता गर्नेको संख्या एक सय २३ जना रहेको जनाईएको छ ।

गत १० मंसिरदेखि सुरु भएको मतदाता नामावाली दर्ता म्याद कार्तिक मसान्तसम्म तोकिएपनि मतदान प्रक्रियामा कुनै पनि नागरिक बञ्चित हुन नपरोस भन्ने उद्देश्यले निर्वाचन आयोगले ५ कार्तिक साँझ ५ बजेसम्म म्याद थप गरेको थियो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नायव सुब्बा लक्ष्मी अधिकारीका अनुसार यहाँ मतदाता नामावलीमा नाम दर्ता गराउन आएका मध्ये अधिकाँश युवापुस्ताका मतदाता रहेको जानकारी दिनुभयो ।

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या आयोगले शुक्रबार(आज) साँझसम्म म्याद तोकेको थियो । सरकारले अनलाईनबाट आफ्नो मतदाता बनाउन सकिने व्यवस्था गरिएको भएपनि अधिकाँश मतदाता कार्यालयमा उपस्थित भई मतदाता नामावली दर्ता गराएका सूचना अधिकारी नायव सुब्बा अधिकारीले जनाउँनुभयो ।

मतदाता नामावली दर्ता सुरु भएदेखि थपिएको ५ दिनको म्याद सकिंदा दुई सय ६६ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय मुस्ताङले उल्लेख गरेको छ । जसमध्ये नागरिकताको प्रमाणपत्रको आधारमा अनलाईन मतदाता नामावली दर्ता,फोटो र बायोमेट्रिक विवरण पेश गरी नाम दर्ता गर्ने ७८ जना पुरुष र ६४ जना महिला मतदाता रहेका छन् ।

 यसैगरी राष्ट्रिय परिचयपत्रबाट अनलाईन मतदाता नामावली दर्ता गर्नेको संख्या एक सय २३ जना रहेका छन् । राष्ट्रिय परिचयपत्रबाट पुरुष र महिलाको संख्या निकाल्न कार्यालयबाट नसकिने जनाईएको छ ।

 यसैगरी जिल्ला बाहिरका ४१ जना मतदाताले कार्यालयबाट मतदाता नामावली दर्ता गराएका सूचना अधिकारी लक्ष्मी अधिकारीले उल्लेख गर्नुभयो । उहाँका अनुसार जिल्लाबाहिर २८ जना पुरुष र १३ जना महिलाले कार्यालयमा उपस्थित भएर मतदाता नामावली दर्ता गराएको उहाँको भनाई छ ।

यसअघि २०७९ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा यहाँको कुल मतदाता दस हजार ४८५ जना रहेका थिए । योसंगै निर्वाचन आयोगमा मतदाता नामावली अद्यावधिकपछि मुस्ताङको कुल मतदाता दस हजार ७५१ जना पुग्नेछ ।

वि.स. २०७९ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा  घरपझोङमा दुई हजार ३१४ जना, थासाङमा दुई हजार ८१७ जना,लोघेकर दामोदरकुण्डमा एक हजार ५३३ जना, वारागुङ मुक्तिक्षेत्रमा दुई हजार २८५ जना र लोमान्थाङ गाउँपालिकामा दुई हजार ८ जना मतदाता रहेका थिए ।


प्रतिक्रिया