प्राकृतिक उपचार खोज्दै मार्फा लेंकमा सर्वसाधारणको भीड

जोमसोम— मुस्ताङको घरपझोङ—२ मार्फा लेंकमा शुक्रबारदेखि चौरीको आलो रगत खाने मेला संञ्चालन भएको छ । मार्फाका स्थानीय चौरी पालक किसानहरुको आयोजनामा मार्फा स्थित याकखर्क आलुबारीमा चौरीको आलो रगत खाने मेला लागेको हो । त्यहाँ करिव ८ घरधुरीका चौरी पालकले रगत खाने मेला संञ्चालन गरेका हुन् ।

 हिमाली क्षेत्रको उच्चउचाईमा पालन गरिएको याकचौरीको आलो रगत स्वास्थ्यका लागि फाईदाजनक हुने भएकाले मुस्ताङका लेंकमा बर्सेनि बैशाख र साउन महिनामा चौरीको रगत खाने मेला संञ्चालन हुँदैआईरहेको छ ।   मुस्ताङमा बैशाख महिनाका थासाङको बोक्सी खोलामा चौरीको आलो रगत खाने मेला लाग्छ । साउन महिनमा थासाङको मार्चे लेंक, घरपझोङको नमुखलेंक र मार्फाको उच्चलेंक याकखर्क आलुबारीमा चौरीको रगत खाने मेला लाग्छ ।

 मुस्ताङको थासाङ स्थित मार्चे लेंक र घरपझोङको नमखुलेंकमा चौरीको आलो रगत खाने मेला संञ्चालन सम्पन्न भईसकेको छ । मार्फामा भने साउन १० गतेदेखि चौरीको आलो रगत खाने मेला संञ्चालन भएको मार्फाका स्थानीय सन्तोष लालचनले जानकारी दिए ।

 समून्द्री सतहको करिव ४ हजार ५ सय मिटर अग्लो उचाईको मार्फाको पुरानो वस्ती धवाङ भन्दा माथि याकखर्क आलुबारीमा चौरीको रगत खाने मेला आयोजना भएको स्थानीय लालचनको भनाई छ । प्राकृतिक हिमाली जटीबुटीको रुपमा स्वास्थ्य उपचारका लागि निकै फाईदाजनक हुने जनविश्वाशसहित बर्सेनि जिल्ला भित्र र जिल्ला बाहिरका उल्लेख्य सर्वसाधारण चौरीको आलो रगत खान मुस्ताङ आउने गर्छन । मार्फा लेंकमा शुक्रबारदेखि सुरु भएको चौरीको रगत खाने मेलामा झन्डै १५० जना भन्दा सर्वसाधारण त्यहा पुगेको स्थानीय लालचनले उल्लेख गरे ।

मार्फा आलुबारी याकखर्कमा चौरीको रगत खान जाने सर्वसाधारणले आवश्यक बन्दोबस्तीका सामान लिएर त्यहा पुगेको उनले बताए ।

 मार्फा गाउँबाट पश्चिमतर्फको ठाँडो उकालो करिव १५ किमीको दुरी तय गरेपछि चौरीको रगत खाने स्थानमा पुग्न सकिने मार्फाकी स्थानीय कमला लालचनले जानकारी दिईन् । उनका अनुसार माफा स्थित बेनी—जोमसोम सडकमार्गबाट जीप र मोटरसाईकलको यात्रा गर्दै सजिलै चौरीको रगत खाने स्थानमा पुग्न सकिन्छ ।

हिमाली क्षेत्रमा पालन गरिएका याकचौरी बर्खायाममा उच्चलेंकमा र हिउँदयाममा न्यानोका लागि वस्ती नजिक स्थान्तरण गर्ने गरिन्छ । उच्चलेंकमा पालन गरिएका याकचौरीले  वन्य जटिबुटी यार्सा गुम्बा ,पाँच औले,निरमसी,जटामसी,कुटुकी र वनलसुन लगायतका वनस्पती  खाने भएकाले चौरीको आलो रगत स्वास्थ्यका लागि फाईदाजनक मानिएको हो । चौरीको आलो रगत पिउँनाले पेट सम्वन्धि सम्पूर्ण रोगहरु निधान हुने जनविश्वाश छ । हिमाली क्षेत्रका चौरी पालक किसानले  चौरीको दुधबाट विभिन्न परिकारहरु बनाएर बिक्री वितरण गर्छन् । विशेषत मासुका लागि पालन गरिने याकचौरीहरुलाई खेतपातीको कामकाजमा मल उसार्ने र अन्नबाली बोकाउने काममा प्रयोगमा ल्याउने गरिन्छ । चौरीको पुच्छर सनातन हिन्दु धर्मालम्बीहरुले पुजा कोठामा राख्नका लागि महङ्गो मुल्यमा खरिद गरी लैजाने गर्छन्  । चौरी पालक किसानले बर्सेनि चौरीको आलो रगत बिक्री गरेर दोहोर आम्दानी लिने गर्छन् । चौरीको आलो रगत प्रति गिलास ३ सय रुपैयामा बिक्री हुने गरेको छ ।

मुस्ताङमा याकचौरी पालन व्यवसाय सदिंयौ वर्षदेखि चल्दै आईरहेको छ । जिविकोपार्जनको मुख्य आम्दानीको स्रोत मानिएको याकचौरी पालन यहाँको पशुपालन व्यवसाय मात्रै नभई संस्कृति संरक्षणसंग पनि जोडिएको छ । याकचौरीको बथान र याकचौरी पालन सभ्यता÷संस्कृतिले मुस्ताङको पर्यटन क्षेत्रलाई समेत अतुलनीय योगदान दिएको छ ।

फाईल फोटो


प्रतिक्रिया